मङ्गलबार, २८ असोज २०७६

स्खलित महरा कहिलेसम्म ‘माननीय’ ?

रोशनीलाई हेर्ने नजर र महरामण्डलीको कुतर्क

१८ आश्विन २०७६, शनिबार १३:०८ मा प्रकाशित

बहुसंख्यक नेपालीका घर–घरमा दूर्गामाताको पूजा–आराधना भइरहेको छ । नारीलाई देवी मानेर अनुष्ठान चलिरहेकै बेला एउटी अवला नारी रोशनी शाही घोर अन्यायमा परेकी छिन् । नाम रोशनी भए पनि उनको चमक हराएको छ । हाँस्न सकेकी छैनन् । रुन पनि सकेकी छैनन् । बाँचौं, बाँच्ने आधार भत्किएको छ । मरौं, नेपालको कानूनले मर्न दिँदैन ।

एउटी अवलालाई यसरी घर न घाटको बनाउने लघुपुरुष हुन्– कम्युनिष्टको बर्को ओढेका सांसद कृष्णबहादुर महरा ।

अहिलेसम्म महरालाई नेकपाले न त सांसदबाट हटाएको छ, न पार्टीबाट कारवाही नै गरेको छ । कार्यकर्ता र आम जनतामा प्रश्न छ – अब हामीले कहिलेसम्म महरालाई ‘माननीय’ मानिरहनुपर्ला ?

न्याय नपाएकी बचरी

हाम्रो सामाजको नजर महिलामैत्री छैन, महिलापीडक छ । राज्यसत्ता र प्रहरी महिलामैत्री छैनन्, भीआइपीमैत्री छन् । यसैको कलाहीलाग्दो शिकार बनेकी छिन्– स्वास्थ्य सेवाकी कर्मचारी रोशनी शाही ।

 

हिंसामा परेकी श्रीमतीलाई स्वार्थी लोग्नेहरुले कसरी साथ छाड्छन् भन्ने ‘खराब पति’को उदाहरण बनेका छन् रोशनीका पति । दुःखमा साथ दिने कसम खाएका माओवादी श्रीमान महोदयले पनि महराकै पक्षपोषण गर्दै रोशनीलाई छाडेको घोषणा गरेका छन् ।

रोशनीका श्रीमानले उनलाई बानेश्वर प्रहरीमा लगेर महराको पक्षपोषण हुने गरी निवदेन दिन लगाएर आफ्नो प्रयोजन पूरा गरे । अनि, छोडपत्र गर्ने कागजको खोस्टोमा सही गराएर फेसबुकमा त्यो खोस्टो फालिदिए ।

अनलाइनखबरसँगको फोन सम्वादमा  आइतबार रोशनीले भनेकी थिइन्, ‘यहाँ निर्मला पन्तको केस ढाकछोप गरियो, अब यो केस पनि ढाकछोप गर्न सक्छन् ।

एउटी नारीले आफ्ना पतिको मृगौला ड्यामेज भयो भने आफ्नो किड्नी झिकेर दिन्छिन् । एउटी छोरीले आफ्नो कलेजोको टुक्रो दिएर पितालाई बचाउँछिन् । तर, एउटा स्वार्थी पुरुष आफ्नी पत्नीलाई विपदको पहाडले थिच्दा पत्नीलाई नै दोषी करार गर्छ र छोडपत्रको कागजमा सही गर्न लगाउँछ । कठै माओवादी स्कुलको विधिशास्त्र !

कृष्णबहादुर महराको सत्ता र शक्तिको लीलामा परेर थिल्थिलो बनेकी रोशनी शाही नवरात्रीमा कहीँबाट न्याय नपाएकी निरीह बचरी जस्तै बनेकी छिन् । गत आइतबार नै अनलाइनखबरसँगको फोन सम्वादमा उनले आशंका व्यक्त गर्दै भनेकी थिइन्, ‘यहाँ निर्मला पन्तको केस ढाकछोप गरियो, अब यो केस पनि ढाकछोप गर्न सक्छन् । बुबा समानको मान्छे, बाबुजस्तो मान्छे, अभिभावकजस्तो मान्छेले नै यस्तो गर्छन् भने आम मान्छेलाई के भन्ने ?’

हो, हामीले देशमा लोकतन्त्र/गणतन्त्र त ल्यायौं । तर, यो राजनीतिक परिवर्तन महिलाका लागि आएन । अहिले रोशनी शाहीको पक्षमा न राज्य छ, न उनका पति । न समाज, न त सामाजिक सञ्जालले नै रोशनीलाई साथ दिइरहेको छ । न त महिला नेतृ र अधिकारकर्मीहरुले नै सुनिने गरी बोलेको अवस्था छ । बरु, यस्तो तर्क गर्न खोजिँदैछ कि अपराधी कृष्णबहादुर महरा हैनन्, रोशनी शाही हुन् ।

देशमा न्याय नमरेको भए, हाम्रो समाज महिलामैत्री भइदिएको भए रोशनीको हालत यस्तो हुनु नपर्ने हो । एउटी पीडित महिलाले आफूलाई यति साह्रो बेसाहारा, एक्लो र कमजोर महसुस गर्नु नपर्ने हो । समाजले महिलालाई नै अर्घेलो देख्नुको साटो महरालाई सांसद पदबाट हटाउन माग गर्नुपर्ने हो । सत्तारुढ नेकपाले महिलापीडक महरालाई तत्काल सांसद पदबाट बर्खास्त गरेको घोषणा गरेर रोशनीलाई संरक्षण दिनुपर्ने हो । तर, हाम्रो पितृसत्तावादी समाज एउटी अवलामाथि ढुंगा हानेर दशैं मनाइरहेको छ । यस्तो मत्स्य–न्याय समुद्रमा पनि शायदै होला ।

भीआइपीले सत्ता, शक्ति र पैसाको आडमा आफूमाथि गरेको अन्याय रोशनीले धेरै वर्षसम्म सहेर बसिन् । त्यो उनको गल्ती थियो । कुनै प्रलोभनमा परेको वा परिवन्दमा परेको भए पनि त्यो उनको गल्ती नै थियो । तर, आइतबार उनले जसरी त्यसको पर्दाफास गरिन्, यो चाहिँ उनको अपराध थिएन । तर, राज्यले उनलाई संरक्षण गर्न सकेन र महरा मण्डलीले भोलिपल्टै नियन्त्रणमा लिएर जबरजस्ती बोली फेर्न लगायो । यो उनीमाथि भएको थप अपराध हो र यसमा प्रहरी पनि दोषी छ ।

आफूमाथि महराले वर्षौंदेखि गर्दै आएको शोषणको पोल खोल्ने आँट जुटाएको सजायँस्वरुप रोशनीलाई अहिले राज्य र समाजले दयनीय हालतमा पुर्‍याएको छ । आफूमाथि अन्याय भएको खुलस्त बताएकी उनले भोलिपल्टै बोली फेरिन् भन्दै उनैलाई सराप्ने पुरुषवादी मानसिकता छताछुल्ल भएको छ । यसवीचमा महरा मण्डलीले रोशनीलाई कब्जामा लिएर थप अपराध गरेको छ । तर, प्रहरी प्रशासनले शुरुदेखि नै पीडितको संरक्षण गर्न नसकेर लाचारी प्रदर्शन गरेको छ ।

माओवादीको क्रान्तिकारी बर्को ओढेका नेताबाट वर्षौंदेखि शोषणमा पर्दै आएकी शाहीले आइतबार राति नशाकै सुरमा सही, आफू निकटस्थहरुलाई आफ्नो पीडा सुनाइन् । म बलात्कृत भएँ भनेर आधा रातमा महिलाले रुँदै फोन गरेपछि महिला सांसदले तत्कालै प्रहरी, मिडिया आदिमा फोन गरेर जानकारी गराउनु जायज र सह्रानीय कार्य थियो । यसमा सांसद उमा रेग्मी धन्यवादकी पात्र हुन् । उनकै सूचनाका आधारमा प्रहरी घटनास्थलसम्म पुग्यो, पत्रकार पुगे । र, महराको वर्षौंदेखिको पापको घडा एकै रातमा पट्ट फुट्यो ।

यो प्रकरणमा रोशनी शाहीलाई कसरी हेर्ने ? उनका श्रीमानसमेत महराकै मतियार र हतियार बनेको अवस्थामा रोशनीले के–कस्तो मनोदशाबाट गुज्रिनुपरिरहेको होला ? महरा र रोशनीवीचको सम्बन्ध कस्तो थियो ? महराको आर्थिक लेनदेनमा पनि दुई परिवारवीच साइनो सम्बन्ध थियो कि ? यी विविध प्रश्नमाथि पीडितमैत्री दृष्टिकोणबाट विश्लेषण गरिन आवश्यक छ । महिलामैत्री भएर यो घटनालाई हेर्न जरुरी छ । र, रोशनीका श्रीमानलाई समेत महरासँगै अनुसन्धानको दायरामा ल्याउन जरुरी छ ।

यसवीचमा नेकपाको सचिवालयले समामुख र सांसद पदबाट समेत राजीनामा दिन गरेको आग्रहलाई अटेर गर्दै महरा मण्डलीले यसवीचमा रोशनी शाहीलाई कब्जामा लिएर बोली फेर्न लगाएको छ । बानेश्वर प्रहरीमा सँगै गएर महराको बचाउमा निवेदन दिन लगाउने प्रयोजन सिद्ध्याएपछि श्रीमानले रोशनीसँग छोडपत्र गरेको घोषणा फेसबुकमार्फत गरेका छन् ।

महरा मण्डली यतिमै रोकिएको छैन, समाचार लेख्ने पत्रकारमाथि पनि हात हाल्ने मनसुवामा देखिन्छ ।

महरा मण्डलीको कुतर्क

रोशनीको बोलीको ठेगान नभएको, औषधि र रक्सी आएर जथाभावी बोल्ने गरेको, विगतमा महरासँग लामो समयसम्म अनुचित सम्बन्ध रहेको, इत्यादि प्रचारबाजीहरु पनि महरा मण्डलीबाट स्थापित गर्ने प्रयासहरु भइरहेका छन् । रोशनीलाई गलत देखाएर महरालाई निर्दोष देखाउने प्रयासमा महरा मण्डली सक्रिय छ । महरालाई सही देखाउन रोशनीलाई खराब देखाउने सामन्ती पितृसत्तावादी हर्कत भइरहेको छ ।

महरा मण्डलीले आफ्नो बचाउमा विभिन्नखाले तर्क गरेको सुनिन्छ, जस्तै–

आइतबार महरा रोशनीको कोठामा गएकै थिएनन् । तर, अरुबेला चाहिँ जाने गरेका थिए । महराले रोशनीलाई जनयुद्धकालदेखि नै छोरीजस्तै मानेर आर्थिक लगायत सहयोग गर्दै आएका हुन् । पढाइ खर्च पनि उनले व्यहोरेका थिए । छोराछोरी अमेरिका पठाउँदा पनि सहयोग गरेकै हुन् । महरा र रोशनीवीच भेटघाट भइरहन्थ्यो । तर, कर्मचारी समायोजनमा चित्त नबुझेपछि रोशनी रिसाइन् र महरालाई आरोप लगाइन् । मातेर, बेसुरमा केके बोलिन् थाहा भएन, मिडियाले प्रोभोक गरे । अमेरिकी साम्राज्यवादले महरामाथि षडयन्त्र गर्‍याे । चीनलाई प्रहार गर्न यो घटना गराइएको हो । इत्यादि इत्यादि ।

शाही दम्पत्तिका बीचमा महरा ।

महरा मण्डलीका यी सबै तर्क हास्यास्पद छन् । सुरक्षाकर्मीले प्रधानमन्त्री दिएको रिपोर्ट अनि सबुद प्रमाणहरुले आइतबार महरा रोशनी शाहीको कोठामा पसेको प्रमाणित गरिसकेको अवस्था छ । र, यही सबुदका आधारमा नेकपा सचिवालयले महरालाई सभामुख र सांसद पद छाड्न भनेको हो । यो प्रस्ताव प्रधानमन्त्री ओलीको मात्र नभएर स्वयं प्रचण्डले नै अघि सारेका हुन् । यसमा सबै नेताहरु एकमत छन् ।

कर्मचारी रोशनीको कोठामा जाने गरेको महराले स्वीकार गरिसकेपछि स्वतः प्रश्न उठ्छ– सभामुखजस्तो मान्छे राति राति श्रीमान बाहिर भएको मौकामा एक्ली महिलाको कोठामा रक्सी बोकेर सुटुक्क छिर्न सुहाउँछ ? आफ्नै कनिष्ट कर्मचारीको डेरामा सभामुखजस्तो सम्माननीय पदको मर्यादामा रहेको व्यक्ति राति–राति घस्न मिल्छ ? अनि त्यसरी एक्ली महिला भएको कोठामा पसेर रक्सी खाइसकेपछि ‘सेक्स’ नै नगरे पनि सभामुखको इज्यतचाहिँ कहाँ बाँकी रहन्छ ? माननीय सांसदको इज्जत कहाँनेर बच्छ ?

महराले विगतमा खर्चपर्च दिएर रोशनीलाई छोरीजस्तै राखेको मान्ने हो भने पनि जनयुद्धमा लागेका हजारौंलाई दुःख– सुखमा नहर्ने र लडाकूको पैसा हिनामिना भएको आरोप खेपेका महरालाई के भाउँतो आइलाग्यो र रोशनीलाई चाहिँ यसरी अभिभावकत्व गर्नुपर्ने भयो ? अनि बाबुछोरीको जस्तो सम्बन्ध भएको भए रोशनीले रुँदै आफू दुव्र्यवहारको शिकार भएको बताउनुपर्ने स्थिति किन र कसरी आइलाग्यो ? ल, रोशनीले त औषधि खाएर जथाभावी बोलिन् रे, महराले चाहिँ के आधारमा ‘छोरी’ लाई पिटे ? छोरी भनिसकेपछि अर्र्काकी श्रीमतीलाई पिट्न पाइन्छ ?

महराले यौन दुव्यवहार नै गरेका थिए कि थिएनन् भन्ने अनुसन्धानबाट खुल्ने कुरा हो । तर, उनको रोशनीसँगको सम्बन्ध र उठबस आफैंमा एउटा गम्भीर नैतिक प्रश्न हो, जसको एक किस्ता मूल्य उनले चुकाइसकेका छन्

आफू सभामुखको पदीय मर्यादा भुलेर काम बिगार्ने, अनि मिडिया, रोशनी, अमेरिका वा चीनतिर देखाएर क्रान्तिकारीमाथि षड्यन्त्र भयो भन्ने ? यो पनि महरा मण्डलीले अघि सारेको हास्यास्पद तर्क हो । नेताको ‘स्क्याण्डल’ लाई विदेशी चलखेल देख्न नेपाली समाज त्यति मूर्ख छैन ।

महराले यौन दुव्यवहार नै गरेका थिए कि थिएनन् भन्ने अनुसन्धानबाट खुल्ने कुरा हो । तर, उनको रोशनीसँगको सम्बन्ध र उठबस आफैंमा एउटा गम्भीर नैतिक प्रश्न हो, जसको एक किस्ता मूल्य उनले चुकाइसकेका छन् । अब रोशनीको मुख थुनेर जति नै ‘बाबु समान’ भन्न लगाए पनि महराको राजनीति जोगिँदैन । उनी स्खलित भइसकेका छन् । अब यो घटना बाहिर आइसकेपछि पनि महरा मण्डलीले जसरी रोशनीमाथि जबर्जस्ती वयान फेर्न लगाएको छ, यसबारे तत्काल अनुसन्धान हुनुपर्छ र यसमा संलग्नमाथि कारवाही हुनुपर्छ ।

अब के गर्ने त ?

महरा प्रकरणमा तत्काल गर्नुपर्ने कामहरु यी हुन सक्छन्–

– नेकपाले अब ‘ड्यामेज कन्ट्रोल’ गर्ने हो भने स्खलित महरालाई बोकेर हिँड्न जरुरी छैन । उनलाई तत्काल सांसदबाट बर्खास्त गरेर उनको चुनाव क्षेत्र (दाङ–२) मा आगामी मंसिर १४ मै उपचुनाव गर्नुपर्छ र स्वच्छ छविको व्यक्तित्वलाई संसदमा ल्याउनुपर्छ । दाङको उपचुनावमा नेकपाले सकेसम्म पूर्वमाओवादी पुरुषलाई टिकट नदिएकै बेस ।

– रोशनी शाहीलाई राज्यले न्याय दिन्छ भन्ने महसुस गराउनुपर्छ ताकि देशभरिका महिलाले समाजमा न्याय मरेको छैन भन्ने महसुस गर्न सकुन् । यसका लागि गृहमन्त्री वा सरकारका प्रवक्ता वा प्रहरी प्रधान कार्यालयले तत्काल पत्रकार सम्मेलन गरेर घटनाका दोषीमाथि कारवाही हुने र पीडितले न्याय पाउने सार्जजनिक प्रतिवद्धता जनाउनुपर्छ ।

– रोशनीलाई तत्काल पुनस्र्थापना केन्द्र वा प्रहरीको संरक्षणमा राख्नुपर्छ । महिला अधिकारकर्मी र महिला नेतृले उनलाई तत्काल भेटेर ‘हामी छौं’ भन्ने ढाडस दिनुपर्छ ।

– आइतबारपछि पनि घटनालाई ठाकछोप गर्न महिलालाई बलजफ्ती वयान दिन लगाएको देखिएकाले महरा मण्डलीलाई तत्काल गिरफ्तार गरेर हिरासतमा लिई अनुसन्धान र कारवाही अगाडि बढाउनुपर्छ । महिला हिंसामा संलग्नलाई जेल हाल्नुपर्छ ।

– नागरिक समाज, मिडिया र सामाजिक सञ्जालमा पनि पीडितलाई नै थप पीडित बनाउनेतिर नभई न्याय र अन्यायलाई पर्गेल्नुपर्छ । नारीलाई इज्यत र सम्मान मर्यादा गर्ने सभ्य समाज बनाउनेतिर लाग्नुपर्छ । तब मात्र दशैंमा देवीको पूजा गरेको अर्थ रहन्छ ।

महराका ‘क्रान्तिकारी’ छोराहरुबारे

फौजदारी न्याय सिद्धान्तले भन्छ, फौजदारी अपराध व्यक्तिपरक हुन्छ । फौजदारी अपराधमा जसले अपराध गर्छ, त्यसको सजायँ परिवारका अन्य सदस्य वा अंशियारहरुले हुनुपर्दैन । कृष्णबहादुर महराले गरेको फौजदारी अपराध पनि उनका छोराहरुले भोग्नुपर्दैन ।

अब महराका छोराहरु न्यायको पक्षमा उभिन्छन् या आफ्नै स्खलित बाबुसँगै सति जान्छन् ? यसैले उनीहरुको ‘क्रान्तिकारिता’ र राजनीतिक भविश्यको परीक्षा हुनेछ ।

महरा प्रकरण बाहिर आएपछि उनका दुबै भाइ छोराले जनयुद्धकालमा बन्दूक बोकेका तस्वीर फेसबुकमा हाल्दै आफ्ना बाबुलाई ‘इमान्दार क्रान्तिकारी’ भनेका छन् । यो घटनाले आफूहरुलाई ‘अझ क्रान्तिकारी बन्न प्रेरणा मिलेको’ छोराहरुले बताएका छन् ।

तर, अहिलेसम्म पिताका सबैखाले कामलाई साथ दिँदै आएका महराका छोराहरुले के बुझ्नुपर्छ भने बाबुले गरेको गल्तीलाई साथ दिनेहरु क्रान्तिकारी छोरा होइनन् । क्रान्तिकारी छोराछोरी त ती हुन्, जसले आफ्ना बाबु वा कोही पनि नातेदार नभनी दोषीलाई कारवाही गर्नुपर्ने अडान लिन्छन् । जीवनभर उत्पीडितको पक्षमा बोल्छन् ।

यदि कृष्णबहादुर महराका छोराहरु साँच्चै क्रान्तिकारी हुन् भने उनीहरुले आफ्ना बाबुको आलोचना गर्नुपर्छ र रोशनीको पक्षमा उभिनुपर्छ । छोराहरुलाई यो प्रकरणबाट ‘अझै क्रान्तिकारी’ नै हुन प्रेरणा जागेको हो भने आफ्ना पितालाई गिरफ्तार गरेर छानविनका लागि प्रहरीसमक्ष बुझाइदिए हुन्छ । यति गरे भने उनीहरुलाई क्रान्तिकारी छोराहरु मान्न सकिन्छ ।

विगतको क्रान्तिकारी आन्दोलनको इतिहास हेर्ने हो भने मोहनविक्रम सिंह आफ्नै जमिन्दार बाबु खिमविक्रम विरुद्ध किसान संघर्षमा उत्रिएका थिए । सीपी मैनाली, राधाकृष्ण मैनालीहरुले आफ्नै बाबुले लेखेका तमसुकहरु च्यातेका थिए । पञ्चायतकालमा त्यस्ता धेरै क्रान्तिकारी छोराछोरीहरु जन्मेका थिए, जसले आफ्नै मण्डले बाबुहरुविरुद्ध संघर्ष गरेका थिए ।

अब महराका छोराहरु न्यायको पक्षमा उभिन्छन् या आफ्नै स्खलित बाबुसँगै सति जान्छन् ? यसैले उनीहरुको ‘क्रान्तिकारिता’ र राजनीतिक भविश्यको परीक्षा हुनेछ । अन्यथा, कृष्णबहादुर महरा अझै पनि इमान्दार, क्रान्तिकारी नै हुन् भन्ने कसैलाई लागेको छ भने त्यो भ्रम मात्र हो । भर्खर उनको एउटा स्क्याण्डल बाहिर आयो, कैयौं आर्थिक चलखेल र भ्रष्टाचारका हर्कतहरु बाहिर आउन बाँकी छन् ।

अहिलेसम्मको ट्रयाक रेकर्ड हेर्दा पूर्वमाओवादी नेताका छोराहरु ‘क्रान्तिकारी’ हुने छाँटकाँट खासै देखिँदैन । बन्दूक बोकेको तस्वीर देखाएर मात्रै क्रान्तिकारी भइन्न । माओवादी नेताहरुले आफ्ना भाइ, छोरा र कुटुम्बहरु प्रयोग गरेर सिंहदरबार वरिपरि के–कस्ता कामहरु गरिरहेका छन् भन्ने त यसअघि गृहमन्त्रीका भाइको गिरफ्तारीले पनि संकेत गरिसकेकै छ । कतिपय नेताका ज्वाइँ र छोराहरुका काण्ड बिस्फोट हुन मात्र बाँकी छ ।

पूर्वमाओवादी नेताहरुले बुझे हुन्छ – बाबु वा ससुराको धाक लगाएर जनयुद्धको ब्याज खाँदै बंश परम्परा अनुसार सत्ताको वरिपरि बसेर दलाली गर्ने जमाना सकिइसकेको छ । एउटा छानो छेस्कोले कामरेडहरुको भ्रमको बेलुन फुटाइदिन सक्छ । महरा प्रकरणमा त्यही भयो ।

अन्त्यमा,

अब कृष्णबहादुर महराको राजनीतिक भविश्य के होला ? यसमा साहित्यकार खगेन्द्र संग्रौलाको एउटा ट्विट स्मरणीय एवं संदेशात्मक छ । संग्रौलाले भनेका छन्–

‘मानिस जब अरूका आँखाले आफूलाई हेर्न छाड्छ, ऊ नीतिकथाको मैमत्त खस्रे भ्यागुत्तो बन्छ । अहंकारले जब खस्रेको भुँडी फुट्छ, तब ऊ महरा सर बन्छ । अहंकारले मैमत्त भई आफैँ आफ्नो हत्या गर्ने महरा सरसँग अब एउटा लास बाँकी छ, जसको नियति केवल सड्नु हो । कठै स्वनिर्मित दुर्भाग्य !’

Saabhar: Onlinekhabar

तपाईंको प्रतिकृयाहरू

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter