बिहिबार, १५ चैत २०८०

नेपाली युवा र राजदूतबीच भेटवार्ता

५ आश्विन २०७६, आईतवार १०:१८ मा प्रकाशित

बङ्लादेश (ढाका), ५ असोज  बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र र नेपाली युवाबीच भेटवार्ता भएको छ । ग्लोबल युथ पार्लियामेण्ट र ग्लोबल ल थिङ्कर सोसाइटीद्वारा ढाकामा आयोजित ‘दोस्रो दक्षिण एशियाली युवा सम्मेलन–२०१९’ मा भाग लिन ढाका आएको सो युवाहरुको टोलीले शनिबार राजदूतसँग भेटवार्ता गरेको हो । भेटका क्रममा राजदूत डा मिश्रले दुवै देशको सरकार र जनताबीचको सम्बन्धलाई थप बलियो र सुमधुर बनाउने र नेपाल र बङ्गलादेशबीच हुने यातायात सेवालाई अझै सहज बनाउन पहल गर्ने बताउनुभयो । सो अवसरमा ग्लोबल युथ पार्लियामेण्टका अध्यक्ष दिवाकर अर्यालले नेपाल र बङ्गलादेशबीचको युवाहरुको सम्बन्धलाई अझै बलियो बनाउँदै नेपालको पर्यटन क्षेत्रको विकासमा ध्यान दिन आग्रह गर्नुभयो । नेपाल बार एशोसिएसनका पूर्वकोषाध्यक्ष मोहन इङनाम, दलित महिला उत्थान सङ्घ नेपाल (एड्वान) की महासचिव विन्दु परियार, कर्णाली टेलिभिजनका अध्यक्ष डम्बर शाहु, देशान्तर साप्ताहिकका सम्पादक विष्णुप्रसाद देवकोटा र त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक देवीप्रसाद अधिकारीलगायतको टोलीले भेटवार्ता गरेको हो । त्यसैगरी सो टोलीले बङ्गलादेशका पूर्वगृह तथा वाणिज्यमन्त्री अल्टाफ हुसेन चौधरीलाई भेट गरेको थियो । ग्लोबल ल थिङकर सोसाइटीले युवाको क्षेत्रमा क्रियाशील विभिन्न देशका व्यक्तिलाई यही असोज २ गते बिहीबार ढाकामा ‘साउथ एशियन युथ लिडरसीप अवार्ड–२०१९’ प्रदान गरेको छ । नेपालको तर्फबाट अधिवक्ता मोहन इङनाम, (एड्वान) की महासचिव विन्दु परियार, पत्रकार डम्बर शाहु, विष्णुप्रसाद देवकोटा र सुशील दर्नाल, उपप्रध्यापक देवीप्रसाद अधिकारी, अधिकारकर्मी नगेन्द्रप्रसाद भट्ट र बालअधिकारकर्मी दुर्गादेवी मैनालीले सो अवार्ड प्राप्त गर्नुभएको थियो । त्यसैगरी सविन लामिछाने, पर्यटन व्यवसायी रामप्रसाद सापकोटा, दृष्टिविहीन अधिकारकर्मी नीरबहादुर श्रेष्ठ, महिला अधिकारकर्मी रेनु ढुङ्गेल, पर्यटन व्यवसायी नानुकाजी अर्याल, उद्यमी अनुप सुनुवार र टुकी नेपालकी उपाध्यक्ष निर्मला धमलालगायत विभिन्न देशसहित ३३ युवालाई सो अवार्ड प्रदान गरिएको हो । त्यसैगरी ग्लोबल ल थिङकर सोसाइटीले ग्लोबल युथ पार्लियामेण्टका अध्यक्ष दिवाकर अर्याललाई ग्लोबल चेन्स मेकर अवार्ड प्रदान गरेको छ । क्षेत्रीय एकतालाई थप बलियो बनाउँदै युवाहरुको सामूहिक नेतृत्व विकासका लागि अनुभव र अवसर आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिएको सो दुईदिने सम्मेलनले युवाको क्षेत्रमा अझै सक्रियताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter