शुक्रबार, १६ चैत २०८०

हेल्थ डेस्क हुँदा स्वास्थ्य परीक्षणमा सहज

झलनाथ खनाल

५ कार्तिक २०७६, मंगलवार १०:२९ मा प्रकाशित

भजनी, ५ कात्तिक    कैलालीको टीकापुर नगरपालिकाले खक्रौला भन्सार कार्यालयमा हेल्थ डेस्क सञ्चालन गर्दा स्वास्थ्य परीक्षणमा सहज हुन थालेको छ । कामको सिलसिलामा भारत गई त्यहाँबाट फर्कने नेपाली तथा अन्य विदेशी नागरिकलाई स्वास्थ्य परीक्षण गराएर मात्र नेपाल प्रवेश गराउन थालेपछि सरुवा रोगको सङ्क्रमणमा समेत कमी आउने विश्वासका साथ हेल्थ डेस्क सञ्चालनमा ल्याएको बताइएको छ । सुदूरपश्चिम प्रदेश सरकारको समन्वयमा नगरपालिकामार्फत सञ्चालनमा ल्याइएको हेल्थ डेस्कमा दैनिक १५० भन्दा बढीको स्वास्थ्य परीक्षण तथा परामर्श हुने गरेको छ । हेल्थ डेस्कमा भारतबाट आउने नेपालीलाई मात्र नभई भारतीय नागरिकसमेत स्वास्थ्य परीक्षणका लागि आउने गरेका हेल्थ डेक्स इन्चार्ज एकेन्द्र विकले बताउनुभयो । उहाँले डेस्क सञ्चालनमा आएको छ महीनाको अवधिमा करीब छ हजारभन्दा बढीको स्वास्थ्य परीक्षण तथा परामर्श दिइएको जानकारी दिनुभयो । हालसम्म सात मलेरियाका बिरामी, २५ मा डेङ्गु रोगको लक्षण देखिएका बिरामी र २५ ले डेङ्गु रोगको औषधि सेवन गरिरहेकाको पुनः परीक्षण गरिनुका साथै परामर्श दिइएको उहाँले बताउनुभयो । स्वास्थ्य परीक्षण हुन थालेपछि भारतबाट नेपाल फर्कने नेपाली तथा अन्य विदेशी नागरिकबाट फैलन सक्ने सरुवा रोग न्यूनीकरणमा समेत सहयोग पुग्ने बताइएको छ । एचआईभी एड्स, मलेरिया, डेङ्गुलगायतका सरुवा रोगको परीक्षण गरिनुका साथै परामर्शको काम हेल्थ डेस्कबाट भइरहेको छ । भारतबाट आउने नेपाली तथा विदेशी नागरिकका साथै स्थानीयवासीले समेत हेल्थ डेस्कबाट सेवा लिँदै आइरहेका छन् । करीब तीन महीनासम्म टेबल र कुर्सीमा बसेर सेवा दिए पनि हाल काठको अस्थायी टहराबाट सेवा दिँदै आइरहेको बताउँदै इन्चार्ज विकले बिहान ६ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म सेवा दिँदै आएको जानकारी दिनुभयो । उहाँले संरचना अभावकै कारण बिरामीले आफ्नो गोपनियतालाई बाहिर खुलाउन नचाहने समस्या देखिएको बताउनुभयो । “एउटै कोठाबाट सेवा दिनुपरेको छ, सबै काम एउटै कोठाबाट हुँदा बिरामीले आफ्नो समस्या लुकाउने गरेका छन्”, उहाँले भन्नुभयो, “एचआइभी एड्स लागेका बिरामी कुरा लुकाउन चाहन्छन्, बिरामीको जाँचमा आए पनि उसले आफ्नो गोपनीयता भङ्ग हुने डरले कुरा खोल्दैन, त्यसकारण पनि थप संरचना आवश्यक छ ।” हालसम्म भारतीय सीमा सुरक्षा बल (एसएसबी) का १२ ले एचआइभी एड्स र मलेरियाको जाँच गरेको इन्चार्ज विकले बताउनुभयो । रोगको लक्षण देखिँदा बिरामीलाई निःशुल्करूपमा औषधिसमेत वितरण हेल्थ डेस्कले गर्दै आएको छ । भन्सारमा हेल्थ डेस्क सञ्चालन भएपछि टीकापुरका वडा नं ८ र ९ का सीमाक्षेत्रमा बसोबास गर्ने व्यक्तिसमेत उपचारका लागि हेल्थ डेस्कमा नै जाने गरेका छन् । बिहानीपख र साँझपख स्वास्थ्य परीक्षणका लागि सबैभन्दा बढी बिरामी हेल्थ डेस्क पुग्ने गरेको बताइएको छ । हेल्थ डेस्कमा एक हेल्थ असिस्टेन्ट, एकजना अहेव, एक अनमी र एक कार्यालय सहयोगी गरी चार कर्मचारी कार्यरत छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter