बुधबार, १२ बैशाख २०८१

पाटनका ११ टोलवासीले इन्द्रजात्रा मनाउँदै

२७ भाद्र २०७६, शुक्रबार १५:२६ मा प्रकाशित

ललितपुर, २७ भदौ  वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना गरी आज साँझ पाटन सुन्धारा निवासी ११ टोलका टोलवासीले इन्द्रजात्रा पर्व मनाउँदैछन् । हरेक वर्ष भदौ शुल्क चतुर्दशीका दिन पर्ने यो पर्व पाटनको सुन्धारा, काठमाडाँै, भक्तपुरलगायत देशका केही स्थानमा मनाउने गरिन्छ । बिहीबार भाद्र शुक्ल द्वादशीका दिन पाटनको च्यासलमा लगनखेलका १९ टोलवासीले पाँच फिट अग्लो लिङ्गो ठड्याएर इन्द्रजात्रा पर्व शुरुआत गरिसकिएको भीमसेनबहाल निवासी ७१ वर्षीय सूर्यमान डङ्गोलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “काठको खाटमा काठकै इन्द्रको मूर्ति बनाई च्यासलमा गुभाजु र पुरोहितबाट घण्टी बजाई समयबजी चढाएर पर्व मनाइसकेका छन् ।” सुन्धारामा पनि इन्द्रजात्रा पर्व यसैगरी मनाउने गरिन्छ । पाटनमा सो पर्व चार दिनसम्म मनाइने भएकाले शनिबार भाद्र शुक्ल पूर्णिमाको दिन पाटनको मङ्गलबजार, टङ्गाल र आइतबार साँझ गाःबहालका टोलवासीले इन्द्रजात्रा पर्व मनाउने गर्छन् । इन्द्रका आमाले अष्टमीको व्रत गर्न पारिजातको फूल ल्याउन उहाँलाई आग्रह गरेपछि इन्द्रले पारिजातको फूल देवलोक र पाताललोकमा नपाएर पृथ्वीलोक लिन आएका थिए भन्ने किंवदन्ती छ । पारिजातको फूल खोज्ने क्रममा राजा इन्द्रले एउटा मालीको बगैँचामा सो फूल देखेर टिप्न खोज्दा मालीले चोर भनी समातेर बेइज्जत गरेको भनाइ पनि जनजिब्रोमा छ । छोरा घर नआएपछि इन्द्रकी आमा खोज्दै जाने क्रममा पृथ्वी आइपुगिन् । त्यसबेला रात परिसकेको भएतापनि उनको तेज र शक्तिको प्रभावले पृथ्वी उज्यालो भयो । मालीले सबै कुरा थाहा पाएर आमाछोरालाई समयबजी खुवाएर आरधना गरी माफ मागेको जनश्रुति रहेको छ । त्यसैले पाटनवासीले इन्द्रजात्रा पर्वमा विशेषगरी छोरीचेली बोलाएर समयबजी खुवाउने गरेका छन् । पाटनमा मनाइने यो पर्व काठमाडाँै र भक्तपुरमा मनाइनेभन्दा केही फरक छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter