बिहिबार, १३ बैशाख २०८१

कोटेश्वरका यातायात मजदूरलाई पोशाक

२६ भाद्र २०७६, बिहीबार १२:३६ मा प्रकाशित

काठमाडौँ, २६ भदौ  कोटेश्वर क्षेत्रमा कार्यरत यातायात मजदूरलाई पोशाक र परिचयपत्र वितरण गरिएको छ । अखिल नेपाल यातायात मजदूर सङ्घले आज एक कार्यक्रम गरी यात्रुमैत्री वातावरण निर्माणका लागि त्यस क्षेत्रमा कार्यरत यातायात कर्मचारी तथा मजदूरलाई पोशाक र परिचयपत्र वितरण गरेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले नमूना यातायात निर्माणका लागि पोशाक र परिचयपत्र अनिवार्य लगाउनुपर्नेमा जोड दिनुभयो । परिचयपत्र र पोशाक लगाएसँगै यात्रुले यातायात मजदूरलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने र यसले उनीहरूको जिम्मेवारी बढ्ने उहाँको भनाइ थियो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले उपत्यकालगायत देशभरको सार्वजनिक यातायात क्षेत्र सुधारका लागि परिचयपत्र र पोशाकले सहयोग पु¥याउने अपेक्षा गर्नुभयो । पोशाक र परिचयपत्रको शुरुआतसँगै यात्रुले कसलाई बस भाडा बुझाउने वा बसको सम्बन्धित व्यक्ति को हो भन्ने अन्योल हट्ने उहाँले बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले राजधानीको ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाउन यातायात मजदूरको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभयो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले पूर्वाधार निर्माणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । अखिल नेपाल यातायात मजदूर सङ्घका केन्द्रीय अध्यक्ष सोम तामाङले सरकारले कोटेश्वर क्षेत्रमा हुने ट्राफिक जाम हटाउन विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो । उक्त सङ्घले ट्राफिक प्रहरीको सहकार्यमा यसअघि नयाँ बसपार्क र कलङ्की क्षेत्रमा कार्यरत यातायात कर्मचारी तथा मजदूरलाई पोशाक र परिचयपत्र वितरण गरिसकेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter