बिहिबार, १५ चैत २०८०

काठमाडौंँ, भोजपुर र महोत्तरी खुला दिसामुक्त

१ आश्विन २०७६, बुधबार १०:१७ मा प्रकाशित

काठमाडौँ, १ असोज  काठमाडौँ जिल्लालाई बल्ल खुला दिसामुक्त जिल्लाका रुपमा घोषणा गरिएको छ । मङ्गलबार यहाँ जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले आयोजना गरेको समारोहमा प्रदेशसभा सदस्य नारायण सिलवालले काठमाडौँ जिल्ला खुला दिसामुक्त भएको पत्र पढेर घोषणा गर्नुभएको हो । भदौ २४ गते काठमाडौँ महानगरलाई ‘खुला दिसामुक्त महानगर’ घोषणा गरिएको थियो । खानेपानी, सरसफाइ र स्वच्छताका लागि जिल्लास्तरीय समन्वय समितिको प्रतिवेदनअनुसार काठमाडौँ जिल्लामा दुई लाख ९२ हजार ४५२ घर छन् र ती सबै घरमा चर्पी छन् । काठमाडौँलाई सन् २०१७ अगाडि नै खुला दिसामुक्त जिल्लाका रूपमा घोषणा गर्ने कार्यक्रम रहेको भए पनि काम सफल हुनसकेको थिएन । प्रदेशसभा सदस्य सिलवालले खानेपानी र सरसफाइलाई सभ्यतासँग जोडेर एकीकृत र समन्वयात्मक कार्यक्रम सञ्चालन गरेर पूर्ण सरसफाइतिर लाग्नुपर्ने बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख एवं खानेपानी, सरसफाइ र स्वच्छताका लागि जिल्लास्तरीय समन्वय समितिका अध्यक्ष शिवसुन्दर राजवैद्यले चर्पी बनाएर मात्र पूर्ण सरसफाइ नहुने बताउँदै उहाँले स्थानीय तहबाट पूर्ण सरसफाइमा लाग्नुपर्नेमा जोड दिनुभयो । काठमाडाँै महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले पूर्ण सरसफाइका लागि चर्पी भएर मात्र पुग्दैन, चर्पीसँगै यसको प्रयोग, सार्वजनिक शौचालय निर्माणलगायतका क्षेत्रमा सक्रियतापूर्वक काम हुनुपर्ने बताउनुभयो । जिल्लास्तरीय समन्वय समितिका सदस्य सचिव हरिदत्त पौडेलले यस अभियानका क्रममा ५५ हजार ५०० चर्पी बनाउन उपभोक्ताको रु २७ करोड ८० लाख र सरकारको रु छ करोड ६५ लाख बराबर खर्च भएको जानकारी दिनुभयो । काठमाडौँ उपत्यकामा भक्तपुरलाई विसं २०७० कात्तिकमा र ललितपुरलाई २०७५ जेठमा खुला दिसामुक्त घोषणा गरिएको थियो । नेपालको पहिलो खुला दिसामुक्त जिल्ला भने कास्की हो । कास्कीलाई विसं २०६८ असार १० गते नै खुला दिसामुक्त घोषणा गरिएको हो । भोजपुर ः भोजपुर नगरपालिका क्षेत्रलाई खुला दिसामुक्त घोषणा गरिएको छ । नगरक्षेत्रका सम्पूर्ण घरमा सेफ्टीट्याङ्कीसहितको शौचालय निर्माण भएसँगै नगरलाई मङ्गलबार खुला दिसामुक्त घोषणा गरिएको हो । जिल्लाका अन्य आठ स्थानीय तह यसअघि नै खुला दिसामुक्त घोषणा गरिएका भए पनि मुख्य बजार रहेको नगरपालिकाको वडा नं ७ मा शौचालय निर्माणमा ढिलाइ हुँदा खुला दिसामुक्त घोषणा गर्न समस्या हुँदै आएको थियो । वडावासीले शौचालय निर्माण गरेपछि वडासँगै नगरपालिकालाई जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण खड्काले खुला दिसामुक्त घोषणा गर्नुभएको हो । महोत्तरी ः जिल्लाले सरसफाइका क्षेत्रमा एउटा फड्को मारेको छ । जिल्ला नै खुला दिसामुक्त घोषणा गरिएपछि समस्त जिल्लावासीका लागि यो सामाजिक र सांस्कृतिक क्षेत्रको महत्वपूर्ण उपलब्धि बनेको हो । प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले मङ्गलबार जलेश्वरमा जिल्ला खुला दिसामुक्त बनेको घोषणा गर्नुभएको हो । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले आयोजना गरेको विशेष समारोहमा मुख्यमन्त्री राउतले अब महोत्तरीको परिचयमा एउटा खास उपलब्धि जोडिएको बताउनुभयो । सरसफाइ व्यक्तिको मात्र नभई सामाजिक पहिचान र संस्कृतिसँगै जोडिने कुरा भएकाले यो परिचय कहिल्यै निभ्न नदिन जिल्लाका प्रत्येक नागरिकको दायित्व भएको राउतले औँल्याउनुभयो । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ वटै स्थानीय तह खुला दिसामुक्त बनेपछि मङ्गलबार सो घोषणा गरिएको हो । जिल्लामा पछिल्ला १० वर्षयता जिल्ला समन्वय समिति (हालको) र स्थानीय तहबीच समन्वय गरेर जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले प्रत्येक स्थानीय तहका घर–घरमा शौचालय निर्माणको अभियान सञ्चालन गर्दै आएको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter