बिहिबार, ०६ बैशाख २०८१

आलेख ः दूषित पानी पिउन बाध्य छन् बागलुङ बजारवासी

खेमराज गौतम

१५ आश्विन २०७६, बुधबार १४:५० मा प्रकाशित

गलकोट, १५ असोज    बागलुङ बजारका बासिन्दा दूषित पानी पिउन बाध्य छन् । बजारका स्थायी बासिन्दा र बाहिरबाट आएका हजारौं उपभोक्ता अहिले पानी नआउने र आए पनि धमिलो दूषित पानी हेरेर बस्नुपर्ने समस्याबाट आजित छन् । पानी नआउने र धमिलो पानी आउने समस्या टार्न बजारवासी आसपासका विभिन्न क्षेत्रमा पुग्ने गरेका छन् तर, खानेपानी वितरणको जिम्मेवारी पाएको बागलुङ नगर खानेपानी उपभोक्ता संस्थाले भने वर्षा पछिको बाढी र पहिरोले अवरोध पु¥याएको समयमा बाहेक अरु बेला पानीको नियमित आपूर्ति हुने गरेको दावी गर्दैआएको छ । बजारमा बस्ने महिलाहरु पछिल्लो केही समययता खानेपानीका लागि पाखाथर, तित्याङको फड्केडाँडा लगायतका ठाउँमा पुग्ने गरेका छन् । “नियमित रुपमा पानी नआउने समस्या बढेको छ, आइहालेमा पनि धमिलो पानी आउँछ,” बागलुङ नगरपालिका–१ रामरेखाका करुणा सुवेदीले भन्नुभयो – “पाँच दिन यता धाराको पानी प्रयोग गरिएको छैन । जारको पानी खरिद गरेर कति समय चल्ने हो ?” धमिलो पानीले भाडाँकुँडा धुन, सरसफाइ गर्न समेत समस्या भएको उहाँको गुनासो थियो । स्वास्थ्य कार्यालयले परीक्षण गर्दा पनि नगरको खानेपानीमा पटक पटक कोलिफर्म भेटिएको थियो । बर्खाको समयमा पहिरोका कारण खानेपानी वितरण पाइप फुट्ने भएका कारण नियमित खानेपानी आपूर्ति गर्न नसकिएको नगर खानेपानी तथा उपभोक्ता संस्थाका प्रवन्धक हिमाल शर्माले स्वीकार गर्नुभयो । “हामीले रातभर काम गरेर पनि खानेपानीको सहज आपूर्ति गर्ने प्रयास गरिरहेका छौ,” प्रबन्धक शर्माले भन्नुभयो – “पानीको नियमित आपूर्ति नहुँदासम्म पानी प्रशोधन गृह सञ्चालन गर्न सकिँदैन ।” आकाशे पानी परेको एक हप्तासम्म धारामा लेदो पानी आउने समस्या छ । “वर्षात्को समयमा धारामा धमिलो पानी आउनु अहिलेको समस्या नभई वर्षौदेखिको समस्या हो, हामी शुद्ध पानी पिलाउने सम्भावित विकल्पका बारेमा प्रयासरत छौं,” प्रवन्धक शर्माले थप्नुभयो – “एक वर्षपछि मात्र नगरवासीलाई शुद्ध पानी वितरण गर्न सकिन्छ ।” सानो प्रशोधन गृहले पानी शुद्धीकरण गर्न नसकेका कारण ठूलो प्रशोधन गृह निर्माण गरिरहेको संस्थाले जनाएको छ । हाल डिभिजन खानेपानी कार्यालय, बागलुङ नगरपालिका र नगर खानेपानी उपभोक्ता संस्थाको ४५ करोड रुपैयाँको सह–लगानीमा काठेखोलाको पानी लिफ्टमार्फत प्रशोधन गरी वितरण गर्ने आयोजना निर्माणको काम भइरहेको बागलुङ नगरपालिकाका प्रमुख जनकाराज पौडेलले जानकारी दिनुभयो । “बागलुङमा लामो समयदेखि पानीको चर्को समस्या भएको हामीलाई बोध छ । त्यसैले दीर्घकालीन समाधानका लागि ठूलो आयोजना निर्माण गर्न लागेका हौं,” नगर प्रमुख पौडेलले भन्नुभयो – “खानेपानी संस्थाको व्यवस्थापकीय कमजोरी रह्यो । उपभोक्ता मारमा परेका कारण लिफ्ट योजना ल्याएका हौं ।” पानी धमिलो भएको विषयमा बागलुङ नगर खानेपानी उपभोक्ता संस्थाका पदाधिकारीसँग धेरै पटक गुनासो गरे पनि सुनुवाइ र सम्बोधन नभएको उपभोक्ताको आरोप छ । खानेपानीलाई शुद्ध बनाई वितरण गर्न उच्च अदालत पोखरा बागलुङ इजलासले समेत नगर खानेपानी उपभोक्ता संस्थाको नाममा परमादेश जारी गरेको थियो । अदालतका न्यायाधिश शेषराज सिवाकोटी र हरिप्रसाद पौडेलको संयुक्त इजलासले २०७५ भदौ १८ गते परमादेश जारी गरेको हो । अदालतको परमादेशको समेत खानेपानी संस्थाले अवज्ञा गरेको छ । “खानेपानी संस्थाका नाममा उच्च अदालतले नियमित रुपमा स्वच्छ, सफा पिउन योग्य पानीको व्यवस्था गर्न र पानी नआउँदाको दिनको महशुल कटाएर तिर्ने व्यवस्था गर्न परमादेश जारी गरेको थियो,” उच्च अदालत बागलुङ बारका उपाध्यक्ष बद्रीप्रसाद शर्माले भन्नुभयो – “अहिले बजारमा खानेपानीको समस्या फेरि चर्किएको छ । मैले पनि फोन गरेर ध्यानाकर्षण गराएको छु । नत्र अदालतमा अवज्ञाको मानहानी मुद्वा लिएर जान्छु ।” अदालतले नगर खानेपानी संस्थासहित डिभिजन खानेपानी कार्यालय र बागलुङ नगरपालिकालाई समेत यथोचित समन्वय र भूमिकाका लागि निर्देश गरेको छ । पानी नआउने र धमिलो पानी आउँदा अस्पताल सञ्चालनमा समेत समस्या भइरहेको धौलागिरि अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा शैलेन्द्र बी पोखरेलले बताउनुभयो । ट्याकरको पानी खरिद गरी अस्पताल चलाउनु परेको पोखरेलको भनाइ छ । पोखरेलका अनुसार फोहर पानीका कारण अस्पतालमा झाडापखाला, आउँ तथा मस्तिष्कज्वरोका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । धमिलो पानी प्रयोग नगर्न, सकेसम्म उमालेर मात्र पानीको प्रयोग गर्न उहाँ सुझाव दिनुहुन्छ । बागलुङ सदरमुकाममा दैनिक करीब ३२ लाख लिटर खानेपानी आवश्यक पर्ने भए पनि आवश्यकताको आधा मात्र पानीको आपूर्ति हुँदै आएको छ । बागलुङ सदरमुकाम क्षेत्रमा नगर खानेपानी उपभोक्ताबाट झण्डै पाँच हजार खानेपानीका धारा वितरण गरिएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter