बुधबार, २५ मङि्सर २०७६

रासस विशेष ः गायनसङ्गीतमा उज्यालो भविष्य छ – सदस्य सचिव तमोट

३१ भाद्र २०७६, मंगलवार १५:५७ मा प्रकाशित

काठमाडौँ, ३१ भदौ    गाउँ गाउँबाट उठ, बस्ती बस्ती बाट उठ…” जनतालाई उठाउन गाइएको यो गीत नसुन्ने नेपाली को होला ? यसलगायत धेरै प्रगतिशील गीतले नेपालको वामपन्थी आन्दोलनलाई आजको अवस्थासम्म ल्याइपु¥याएका छन् । यस गीतले पञ्चायतकालदेखि संसदीय व्यवस्था हुँदै गणतन्त्रसम्म आइपुग्न धेरै ऊर्जा दिएको थियो । यस्ता कालजयी गीतका गीतकार श्याम तमोटको नाम भने गीत जति चर्चामा आउन सकेको छैन । हाल नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव श्यामप्रकाश तमोटमा क्रान्तिकारिता मात्र होइन, सरलता र शालीनता उत्तिकै छ । उहाँको गीत नेपाललगायत विश्वका १७ भाषामा अनुवाद भएर विश्वभर क्रान्तिकारी जनताबीच गुञ्जिरहेको छ । उनै गीतका सर्जक तथा सङ्गीतकार तमोट केही वर्षअघिसम्म भोजपुरको दाँवाँमा एक साधारण शिक्षकका रुपमा जीवन व्यतीत गरिरहनुभएको थियो । पाँच वर्षदेखि मात्र काठमाडौँमा बस्दैआउनुभएका तमोटसँग राससका प्रमुख समाचारदाता तीर्थ भट्टराईले गर्नुभएको अन्तरङ्ग कुराकानीको सम्पादित अंश ः (तस्वीरः नवीन पौडेल) आफ्नो जन्म र बाल्यकालवारे बताइदिनुहुन्छ कि ? मेरो जन्म भोजपुर जिल्लाको टक्सारमा २०११ असार १५ गते भएको हो । म नेवारी समुदायको व्यापारी परिवारमा जन्मेको हुँ । हामीले भोजपुरको दाँवाँमा कपडा, किराना पसल चलाएका थियौँ । मैले थाहा पाएदेखि नै हामी दाँवाँमा थियौँ । अध्ययन कहाँ कहाँ गर्नुभयो ? पेशा के लिनुभयो ? मैले कक्षा ८ सम्म सिद्घेश्वर मावि, दाँवाँमा पढेँ । त्यसपछि कक्षा ९ र १० पढ्न भोजपुर सदरमुकामको विद्योदय माविमा गएँ र त्यहीँबाट २०२७ सालमा एसएलसी परीक्षा पास गरेँ । त्यसपछि भोजपुर क्याम्पसमा कमर्श विषय नभएकाले २०२८ सालमा कमर्श पढ्न धरान झरेँ र महेन्द्र कलेज धरानमा पढेँ । आइकम पास गरेपछि २०३२ सालमा सिद्घेश्वर मावि, दाँवाँमा शिक्षक भएँ । त्यहाँबाट सेवाकालीन अवस्थामै सानोठिमी क्याम्पस भक्तपुरमा बिजनेस (व्यवसाय) विषयमा २०३५—३७ सम्म तालीम लिएर बिएड उत्तीर्ण गरेँ । पारिवारिक पृष्ठभूमि कस्तो थियो ? विवाह कोसँंग र कहाँ भयो ? मेरा बुवाको नाम विष्णुकुमार र आमाको नाम शुभलक्ष्मी हो । मेरा एकएक दिदी, बहिनी र भाइ छन् । छोरामा जेठो र सबैमा माहिलो सन्तान ह्ँ । विवाह २०३५ फागुनमा खोटाङ बजारकी गङ्गा उदाससँंग मागी विवाह भएको हो । राल्फाली कलाकारसँग कसरी सम्पर्क भयो ? राजनीतिक झुकाव कतातिर थियो र कुन कुन दलमा संलग्न हुनुभयो ? म कक्षा १० मा पढ्दा राल्फा समूहका सङ्गीत अभियानकर्मीहरु रामेश, मन्जुलहरु दाँवाँ आएका थिए र विद्यालयमा कार्यक्रम गरेका थिए । सदरमुकाम आसपास पनि कार्यक्रम गरेका थिए । उनीहरुले गाउने गीतको सन्देश र पृष्ठभूमि बेग्लै र आकर्षक हुन्थ्यो । यसक्रममा मञ्जुल प्रभावशाली तरिकाले बोल्नुहुन्थ्यो । उहाँले विशेष प्रभाव पार्नुभयो । उहाँका कुराले निर्धा निमुखाको मन छुन्थ्यो, कति त धर्धरी रुन्थे, मन पगाल्थ्यो । राल्फा समूहमा पारिजातको नेतृत्वमा रामेश, रायन, मञ्जुल आदिको साङ्गीतिक समूह बनेको थियो । युवामा विद्रोहको भावना थियो । राल्फा शब्द रामेश र मञ्जुलले सिर्जना गर्नुभयो, सबैलाई स्वीकार्य भयो तर यसको कुनै शाब्दिक अर्थ भने छैन । यो शब्द नाममा जातभन्दा फरक हुने र विभेद हटाउने गरी प्रयोग गरिएको थियो । तपाईँको चर्चित गीत ‘गाउँगाउँबाट उठ’ कहिले लेख्नुभयो, त्यसको पे्ररणा स्रोत के थियो ? यो केमा छापियो ? यो गीत मैले २०३१ सालमा लेखेको हुँ । राल्फासंँग भेट भएपछि उनीहरुका गीतले तान्यो, धरानमा पनि प्रगतिशील विद्यार्थीसंँग सङ्गत भयो । त्यहाँ रामेश, बम देवान, गोविन्द विकल आदिसंँग भेट भयो । चिनियाँ क्रान्तिको प्रभाव पनि परेको थियो, किनकि माओत्सेतुङले गाउँ पहिले मुक्त हुनुपर्छ र शहरलाई घेर्नुपर्छ भन्नुभएको थियो । चीनजस्तै नेपालमा पनि किसानको नेतृत्वमा क्रान्ति हुने स्थिति भएकाले माओको प्रभाव परेको अवस्थामा यो गीत भोजपुरको दाँवाँमा लेखेको हुँ । यो गीत सर्वप्रथम विसं २०३६ मा ‘सङ्कल्प’ पत्रिकामा छापिएको थियो । यसमा सङ्गीत कसले र कहिले दिनुभयो र शुरुमा यसको प्रभाव कत्तिको थियो ? यसमा सङ्गीत २०३१ मा म आफैँले दिएको हुँ । पहिला गीत गाउँदा त्यति वास्ता भएन तर क्याम्पसका सरहरुले भने मन पराउनुभयो । पहिलो पटक भोजपुर क्याम्पसमा एउटा कार्यक्रममा भोजपुरका शम्भु श्रेष्ठ, दिल्पाका डिल्लीरमण राई र मैले गाएका थियौँ । त्यस बेला भोजपुर क्याम्पसमा सुरेन्द्र जोशी क्याम्पस चिफ हुनुहुन्थ्यो । पछि यस गीतलाई एकजना भाइले काठमाडौँ ल्याएर रामेशलाई देखाएछन् । त्यसपछि उहाँले यसलाई गाउन थाल्नुभयो । यसको रेकर्डिङ कसको स्वरमा कहिले भयो ? यो गीत २०३५÷३६ सालतिरै रामेश र मञ्जुलको स्वरमा रेकर्डिङ भए पनि पछि २०५४ सालमा ‘बलिदान’ फिल्मका लागि रामेश, रामकृष्ण ढकाल, ओम श्रेष्ठ र लासिमित राईको स्वरमा रेकर्डिड भएको हो । यसको अनुवाद कति भाषामा भएको छ, ती के के हुन् ? यो गीत १७ भाषामा अनुवाद भइसकेको छ । ती भाषाहरुमध्ये केही नेपालका जिरेल, तामाङ, मैथिली, नेवार, राई वान्तवा, लिम्बू छन् भने विदेशी भाषामा हिन्दी, चिनियाँ, अङ्ग्रेजी, फ्रेञ्च आदि रहेका छन् । राल्फा समूहमा भोजपुरका को को सहभागी हुनुहुन्थ्यो ? राल्फामा रामेश, रायन, मञ्जुल, रेमन (लक्ष्मी कोइराला), नोरेम (हरि श्रेष्ठ), निनु चापागार्इँ, विमल चापागाइँ, प्रदीप नेपाल (सिरोज, सोनोभ), अरिम आदि हुनुहुन्थ्यो । प्रसिद्घि देशभर अझ विदेशमा पनि भए पनि किन राजनीतिमा प्रत्यक्ष संलग्न हुनुभएन ? के तपार्इँलाई सांसदको टिकट दिइएन ? या प्रयासै गर्नुभएन ? मलाई राजनीतिभन्दा साङ्गीतिक क्षेत्र नै मन प¥यो । त्यो मेरो व्यक्तिगत स्वभावले गर्दा पनि होला । घरायसी समस्याले गर्दा पनि पार्टी राजनीतिमा लागिएन । सङ्गठकको रुपमा काम गरिएन । अहिले नेपाल स–गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा सदस्य सचिव हुनुहुन्छ, यस पदमा कसरी आइपुग्नुभयो ? विसं २०३०÷३२ देखि नै सङ्गीत क्षेत्रमा लागियो, लेखन खासगरी गीत लेखनमा लागी लोकतन्त्र स्थापनाका लागि, पञ्चायती व्यवस्था अन्त्यका लागि काम गरेको हुँ र अहिले लोकतन्त्रका अनुयायीहरु नै सरकारमा भएकाले मलाई सम्झनुभयो । मेरो गीति योगदानलाई कदर गर्दै लोकतान्त्रिक गणतान्त्रिक सरकारले मलाई यस पदमा उपयुक्त ठान्यो । यसका लागि तपार्इँको संचार माध्यममार्फत सरकारलाई पनि धन्यवाद दिन चाहन्छु । यस प्रज्ञा–प्रतिष्ठानले के गरिरहेको छ यसको आवश्यकता कत्तिको छ ? यसका कामबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ? प्रतिष्ठानले नेपाली सङ्गीत नाट्य विधाको संरक्षण, संवद्र्घन, अनुसन्धान जस्ता प्रमुख काम गरिरहेको छ । हामी २०७५ पुसमा प्रतिष्ठानमा आएपछि खास काम गर्न थालेको त पाँच छ महिना भयो । नयाँ आवमा हामी संविधान दिवसको उपलक्ष्यमा नेपाली बाजाको मात्र खासगरी सारङ्गीको वाद्यवादन कार्यक्रम असोज २ गते साँझ राष्ट्रिय नाचघरमा गर्दैछौंँ । त्यो सुनिदिनुहुन म सबैलाई अनुरोध गर्दछु । सङ्गीत नाट्य, ललितकला र नेपाल प्रज्ञा –प्रतिष्ठानहरु गाभिनुपर्छ भन्ने भनाइ कतिको उचित हो ? देशको आवश्यकता र परिस्थितिले तीन वटा प्रतिष्ठान सिर्जना भएका हुन् । फेरि एउटैमा आउनु जायज होइन । यिनीहरुलाई अलग अलग ढङ्गले नै विकास गर्नुपर्छ । व्यवस्थापन गर्न कठिन भएकाले बेग्लै विधागत विकास गर्नुपर्छ । यस प्रतिष्ठानका कामलाई प्रभावकारी बनाउन के गर्नुपर्छ ? लोप हुन लागेका लोकगाथा, लोकभाका, लोकनृत्यको खोजी, सङ्कलन, छायाङ्कन गरी विश्वमा हाम्रो लोकसंस्कृतिको प्रचारप्रसार गर्नुपर्छ । अन्तरराष्ट्रियस्तरमा गोष्ठी आयोजना गर्ने, सार्कसंँग सम्बन्ध बढाउने र सार्कस्तरीय कार्यक्रम गर्ने, अतीतको संरक्षण गर्ने र भविष्यतर्फ जाने उद्देश्य रहेको छ । प्रतिष्ठानले विभिन्न प्रदेश तथा दूरदराजका लोप हुन लागेका गीतसङ्गीतको संवर्धनमा के गर्न सक्छ र के गरिरहेको छ ? हालसम्म प्रतिष्ठानको कार्यालय एउटै मात्र छ, यसका प्रदेश शाखा, प्रशाखा छैनन् । यसअघि प्रतिष्ठानले सातै प्रदेशको गीतसङ्गीतको अनुसन्धान गरी पुस्तक निकालिसकेको छ । ती बाहेक केही छुटेका भए मेचे, धिमाल, तथा अन्य अल्पसङ्ख्यकको अनुसन्धानमूलक कार्य गरिनेछ, जस्तै मगरको घाँटुनाच आदि तथा लोपोन्मुख भाषा, संस्कृतिका सङ्गीतको अनुसन्धान गरिनेछ । प्रतिष्ठानले नेपाली गीतसङ्गीत तथा नाटकको विदेशमा प्रचारप्रसार गर्न सकेको छ कि छैन र कुन कुन देशसंँग सम्बन्ध स्थापित गर्न सकेको छ ? अहिले यसमा हामी अलि कमजोर छौँ, आगामी दिनमा गर्नेछौंँ । विगतमा भारतमा गएर कार्यक्रम भएका छन् । अहिले अपेक्षित काम हुन सकेको छैन । नेपाली गीतसङ्गीतको जुन हिसाबले विकास भइरहेको छ, त्यसमा सन्तुष्ट हुनुहुन्छ ? लोकतन्त्र स्थापनापछि मात्रात्मक रुपमा विकास प्रशस्तै भयो, विद्युतीय सञ्चारमाध्यमका कारण पनि परिमाणात्मक धेरै वृद्घि भयो । पहिले त एउटा रेडियो मात्र थियो, अहिले माध्यमको अभाव छैन । अहिले सङ्ख्या र विषयवस्तुको विविधीकरण भए पनि अझै प्रयत्न गर्नुपर्ने आवश्यक देखिन्छ । हिन्दी र अङ्ग्रेजीसँंग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । अहिले दोहोरी गीतहरु व्यापक भइरहेको सन्दर्भमा अन्य लोकगीतहरु खासगरी पूर्वीय भाकाहरु ओझेलमा परेको जस्तो लाग्छ कि लाग्दैन, ती गीतहरुको उत्थान हुन सक्छ कि सक्दैन ? दोहोरीको विकास प्रशस्तै भएको छ यो खुशीको कुरा हो तर प्रस्तुतिमा आधारभूत रुपमा भिन्नता नहुनु, छेडखान, होच्याउने क्रम आदि बढेको छ, पहिले यस्तो थिएन । पूर्वमा पनि लोकगीत, दोहोरी गीत भए पनि पूर्वको भाकाले प्रभाव जमाउन सकेन । यसले पश्चिमको जति प्रभाव जमाउन सकेको छैन तर पनि यसमा केही संस्था लागिपरेका छन् । पूर्वको अलि ढिलो तालको भएकाले पश्चिमको तुलनामा जम्न सकेन । हाल वामपन्थी नै सरकार सत्तामा भए पनि जनवादी तथा प्रगतिशील गीतसङ्गीत ओझेलमा परेको जस्तो लाग्छ कि लाग्दैन ? यो एउटा बृहत् बहसको विषय हो । कतिपय गीतको पहिलेको प्रभावले राम्रो नतिजा दिएको छ । ती गीतले सामाजिक विकृति विसङ्गतिलाई उजागर गर्थे । अहिले सबैजसो गीतमा जनताका दुःख र विभेदका कुरा आउँछन् । ढिलासुस्ती, भ्रष्टाचारको विरोध आदि प्रगतिशीलताकै प्रभाव हो । हाल ती गीत ओझेलमा परेजस्तो देखिएको छ । त्यतिबेला प्रतिबन्धित अवस्थामा ती गीत प्रभावशाली थिए । अँध्यारोमा सानो दियो पनि निकै उज्यालो हुन्छ । दिनको उज्यालोमा पेट्रोल मेक्स पनि फिका हुन्छ । मूलप्रवाहको गायनमा आधुनिक गीतसङ्गीतर्फ अम्बर गुरुङ, नारायणगोपाल, गोपाल योञ्जन, तारादेवी, अरुणा लामा जस्ता गायकगायिका हाल उदाउन नसकेको जस्तो लाग्छ कि लाग्दैन ? कलाकारको आफ्नो आआफ्नो विशेषता हुन्छ, तुलना न्यायोचित नहोला । उहाँहरुको आफ्नोपन थियो । अहिले पनि आफ्नोपन छ, तुलना गर्न उचित हुँदैन । हाल समग्र सङ्गीत जगत्मा नेपाली गायकगायिकाको नाम लिँदा कसलाई लिन सकिन्छ ? नयाँ पुस्ताका गायकगायिकामा कसको नाम लिन सकिन्छ ? एक दुई जनाको मात्र नाम लिनु उचित नहोला, सबैको आफ्नोपन छ । लोकगीत छन्, प्रगतिशील गीत छन्, गायन सङ्गीतमा उज्यालो भविष्य छ । धेरै कलाकार मेहनतका साथ लाग्नुभएको छ । गायन अहिले राम्रो आम्दानीको स्रोत पनि बनेको छ भने यो पेशाको रुपमा विकास भएको छ । राम्रा गीतकार र सङ्गीतकारमा कसलाई सम्झनुहुन्छ ? बिर्सन नसकिने गीतकार धेरै हुनुहुन्छ । तैपनि राष्ट्रिय भावनाका गीतमा गोपाल योञ्जन र शालीन गीतमा भक्तराज आचार्य, स्वरमा नारायणगोपाल, प्रगतिशील गीतमा रामेश आदिले जनताको समयको आवाज दिनुभएको छ । हाल यहाँका गीतको सङ्ख्या कति पुग्यो ? आफ्ना मन पर्ने गीतहरु कुन कुन हुन् ? मैले रचना गरेका गीतहरु तीन सयभन्दा बढी छन् । विसं २०५८ मा एउटा गीतसङ्ग्रह प्रकाशित भएको छ । मैले नेपाल भाषामा पनि आठ नौ वटा गीतको एउटा सङ्कलन निकालेको छु । मेरो गीत ‘गाउँगाउँबाट उठ’, बिएको पाठयक्रममा पनि राखिएको छ । आफ्ना सबै सिर्जना राम्रै लाग्छ, तर पनि ‘आँधी बताससँंग जुधेर फुलेको सुन्दर फूलजस्तो’ र ‘मलाई पनि वरपीपलझैँ हुन मन लाग्छ, म कथा भनिरहन्छु’ विशेष राम्रा लाग्छन् । रिमिक्स गीतबारे यहाँको धारणा के छ ? रिमिक्स गीत बन्द नै गरिनुपर्छ, कभर सङ (गीत) सम्म ठीकै छ । अनुमति मागेर प्रयोग गर्न सकिन्छ । स्रष्टालाई आम्दानी जानुपर्छ । गीतसङ्गीतबाहेक यहाँका अन्य रुचिबारे बताइदिनुहुन्छ कि ? पढने, लेख्ने, गीत सुन्ने मात्र हो, अरु कुरामा घरपरिवारका कारण पनि ध्यान दिन सकिएन । विसं २०४२ मा बुवा बित्नुभएपछि घरको जिम्मेवारी र व्यवसाय पनि धान्नुपरेकाले परिवार चलाउनेतर्फ मात्र लागियो । हाम्रो समयमा खेलकूद, सिनेमा थिएन । राजनीतिमा केवल चासो मात्र राखिन्थ्यो । त्यसैले अरु कुनै कुरामा मन गएन । र, अन्त्यमा, यहाँको जनसमुदायलाई, संस्कृति मन्त्रालयलाई वा सरकारलाई भन्नुपर्ने केही छ कि? आम जनसमुदायलाई भन्न चाहन्छु – नाटक, सङ्गीतका कुरा हेर्दा चनाखो गरी हेर्ने सुन्ने गर्नुहोला । त्यसले सकारात्मक, नकारात्मक के प्रभाव पार्ला भन्ने बुझेर मात्र हेर्नुहोला । भावी पुस्तालाई कुन बाटोमा डो¥याउला भन्ने बुझेर राम्रालाई प्रोत्साहन र नराम्रालाई दुरुत्साहन वा हेर्न छोडिदिनुपर्छ । सरकारलाई म यस पदमा भएकाले आफ्नै माध्यमबाट पहल गरी सहयोगको माग गरेकै छु र स्रोतको व्यवस्थापन गरिएकै छ । (तस्वीर संलग्न छ)

तपाईंको प्रतिकृयाहरू

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter