बिहिबार, १५ चैत २०८०

ज्यावलका देवता विश्वकर्माको पूजा गरिँदै

१ आश्विन २०७६, बुधबार ११:१५ मा प्रकाशित

महोत्तरी, १ असोज  मिथिला क्षेत्रमा आज ज्यावलका देवता विश्वकर्माको पूजाआराधना गरिँदैछ । प्रत्येक वर्षको असोज सङ्क्रान्तिका दिन यो पर्व मनाउने हिन्दू मैथिल परम्पराअनुसार आज महोत्तरीसहितका तराई क्षेत्रमा ज्यावलका देवता मानिने विश्वकर्माको पूजाआराधना गर्न लागिएको हो । पर्वका अवसरमा आज यस भेगका मेशिनरी पार्टस्का औद्योगिक तथा व्यापारिक प्रतिष्ठानमा विश्वकर्माको पूजाआराधना विशेष समारोहबीच धार्मिक विधिबाट गरिँदैछ । पर्वका अवसरमा सामान उत्पादन गरिने स–साना उद्योग, अन्नपात कुटान÷पिसान र पेलान गर्ने मिल, यातायातका साधन तथा धातुबाट बनेका स–साना ज्यावललाई पनि धोइपखाली पूजा गरिने चलन छ । ठूला–साना सबै कलकारखानामा विश्वकर्मा पूजनोत्सव मुख्य पर्व मानिँदै आइएको छ । यस पर्वमा कारखाना वा कुनै पनि उद्योगमा काम गर्ने कामदारलाई सञ्चालकले विशेष भोजन गराउने, बोनस दिने र नयाँ वस्त्र दिने परम्पराले श्रमिकका लागि यो पर्व खास अवसर पनि बनेको कारखाना र उद्योगका कामदार बताउँछन् । यो पर्वका अवसरमा दारीकपाल सेताम्य फुलेको आकृतिका श्री विश्वकर्माका प्रतिमा सबैजसो औद्योगिक तथा व्यापारिक प्रतिष्ठान र गाउँनगर बस्तीका चोक–चोकमा स्थापित गरिएका छन् । झट्ट हेर्दा ब्रह्माकै आकृति देखिने विश्वकर्माले आफ्ना चारहातमध्ये दुई हातमा तार, डोरी र फलामे ज्यावल हातमा लिएका प्रतिमामा देखिन्छ । कैयौँ ठाउँमा विश्वकर्मा पूजा पर्वका अवसरमा धार्मिक मेला र विशेष नाचगान कार्यक्रम आयोजना गरिएका छन् । सत्ययुगमा देवता र दैंत्यले संयुक्तरूपमा समुद्रमन्थन गर्दा उत्पत्ति भएका विश्वकर्मालाई ब्रह्माले ज्यावलको संरक्षण र उपयोग गराउने जिम्मेवारी दिएको बताइन्छ । आज असोज सङ्क्रान्तिका दिन विश्वकर्माको पूजाआराधनाले ज्यावल खिया नलाग्ने, टिकाउ हुने र सधैँ शुभ फल दिने विश्वास गरिन्छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter