बुधबार, १२ बैशाख २०८१

नगर बसमा ‘महिला’ कन्डक्टर

१६ आश्विन २०७६, बिहीबार १२:०१ मा प्रकाशित

बाँके, १६ असोज  नेपालगञ्ज उपमहानगरपालिकाले बाँकेका विभिन्न ‘रुट’ मा नगर बस सञ्चालनमा ल्याएको छ । सञ्चालनमा ल्याइएका बसमा परिचालक ‘कन्डक्टर’ महिला राखिएको छ । काठमाडौँमा चल्ने सवारीसाधनमा महिला चालक र परिचालक देखिन्छन् । मोफसलमा नेपालगञ्ज उपमहानगरपालिकाले ‘कन्डक्टर’ महिला राखेको पहिलो भएको दाबी गरेको छ । प्रमुख डा धवलशमसेर राणा भन्नुहुन्छ, “हाम्रा दिदीबहिनीलाई अवसर दिने हो भने जिम्मेवारी पूरा गर्न सक्छन् । महिलाले दिएको जिम्मेवारी पूरा गर्न सक्नुहुन्छ भन्ने देखाउनकै लागि यो काम शुरु गरेका हौँ ।” उपमहानगरले सातवटा नगर बस खरीद गरेर सञ्चालनमा ल्याएको छ । यी बसमा परिचालक मात्र होइन चालक नै महिला राख्ने योजना उपमहानगरको छ । त्यसका लागि २५ जना महिलालाई निःशुल्क तालीमसमेत दिइएको छ । तर, अझै तयार बनाउन समय लाग्ने भएकाले तत्काललाई ‘कन्डक्टर’ मात्र राखिएको हो । प्रमुख राणाले भन्नुभयो, “अहिले ‘कन्डक्टर’ गरेर पछि चालक बनाउने हो । उहाँहरु दक्ष भएपछि विस्तारै चालक, परिचालक नै महिला राख्ने हो ।” नेपालगञ्ज–कोहलपुर सडकखण्डमा बुधबारदेखि परीक्षणका लागि बस सञ्चालनमा ल्याएको उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलले जानकारी दिनुभयो । सूचना अधिकारी पौडेलले गत असारमै बस खरीद गरेर ल्याइए पनि रुट परमिटलगायतको तयारीका कारण सञ्चालनमा केही ढिलाइ भएको बताउनुभयो । सात वटा बस खरीदका लागि उपमहानगरपालिकाले रु तीन करोड ४५ लाख खर्च गरेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter