मङ्गलबार, ११ बैशाख २०८१

चाप बढेपछि अस्पतालबाट बिरामी फर्कदै

निरा गौतम

२५ भाद्र २०७६, बुधबार १०:५५ मा प्रकाशित

रुपन्देही, २५ भदौ    लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबाट बिरामी फर्किन थालेका छन् । अस्पतालका सबै बेड बिरामीले भरिएपछि उपचारका लागि आएका बिरामी फर्किएर अन्यत्र जान बाध्य भएका हुन् । सरकारी अस्पतालमा डेङ्गु र भाइरल ज्वरोका बिरामीको चाप बढेपछि बिरामी महङ्गो शुल्क तिरेर निजी अस्पताल र क्लिनिकमा जान बाध्य छन् । दम बढेपछि मङ्गलबार लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि आउनुभएकी मुर्गीया निवासी भीमकला भण्डारी बेड नभएपछि फर्किनुभयो । “अस्पतालमा ठाउँ छैन भन्छन्, सबै ज्वरो र डेङ्गुका बिरामी छन् रे”, ह्विलचियरमा छोरासँग अस्पताल आउनुभएकी भण्डारीले भन्नुभयो । बेड अभाव भएपछि कतिपय बिरामीको भुइँमै राखेर उपचार भइएको छ । कपिलवस्तुको महाराजगञ्जबाट नवजात शिशुको उपचारका लागि आउनुभएकी एक दिनकी सुत्केरीले समेत भुइँमै बसेर शिशुको उपचार गराइरहनुभएको छ । “राति बच्चा जन्मिएको हो, मुखबाट आवाज ननिस्किएपछि जचाउन यहाँ ल्याएका हौँ, तर अझै चिकित्सक आएका छैनन्, हामीलाई यही बस्न भनिएको छ”, सुत्केरी आस्मा खातुनले भन्नुभयो । भाइरल ज्वरो र डेङ्गुको सङ्क्रमण बढेपछि अस्पतालको आकस्मिक कक्षमा रहेका सबै बेड बिरामीले भरिएका छन् । ठाउँ अभाव भएपछि आकस्मिक कक्षमा रहेका २४ वटै बेडमा दुईदेखि तीनसम्म बिरामी राखेर उपचार गर्ने काम भइरहेको छ । एउटै बेडमा तीनसम्म बस्नु पर्दा समस्या भएको बिरामीको गुनासो छ । “राम्रोसँग सुत्न मिल्दैन, शरीर दुखेर अडिन सकेको छैन, महिला भएको बेडमा कसरी सुत्नु” डेङ्गुको उपचारका लागि अस्पतालमा भर्ना हुनुभएका बुटवल हाटबजारका रोशन कुमारले भन्नुभयो । ठाउँको अभावले एउटै बेडमा महिला र पुरुष राख्दा झनै समस्या भएको छ । “ज्वरोले शरीर दुखेर बस्न मिलेको छैन, सुत्नलाई ठाउँ पुग्दैन”, अस्पतालमा उपचारका लागि भर्ना हुनुभएकी अर्घाखाँची नरपानीकी अम्बिका पाण्डेले दुखेसो गर्नुभयो । अस्पतालमा दैनिक एक हजार १०० बिरामीले सेवा लिँदै आएका छन् । आकस्मिक कक्षमा मात्रै दैनिक २०० को उपचार हुने गरेको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा कृष्ण खनालले जानकारी दिनुभयो । “अस्पतालमा बिरामीको चाप हँुदा एउटै बेडमा धेरै बिरामी राखेर उपचार गर्न बाध्य छाँै”, डा खनालले भन्नुभयो, “अहिले भाइरल ज्वरोको सङ्क्रमण बढी हँुदा अस्पताललाई बिरामी थेग्न समस्या भएको छ ।” भदौको शुरुआतदेखि जिल्लामा डेङ्गु र भाइरल ज्वरोको प्रकोप बढेपछि लुम्बिनी प्रादेशिक मात्र नभई जिल्लाका सबै अस्पतालमा बिरामीको चाप छ । पछिल्लो एक हप्तामा डेङ्गुको सङ्क्रमण बढेपछि अस्पतालमा बिरामीको चाप झनै बढेको छ । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालसहित बुटवल हस्पिटल प्रालि, गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, क्रिमसन अस्पताल मणिग्राम तथा भैरहवास्थित भीम अस्पताल र मेडिकल कलेजमा बिरामीको चाप बढेको छ । “अस्पतालमा बिरामीको चाप बढी छ, दैनिक ३० देखि ४० भाइरल ज्वरोका बिरामी आउँछन्”, मेडिकल कलेज भैरहवाका प्रबन्धक कमल शर्माले भन्नुभयो । बुटवलका अन्य निजी अस्पतालमा पनि भाइरल ज्वरोका बिरामीहरुको चाप छ । (तस्बीर उपलब्ध छ)

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter