मङ्गलबार, ०४ बैशाख २०८१

राष्ट्रपति भण्डारीको म्यान्मा राजकीय भ्रमण सम्पन्न

श्याम रिमाल

३ कार्तिक २०७६, आईतवार १०:५५ मा प्रकाशित

म्यान्मा, ३ कात्तिक  राष्ट्रपति विद्यादेवी भण्डारीले म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मामा गर्नुभएको पाँचदिने राजकीय भ्रमण पूरा गर्नुभएको छ । उहाँ गत असोज २९ गते यहाँ आइपुग्नुभएको हो । उहाँले आजदेखि यही कात्तिक ५ गतेसम्म जापान भ्रमण गर्दै हुनुहुन्छ । राष्ट्रपतिका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायत हुनुहुन्छ । भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र म्यान्माका राष्ट्रपति मिन्तबीच राजधानी नेपित शहरमा भेटवार्ता भयो । राष्ट्रपतिसँग म्यान्माका स्टेट काउन्सिलर आङ सान सु ची र कमान्डर इन चिफले पनि भेट गर्नुभयो । राष्ट्रपति भण्डारी र स्टेट काउन्सिलर चीको उपस्थितिमा म्यान्मा र नेपालबीच पर्यटन र सांस्कृतिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भयो । राष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डलले नेपितमा जेम्स म्युजियम(रत्न पत्थर आदि सङ्ग्रहालय)को अवलोकन ग¥यो । त्यस्तै पिन ऊ लिनमा दुर्गा मन्दिर, नेशनल कान्दायजी पार्क, प्राचीन मन्दिर चैत्य आदिको शहर बगानको भ्रमण, पुरानो राजधानी यङ्गोनमा आङ सान सङ्ग्रहालय, महाविजय चैत्य र श्वेदागोन चैत्य अवलोकन पनि भयो । यङ्गोनस्थित सितागु अन्तरराष्ट्रिय बौद्ध प्रतिष्ठानले नेपाललाई गौतम बुद्धका विभिन्न मुद्राका ३० मूर्ति पनि प्रदान ग¥यो जुन लुम्बिनी विकास कोषको लुम्बिनी सङ्ग्रहालयमा राखिने छ । श्वेदागोन चैत्य क्षेत्रमा राष्ट्रपतिले लुम्बिनी चित्रकला प्रदर्शनीको पनि उद्घाटन गर्नुभयो । राष्ट्रपतिसँग नेपाली मूलका बर्मेलीहरुसँग भेटघाट हुनाका साथै म्यान्मा नेपाल मैत्री सङ्घ र म्यान्मा नेपाल चेम्बर अफ कमर्शको आयोजनामा विचार गोष्ठी पनि सम्पन्न भएको छ । नेपालका लागि म्यान्माका राजदूतले राष्ट्रपतिको सम्मानमा रात्रिभोजको पनि आयोजना गर्नुभयो । राष्ट्रपतिसहितको प्रतिनिधिमण्डल जापानी सम्राट्को यही कात्तिक ५ गते हुने राज्याभिषेक समारोहमा सहभागी भई कात्तिक ६ गते स्वदेश फर्कनेछ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter