बुधबार, १२ बैशाख २०८१

विद्यार्थीलाई विषादी न्यूनीकरण सचेतना अभियान

२५ भाद्र २०७६, बुधबार १३:३३ मा प्रकाशित

काभ्रेपलाञ्चोक, २५ भदौ    पाँचखाल नगरपालिकास्थित माविका विद्यार्थीका लागि तरकारी तथा अन्य बालीमा विषादी प्रयोग न्यूनीकरण सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । लभ ग्रिन नेपाल नामक संस्थाले यस क्षेत्रका सामुदायिक तथा निजी विद्यालयका मावि तहका विद्यार्थीलाई अनाधिकृत विषादी प्रयोग गर्दा मानव स्वास्थ्य तथा कृषि तथा वातावरणमा पर्ने असरबारे भदौ दोस्रो साताबाट सचेतना गराउँदै आएको हो । “पाँचखाल क्षेत्रका सबै मावि तहका विद्यालयका ९ र १० कक्षाका विद्यार्थीलाई कक्षामै विषादीको अनाधिकृत प्रयोगले मानव स्वास्थ्य तथा कृषि पर्यावरण प्रणालीमा पर्ने असरबारे भिडियो, अडियो तथा अन्य प्रस्तुतिबाट जानकारी गराउँदै आएका छौँ”, संस्थाका कार्यकारी निर्देशक नारायण ज्ञवालीले भन्नुभयो । ज्ञवालीका अनुसार यस अभियानअन्तर्गत हाल पाँचखालको पाँच वटा विद्यालयका करीब चार सय विद्यार्थीमा सचेतना कार्यक्रम सञ्चालन गरिएको हो । सरकारी तथा निजीस्तरबाट सञ्चालित विभिन्न सचेतना कार्यक्रमले पाँचखालमा विषादी प्रयोग कम हुँदै गएको तथ्याङ्कले देखाएको छ । पाँचखाल क्षेत्रमा उत्पादित विभिन्न थरीका तरकारीमा विषादीको अवशेषको मात्र परीक्षण गर्दा खानयोग्यभन्दा पनि कम इमिशन रेट भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ३५ देखि ४५ इमिशन रेटसम्म भएका तरकारी खानयोग्य हो । यसैगरी लभ ग्रिन नेपालले आफ्नो एकीकृत दिगो विकास परियोजनाअन्तर्गत पाँचखाल क्षेत्रका कृषकलाई विगत १८ महीनादेखि तरकारीमा विषादी न्यूनीकरण गर्न तथा कम लागतमा तरकारी उत्पादन गर्न एकीकृत शत्रुजीव व्यवस्थापन प्रविधि (आइपिएम) कक्षा सञ्चालन गर्दै आएको छ । जैविक विषादीको माध्यमबाट तरकारी उत्पादन गर्ने उद्देश्यले अगुवा कृषकका लागि आइपिएम प्रविधि सिकाइएको संस्थाका कार्यकारी निर्देशक ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार लभ ग्रिन नेपालको प्राविधिक सहयोगमा पाँचखालमा १७ वटा तीनमहिने कृषक पाठशाला सञ्चालन गरी तरकारी बालीमा आइपिएम प्रविधि सिकाइएको हो । हाल पाँचखाल क्षेत्रमा विशेषगरी बेमौसमी काउली, गोलभेँडा, खुर्सानी र मूला खेती गरिएको छ । मौसमी तथा बेमौसमी तरकारी खेती आईपीएम प्रविधिबाट गर्न सकिने प्रविधि कृषकलाई सिकाइएको संस्थाका समन्वय अधिकृत विमल दुलालले बताउनुभयो । उहाँका अनुसार पछिल्ला वर्षमा पाँचखाल क्षेत्रका तरकारीमा विषादीको मात्रा न्यून हुँदै गएको विभिन्न परीक्षणबाट देखिएको छ । पाँचखाल क्षेत्रमा जैविक विषादी प्रयोग गरी तरकारी उत्पादनतर्फ आकर्षित गर्न कृषक पाठशालाबाट विस्तार तथा न्यून लागतमा स्वस्थ तरकारी उत्पादनमा समेत वृद्धि गर्दै जाने योजना बनाइएको छ । पाँचखालका अगुवा कृषक तेजप्रसाद तिमल्सिनाले आइपिएम प्रविधिबाट तरकारी खेती गर्न सके उत्पादन लागत कम हुने बताउनुभयो । उहाँले भन्नुभयो, “जैविक विषादी आफैँले उत्पादन गर्दा कम लागत र तरकारीमा अन्य खतरनाक प्रकारका विषादी पनि नहुने भएकाले आइपिएम प्रविधि उपयुक्त देखिन्छ ।” कृषक पाठशालामा माटो परीक्षण एवं सुधार तथा जैविक विषादी उत्पादन र प्रयोग गरी तरकारी उत्पादनबारे भिडियो, डकुमेन्ट्रीद्वारा प्रशिक्षण दिइएको छ । जैविक विषादीको प्रयोगबाट उत्पादित तरकारी प्रयोग गर्दा मानव स्वास्थ्य र वातावरणलाई स्वस्थ, स्वच्छ हुने विषयलाई तालीममा जोड दिइएको ज्ञवालीले जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter