बिहिबार, १५ चैत २०८०

जलेश्वरको त्रिशूली देवी मन्दिर सर्वसाधारणका लागि खोलियो

१२ आश्विन २०७६, आईतवार १२:४२ मा प्रकाशित

जलेश्वर, १२ असोज  बडा दशैँको घटस्थापनासँगै महोत्तरी जिल्लाको जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको प्रसिद्ध त्रिशूली देवीको मन्दिर आज बिहानैदेखि सर्वसाधारणको दर्शन तथा पूजाआजाका लागि खोलिएको छ । प्रत्येक वर्ष केवल दशैँको दश दिन मात्रै खुला रहने यो मन्दिरमा घटस्थापनाको दिनदेखि सर्वसाधारणको दर्शन तथा पूजा अर्चनाका लागि यो मन्दिर खोलिएको मन्दिरका पुजारी उपेन्द्र पाठकले बताउनुभयो । दशैँभरिका लागि मात्रै खुला रहने यस मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो लागेको छ । त्रिशूल धारण गरेकी त्रिशूली देवी भवानीको मन्दिर वर्षभरि खोलिँदैन भने उनको प्रतिमा वर्षभरि कसैले हेर्न वा छुन पाउँदैन । तर दशैँमा पुजारीले उनको दश दिनसम्म विशेष पूजाआजा गर्ने, सर्वसाधारणले माताको दर्शन गर्न पाउने र भेटीसमेत चढाउन पाउने व्यवस्था रहेको पुजारी पाठकले बताउनुभयो । जलेश्वरनाथ महादेव मन्दिरको त्रिशूली देवी महोत्तरी, धनुषा, सिरहा, सर्लाही जिल्लालगायत भारतको सीतामढी र मधुवनी जिल्लामा निकै प्रख्यात रहेको छ भने यी विभिन्न जिल्ला तथा भारतको विभिन्न ठाउँबाट दशैँभरिमा त्रिशूली देवी मन्दिरमा हजारौँ भक्तजन दर्शनका लागि आउने गरेका छन् । दशैँमा त्रिशूली देवीको पूजा र दर्शन गर्न नपाएका भक्तजनहरुले पुनः वर्षभरि माताको मन्दिर खुल्ने प्रतीक्षा गर्नुपर्ने हुन्छ, त्यसैले दशैँभरि त्रिशूली देवी मन्दिरमा ठूलो भीड लाग्ने तथा लाखौँको भेटी र प्रसाद चढाइने गरिन्छ । त्रिशूली मन्दिरमा भाकल गरेको कुरा पूरा हुने जनविश्वास रहेको र वर्षमा एक पटक मात्रै माताको दर्शन हुने हुँदा सर्वसाधारणको आस्थाको केन्द्र बनेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter