बिहिबार, १३ बैशाख २०८१

नौ बुँदे घोषणापत्रसहित अन्तर्राष्ट्रिय दलित सम्मेलन सम्पन्न

२८ आश्विन २०७६, मंगलवार १५:०४ मा प्रकाशित

काठमाडौँ, २८ असोज  दलित समुदायको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने र सम्बन्धित देशमा जातीय छुवाछूत कानून बनाउन पहल गर्नेलगायत नौ बुँदे घोषणापत्र जारी गर्दै ‘जातीय विभेद अन्त्यका लागि प्रवासी नेपालीको भूमिका’ विषय दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन आज सम्पन्न भएको छ । नासो कम्युनिटी युएसए र जातीय विभेदविरुद्ध विश्वमञ्च युएसएलगायतका सङ्घसंस्थाद्वारा काठमाडौँमा आयोजित सो सम्मेलनले भूमण्डलीकरण र बसाइँसराइसँगै विश्वव्यापी भएको जातीय विभेदविरुद्ध संसारभरि रहेका नेपाली दलित समुदायले सङ्गठित र संयुक्तरुपमा अभियान गर्नुपर्ने ठहरसमेत गरेको छ । “प्रवासमा रहेका दलित समुदायले सङ्गठित वा असङ्गठितरुपमा नेपालको दलित मुक्ति आन्दोलनलाई सहयोगी भूमिका निर्वाह गरिरहेका छन्, प्रवासमा भएका दलित सङ्गठन र जनशक्तिलाई नेपालको दलित आन्दोलनले रणनीतिक र कार्यनीतिकरुपमा परिचालन गर्नुपर्छ”, घोषणापत्रमा भनिएको छ । सम्मेलनले दलित समस्या अन्तर्राष्ट्रिय समस्या भएको भन्दै त्यसलाई संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय मानव अधिकार संयन्त्रलगायत अन्तर्राष्ट्रियस्तरमा पैरवी गर्ने घोषणा गरेको छ । सम्मेलनले नेपालको विकासमा काम गर्ने अन्तर्राष्ट्रिय निकायलाई दलित समुदायको उत्थान र विकासका लागि ठोस नीति तथा कार्यक्रम तय गरी कार्यान्वयन गर्नका लागि अनुरोध पनि गरेको छ । युवा तथा खेलकूदमन्त्रीले उद्घाटन गर्नुभएको सो सम्मेलनमा दलित अधिकारकर्मी डा विष्णुमाया परियार र डा निर्मला विश्वकर्मा र डा निर्मल विश्वकर्मा लगायतले दलित आन्दोलनको अबको बाटो, दलित समुदायको अधिकार, वर्तमान अवस्थालगायतका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter