बिहिबार, १५ चैत २०८०

पूर्वखोलाको सबै वडा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा

१६ आश्विन २०७६, बिहीबार ११:३६ मा प्रकाशित

बेझाड, १६ असोज  सबै वडा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्ने पाल्पाको पूर्वखोला गाउँपालिका पहिलो बनेको छ । बुधबार गाउँपालिकाको वडा नं १ सिलुवालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेसँगै गाउँपालिकाका सबै वडा पूर्ण संस्थागत वडा घोषणा भएका छन् । घरमै सुत्केरी हुने दरलाई शून्यमा परिणत गराउन अभियानका रुपमा काम गर्दै आएको गाउँपालिकाले छ वटै वडामा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्न सफल भएको हो । प्रदेश नं ५ का सांसद युवराज खनालले वडा नं १ सिलुवालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्दै आमा तथा बच्चाको सुरक्षाका लागि स्थानीय तहले चालेको कदम अत्यन्तै सरहानीय रहेको बताउनुभयो । गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले दुई वर्षको अवधिमा गाउँपालिकामा घरमै सुत्केरी हुने दर शून्यमा पु¥याउन सफल भएकाले सबै वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्न सफल भएको बताउनुभयो । गत आर्थिक वर्षमा वडा नं १ मा सिलुवा स्वास्थ्यचौकीमा ४२, वडा नं २ को जल्पा स्वास्थ्यचौकीमा २०, वडा नं ३ को रिङ्नेरह स्वास्थ्यचौकीमा २५, वडा नं ४ को देवीनगर स्वास्थ्यचौकीमा १४ जनाले बच्चा जन्माएका छन् । त्यस्तै वडा नं ५ को बीरकोट स्वास्थ्यचौकीमा ४१ र ६ को हेक्लाङ स्वास्थ्यचौकीबाट २७ ले प्रसूति सेवा लिएको गाउँपालिकाका स्वास्थ्य शाखाका उपसंयोजक मोहन ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्ण संस्थागत सुत्केरी वडा घोषणा कार्यक्रमका लागि गाउँपालिकाले प्रतिवडा रु २५ हजार उपलब्ध गराएको छ । घरमै सुत्केरी हुने दरलाई शून्यमा पु¥याउने लक्ष्य तथा सुत्केरी आमा र शिशुको ज्यान अकालमै नजाओस् भनेर स्वास्थ्य संस्थामै पुगेर सेवा लिनका लागि सुत्केरी र उनका सहयोगीलाई खानाको व्यवस्था गाउँपालिकाले नै गरेको उहाँले बताउनुभयो । पूर्वखोला गाउँपालिकाले सुत्केरी र उनका सहयोगीलाई निःशुल्क खानाको व्यवस्था गरेपछि संस्थागत सुत्केरी बढेको पाइएको छ । गाउँपालिकाभित्र घरमै सुत्केरी हुने दरलाई शून्यमा पु¥याउन र स्वास्थ्य संस्थामै पुगेर सुत्केरी हुन आकर्षित गराउन सुत्केरी र उनका सहयोगीलाई निःशुल्क खानाको व्यवस्था गरिएको हो । संस्थागत सुत्केरी बढाउन गाउँपालिकाभित्रका सबै स्वास्थ्य संस्थामा सुत्केरी हुन जाने र उनका सहयोगीलाई खानाको व्यवस्था गरिएको छ । आव २०७५÷७६ देखि नै गाउँपालिकाले शुरु गरेको यो कार्यक्रम प्रभावकारी बन्दै गएको छ । स्वास्थ्य सेवा सहजरूपमा प्रवाह गर्न वडा नं १ को तामाखानी, २ को साठीकोल र ५ को भोर्से भन्ने स्थानमा सामुदायिक स्वास्थ्य एकाइ केन्द्र सञ्चालनमा आएको छ । गाउँपालिकाले स्वास्थ्य संस्थामा नै सुत्केरी हुन जानेलाई प्रोत्साहनस्वरुप रु ६०० र चार पटकसम्म नियमित गर्भ परीक्षण गराउनेलाई एक क्यारेट अण्डा वितरण गर्दै आएको छ । गत आर्थिक वर्षमा यो गाउँपालिकामा एक जनाले मात्र घरमै बच्चा जन्माएको पाइएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter