बुधबार, ०४ मङि्सर २०७६

आलेख ः ओखरबोट तामाखानी सञ्चालनको अनुमति दिइएन

धु्रवसागर शर्मा

२८ आश्विन २०७६, मंगलवार १६:०२ मा प्रकाशित

गलेश्वर, २८ असोज    गलेश्वर, २८ असोज ९रासस० ः पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको भिरखानीमा रहेको विशाल तामाखानी अलपत्र अवस्थामा छ । विसं २०३० मा राजा वीरेन्द्रबाट अवलोकन भई सञ्चालनमा ल्याउन हुकुम भएको यो तामाखानी अझैसम्म पनि सञ्चालनमा आउन सकेको छैन । यो तामाखानी सञ्चालनमा आएको भए राज्यले वार्षिक करोडौंको राजस्व उठाउँथ्यो भने स्थानीयवासीले रोजगारी पाउँथे । विसं २००९ देखि २०२८ सम्म नियमित सञ्चालनमा रहेको यो खानी खन्ने क्रममा सुरुङमा पानी भरिएपछि प्रविधिको अभावमा बन्द हुन पुगेको थियो । विसं २०१७ देखि २०२८ सम्म नियमित खानी खनेर तामा निकालेका ओखरबोटका ७९ वर्षीय दलबहादुर पटेलले २०२८ सालसम्म यस तामाखानीमा दैनिक २०० भन्दा बढी कामदारले काम गर्ने गरेको बताए । उनका अनुसार हरेक दिन सात÷आठ धार्नीसम्म तामा निकाल्ने काम हुन्थ्यो । विसं २०२६ मा भारतको विडला कम्पनीबाट प्रविधिज्ञहरु झिकाई खानीको अध्ययन गर्न लगाइएको थियो । उनीहरुले त्यहाँ सुन पनि हुनसक्ने लख काटेका तामाखानीका तत्कालीन ठेकेदार हाल मालिका गाउँपालिका–४ ओखरबोटका वडाध्यक्ष दिलीप शेरचनले जानकारी दिए । त्यसको चार वर्षपछि राजा वीरेन्द्र रानी ऐश्वर्यसहित २०३० साल मङ्सिर ७ गते ओखरबोट आई खानीको अवलोकन गर्नुभएको थियो र खानीको व्यवस्थित सञ्चालनको आदेश दिनुभएको थियो । शेरचनका अनुसार विसं २०४२ सम्म स्थानीय बासिन्दाले फाट्टफुट्ट खानी खनेर तामा निकाली बिक्री गर्दैआएका थिए । सरकारले कर वृद्धि गरेपछि कर तिर्न सक्ने अवस्था स्थानीय बासिन्दाको भएन भने खानीबाट तामा निकाल्ने प्रविधि तथा उपकरणको अभाव त छँदै थियो । शेरचनले नै खानी सञ्चालन गर्ने ठेक्का लिएको ओखरबोटका ८३ वर्षीय दिलबहादुर घर्तीमगरले जानकारी दिए । घर्तीमगरका अनुसार तामाखानीमा दुईवटा मुहान रहेका छन् । ती मुहानको लम्बाइ २५० देखि ५०० मिटरसम्मका छन् । स्थानीय तहको निर्वाचन पछि वडाध्यक्ष शेरचनले गाउँपालिकाको सिफारिशसहित पाँच पटकसम्म काठामाडौँस्थित खानी विभाग गई खानी सञ्चालनका लागि अनुमति माग्नुभएको रहेछ तर सरकारले अनुमति दिएन । तामाखानी सञ्चालनको विषयलाई राजनीतिक दलका नेताले स्थानीय तह, प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा आफ्नो चुनावी एजेन्डा बनाए । गाउँमा चुनावी भाषण गर्न गएका नेताहरुले एउटै स्वरमा तामाखानीका बारेमा गरेका प्रतिबद्धता पूरा नहुँदा स्थानीय बासिन्दा भने निराश छन् । ओखरबोट गाउँबाट २० मिनेटको दूरीमा दुई वटा तामाखानी रहेका छन् । करीव दुई किलोमिटरसम्मको सुरूङ खनेर दुइटै खानी २०२८ सालसम्म नियमित सञ्चालन गरिए पनि सरकारी उपेक्षा र आधुनिक प्रविधिको अभावका कारण बन्द भएको स्थानीय शिक्षक नवीन पुनले बताए । खानी उत्खनन्का क्रममा प्रयोग गरिएका सामग्री, पुराना काठका साथै खानीलाई बलियो बनाउन राखिएका पुराना ढुङ्गाहरू समेत खानीभित्र देख्न सकिन्छ । यता मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले स्थानीय स्तरबाट खानी सञ्चालनको प्रयास भए पनि सरकारी निकायबाट असहयोग रहेको बताए । प्रदेश सरकारले खानी सञ्चालनसम्बन्धी कानून तर्जुमा गर्नुपर्ने जवाफ खानी तथा भू–गर्भ विभागले दिएको बुझिएको छ । स्थानीय तहको निर्वाचनताका जोडतोडको साथ उठाइएको खानी सञ्चालनको मुद्दा निर्वाचनबाट चुनिएपछि खासै चासो नदिएको स्थानीय बासिन्दाको आरोप छ । स्थानीय सञ्चारकर्मी जगदीश रसाइलीे खानी सञ्चालनका लागि स्थानीय जनप्रतिनिधिले दबाबमूलक कुनै काम गर्न नसकेको बताउँछन् । व्यक्तिगत रुपमा वडाध्यक्ष शेरचनले खानी सञ्चालनका लागि पहल गरिरहेको बुझिए पनि वडावासी र गाउँपालिकाका अन्य जनप्रतिनिधिसँग उनले समन्वय भने नगरेको आरोप लगाइने गरिएको छ । शेरचनकै भनाइलाई आधार मान्ने हो भने पनि यो तामाखानीबाट वार्षिक करोडौं मूल्यको तामा उत्खनन् गर्न सकिन्छ । अहिलेसम्म पनि खानी खन्न बनाइएको ५०० मिटर लामो सुरुङभित्र तामाका धाउहरु प्रशस्तै देख्न सकिन्छ । मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले भने – “स्थानीय तह खानी सञ्चालन गर्न तयार छ तर, सरकारी अनुमति र प्रविधि नै मुख्य समस्याको रुपमा रहेका छन् ।” यातायातका साधनमार्फत म्याग्दीको सदरमुकाम बेनीबाट करीब चार घण्टाको यात्रा पछि पुगिन्छ ओखरबोट गाउँ । गाउँको सिरानमा भिरखानी जङ्गल छ । जङ्गलको फेदीमा रहेको चिस्यानयुक्त ठाउँको करीब दुई किलोमिटर क्षेत्रमा तामाखानी रहेको छ । सुरुङभित्र टाउको निहु¥याएर, खुट्टा खुम्च्याएर हिँड्नु पर्छ । सुरुङको दायाँ बायाँ तामाको धाउहरु प्रशस्तै भेटिन्छन् । करीब ५० मिटरको अन्तरमा दुई सुरुङहरु रहेका छन् । माथिल्लो सुरुङको तुलनामा तल्लोे सुरुङ अत्यन्तै कठिन र जोखिमयुक्त छ । सुरुङ प्रवेश गरेपछि पानीको ताल, चमेरा र विभिन्न किसिमका जलचर प्राणीको आक्रमण शुरु हुन्छ । जतिजति सुरुङ भित्र अघि बढ्दै गयो बढी भन्दा बढी तामाका धाउहरु भेटिन्छन् । पाँच सय मिटर लम्बाइको सुरुङको १५० मिटर जति भित्र पुगेपछि पानीको तालैताल भेटिन्छ । कम्मरसम्मको भाग पानीमा डुबेपछि त्यसभन्दा अघि बढ्ने आँट भने आउँदो रहेनछ । विदेशी कम्पनीको चासो केही दिनअघि मात्रै एक चिनियाँ कम्पनीबाट आएका छ व्यक्तिले खानीको निरीक्षण गरे र दुई दिनसम्म बसेर दोभाषेमार्फत उनीहरुले खानीको इतिहास र खानी रहेको ठाउँको भूगोलबारे जानकारी लिएर फर्के । गत मार्चमा नर्वेबाट पनि एक टोली खानी अवलोकनका लागि आएको थियो । उनीहरुले प्रक्रिया पु¥याएर स्थानीय सरकारले खानी खन्न अनुमति दिए आफूहरु तयार रहेको प्रतिक्रिया दिएका शिक्षक पुनले बताए । चिनियाँ टोलीले खानीबाट निकालिएको तामा लगेर परीक्षण गरेको र तामा उत्कृष्ट खालको देखिएको चिनियाँ टोलीलाई सहयोग गर्दैआएका व्यवसायी डम्मर सापकोटाले जानकारी दिए । पुनका अनुसार केही समय पछि तामा उत्खनन्का लागि नेपाल आउने पनि चिनियाँ टोलीले बताएको थियो ।

तपाईंको प्रतिकृयाहरू

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter