शुक्रबार, १६ चैत २०८०

बर्दिवास शैक्षिक केन्द्र बन्दै

९ आश्विन २०७६, बिहीबार १२:५७ मा प्रकाशित

महोत्तरी, ९ असोज  महोत्तरीको बर्दिवासमा मेडिकल कलेज स्थापनाको कुराले गति लिएसँगै यस क्षेत्रमा उत्साह थपिएको छ । उच्च शिक्षामा एकपछि अर्को अवसरको सम्भावना बढ्दै गएपछि बर्दिवास अब शैक्षिक केन्द्र बन्ने कुराले यहाँका सर्वसाधारणमा उत्साह छाएको हो । गत वैशाखमा कार्यालय स्थापना भएको बर्दिवास मेडिकल कलेजको विस्तृत परियोजना प्रतिवेदन ( डिपिआर) प्रस्ताव बनेर स्वीकृतिको चरणमा प्रवेश गरेसँगै बर्दिवासका सबै क्षेत्रमा उत्साह छाएको छ । कलेज प्रशासनले केही दिनअघिमात्र १५ अर्ब १५ करोडको लागतमा बन्ने कलेजको डिपिआरबारे सर्वपक्षीय बैठक नै आयोजन गरेर जानकारी गराइसकेको छ । अहिलेसम्म अघि बढेका कामको आधारमा २०८० सालभित्रै कलेज सञ्चालन हुने यहाँस्थित कलेजको कार्यालय प्रमुख देवी सुवेदीले बताउनुभयो । प्रत्येक प्रदेशमा एक मेडिकल कलेज स्थापना गर्ने नीति २०७४ मा नेपाल सरकारले तय गरेसँगै यहाँ उक्त कलेज स्थापनाको कुरा अघि बढेको थियो । गत आर्थिक वर्ष २०७५÷०७६ मा कलेजलाई रु १० करोड रकम विनियोजन गरेर गत वैशाखमा कार्यालय नै स्थापना गरिएको हो । यसअघिदेखि नै बर्दिवासमा अन्य विभिन्न सङ्कायमा उच्च शिक्षाको पठनपाठन हुँदै आएको छ । शिक्षा सङ्कायमा स्नातकोत्तर, वाणिज्यशास्त्रमा स्नातक र अन्य प्राविधिक विषयमा स्नातक तहसम्मको अध्ययन गर्न सकिने शैक्षिक प्रतिष्ठान धमाधम सञ्चालन भएसँगै नयाँ सम्भावना थपिने कुराले बर्दिवास शैक्षिक केन्द्र बन्ने विश्वास जागेको महोत्तरी–१ ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य शारदा थापा बताउनुहुन्छ । बर्दिवास–६ किसाननगरमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको आङ्गिक प्राकृतिक स्रोध साधन कलेज सञ्चालित छ । गत वर्ष सञ्चालनमा आएको कलेजमा मुलुकभरिका ५४ छात्रछात्राले कृषि तथा वन विज्ञान सङ्कायभित्रका विभिन्न विषयमा स्नातक तहको अध्ययन गरिरहेका छन् । त्यस्तै बर्दिवास–१४ मा एक दशकयता बर्दिवास जनता बहुमुखी क्याम्पस सञ्चालित छ । त्रिभुवन विश्वविद्यालयको आङ्गिक यो क्याम्पसमा शिक्षा सङ्कायमा स्नातकोत्तरसम्म र वाणिज्य सङ्कायमा स्नातक तहसम्मको पठनपाठन भइरहेको छ । बर्दिवास जनता बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहको पठनपाठन शुरु भएपछि वरपर उच्च शिक्षा पढ्न नपाएर घर व्यवहारमा थन्किएका छोरी÷बुहारी र जागिर वा बन्द व्यापारमा लागेकालाई राम्रो अवसर बनेको छ । क्याम्पसमा अहिले स्नातकोत्तर तहको अध्ययन गरिरहेका ३४ मध्ये २० छात्रा छन् । यी सबै केही वर्षअघि नै स्नातक तह सकेर आफ्नो काममा लागेका छोरी÷बुहारी रहेका क्याम्पसका प्राचार्य तोपबहादुर ठकुरी बताउनुहुन्छ । प्राकृतिक स्रोतसाधन कलेजमा भने मुलुकको पश्चिमी क्षेत्रका छात्रछात्राको सङ्ख्या बढी छ । सुदूरपश्चिम प्रदेशका मात्रै १० छात्रछात्रा रहेको कलेज प्रशासनले जनाएको छ । यसबाहेक खयरमारामा निर्मल लामा बहुप्राविधिक शिक्षालय गत वर्ष नै सञ्चालनमा आएको छ । व्यावसायिक शिक्षा परिषद् (सिटिइभिटी) बाट सम्बन्धनप्राप्त स्नातक तहको पठनपाठन हुने यो शिक्षालयमा सर्वे (नापी, अमिन), वन, सिभिल इञ्जिनीयरिङ, होटल व्यवस्थापन र ‘फुड ऐण्ड डेरी’ विषयमा स्नातक तहको पठनपाठन हुँदैछ । यसैगरी किसाननगरस्थित जनहित नन्दलाल माध्यमिक विद्यालयमा सिटिइभिटीकै सम्बन्धनमा सिभिल इञ्जिनीयरिङको पठनपाठन शुरु भएको दुई वर्ष नाघिसकेको छ । गौरीडाँडास्थित जनता माध्यमिक विद्यालयमा सिटिइभिटीकै सम्बन्धनमा पशु तथा वन विज्ञान विषयमा तीन वर्षअघि नै स्नातक तहको पठनपाठन शुरु भएको हो । शैक्षिक साधन, आधुनिक कक्षाकोठा, प्रयोगशाला, पुस्तकालय र शैक्षिक अनुशासनमा कहलिएको यो विद्यालयमा पढ्न चाहनेको सङ्ख्या निकै भए पनि कोटा निर्धारणले सबैले मौका पाउन नसकेका विद्यालयका प्रधानाध्यापक दीपक बरालको भनाइ छ । यस्तै देउराली माध्यमिक विद्यालयमा वन विज्ञान विषयको स्नातक तहको पठनपाठन भइरहेको छ । यस क्षेत्रकै पुरानो जनता माध्यमिक विद्यालयले अटो मोबाइल विषयको स्नातक तह पठनपाठनका लागि सिटिइभिटीसँग सम्बन्धन प्रक्रिया अघि बढाएको छ । अघिल्लो शैक्षिकसत्रदेखि आफ्नो विद्यालयमा अटोमोबाइल विषयमा सिटिइभिटीको सम्बन्धनमा स्नातक तहको पठनपाठन सञ्चालन भइसक्ने विद्यालयका प्रधानाध्यापक दिलीप तिवारी बताउनुहुन्छ । बर्दिवासलाई शैक्षिक केन्द्रका रुपमा सबैभन्दा बढी प्रचारात्मक प्रभाव बर्दिवास मेडिकल कलेजको स्थापनाले बढाएको छ । कलेजसम्बन्धी काम क्रमशः अघि बढेपछि यहाँ अन्य व्यापारिक कारोवार ह्वात्तै बढेका छन् । यसको आकर्षणले बर्दिवासमा घरजग्गा जोड्ने र अन्य विभिन्न व्यापार व्यवसायका लागि यो ठाउँ रोज्नेको सङ्ख्या ह्वात्तै बढेको बर्दिवास उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रह्लाद क्षेत्री बताउनुहुन्छ । यसबाहेक १४ वडा बस्ती रहेको नगरक्षेत्रमा ५२ वटा सामुदायिक विद्यालय रहेका छन् । सबै विद्यालय र कलेजमा सरोकारवाला सम्बद्ध पक्षको नियमित अनुगमन हुँदै आएको बर्दिवास नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव रेवती पराजुली बताउनुहुन्छ । विद्यालय र कलेजमा भइरहेको पठनपाठनबारे सबै क्षेत्र चनाखो छन्”, उपसचिव पराजुलीले भन्नुभयो, “सम्बन्धित विश्वविद्यालय प्रशासन, सिटिइभिटी र नगरपालिकाको शिक्षा शाखाबीच राम्रो समन्वय छ, यहाँ त विद्यालयमा शिक्षक गए नगएका, पढाइ भए नभएको र विद्यार्थी उपस्थितिबारे अभिभावकले नै चासोपूर्वक गुनासो गर्ने गरेका छन् ।” जागिर खाने मनोवृत्तिका शिक्षक र विद्यार्थीको उपस्थिति राम्रो नभए पनि भर्ना सङ्ख्या देखाएर कागजमा उपलब्धि देखाउने विद्यालय प्रशासनको चलाखी चल्न अभिभावकले नै नदिने उपसचिव पराजुलीको भनाइ छ । सामुदायिक विद्यालयमा उपयुक्त शैक्षिक वातावरण बन्दै गएपछि यहाँ टाढाटाढाबाट विद्यार्थी आउनेक्रम बढेको पराजुलीको भनाइ छ । “हाँमी बर्दिवास पढ्न जाने ठाउँ हो भनेर मुलुकभरिमै परिचय विस्तार गराउन चाहान्छौँ”, नगरपालिकाका प्रमुख विदुरकुमार कार्की भन्नुहुन्छ, “यसका लागि स्वच्छ शैक्षिक प्रशासन, सुरक्षित बसोबास व्यवस्थापन र पूर्ण शैक्षिक वातावरण अत्यन्त महत्वका पूर्वसर्त हुन्, हामीले यसको चाँजो यथाशक्य मिलाएका छौँ ।” पछिल्लोपटक सङ्घीय सरकारमा बर्दिवास नगरपालिका समेतको महोत्तरी–१ प्रतिनिधिसभा क्षेत्रबाट निर्वाचित गिरिराजमणि पोखरेल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बन्नुभएपछि यहाँको शैक्षिक विकासको कुराले राम्रो फड्को मारेको यहाँका बुद्धिजीवी बताउँछन् । “स्थानीयतहको नेतृत्व शिक्षाप्रति समर्पित छ, माथिल्लो (सङ्घीय सरकार) तहको साथ छ”, विगतमा ३५ वर्ष शिक्षा क्षेत्रमा सेवा गरेर पछिल्ला दिनमा सामाजिक कार्यमा सक्रिय रहँदै आउनुभएका बर्दिवासका लीलाविक्रम थापा भन्नुहुन्छ, “अहिलेको तत्परता कायम रहे बर्दिवास राजधानी बाहिरको मुख्य शैक्षिक केन्द्रका रुपमा मुलुकभरिमै परिचित हुनेछ ।” पूर्वपश्चिम राजमार्ग, बिपी राजमार्ग, बर्दिवास–जलेश्वर सडक र बर्दिवास–गौशाला–सम्सी सडकको सङ्गम हुनु, टुटेश्वरधाम, राइमण्डल र पञ्चधुरा माइस्थान सहितका अति प्राचीन धार्मिकस्थल रहेको र नगर वरपर रमणीय सघन वनक्षेत्र हुनुले बर्दिवास नगरको परिचय विस्तारमा सघाउ पु¥याएको यहाँका बुद्धिजीवीको भनाइ छ । यसबाहेक नेपाली सेनाको पूर्वीमध्य पृतना र सशस्त्र प्रहरीको प्रदेश कार्यालयसमेत यसै ठाउँमा हुनुले यहाँ पढ्न आउने विद्यार्थी र उनका अभिभावकमा सुरक्षा आस्वस्थता बढेकाले बर्दिवासलाई शैक्षिक केन्द्र बनाउने उद्देश्यमा सघाउ पुगेको देउराली माध्यमिक विद्यालयका प्रधानाध्यापक केदार कोइराला बताउनुहुन्छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter