शनिबार, ०८ बैशाख २०८१

विपी कोइराला सच्चा राष्ट्रवादी नेता’

२४ भाद्र २०७६, मंगलवार ११:५७ मा प्रकाशित

काठमाडौँ, २४ भदौ  नेपाली काङ्ग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला सच्चा राष्ट्रवादी नेता भएको बताइएको छ । जननायक विपी कोइरालाको १०६औँ जन्मजयन्ती तथा काङ्ग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानका क्रममा नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क)ले आज यहाँ आयोजना गरेको कार्यक्रममा स्व कोइराला राष्ट्रप्रेमी नेता भएको बताइएको हो । कार्यक्रममा पूर्वमन्त्री एवं काङ्ग्रेसका सांसद भीमसेनदास प्रधानले विपी कोइराला राष्ट्रवादी व्यक्तित्व भएको बताउनुभयो । “मुलुकको पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाबाट देशले पाठ सिक्नुपर्छ”, उहाँले भन्नुभयो । पूर्वरक्षामन्त्री प्रधानले सरकारको कार्यशैलीप्रति नेपाली जनतामा निराशा छाएको बताउनुभयो । दुईतिहाइको सरकारले जनताको इच्छा र चाहनाबमोजिम काम गर्न नसकेको उल्लेख गर्दै उहाँले नेपाली काङ्ग्रेसभित्र जनतामा भन्दा पनि नेतामा जागरण अभियान आवश्यक रहेको बताउनुभयो । काङ्ग्रेस काठमाडौँका सभापति सबुज बानियाँले जिल्ला, प्रदेश र वडामा पार्टीको सङ्गठनलाई ऊर्जाशील बनाउन जागरण अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “कार्यकर्ता नेतासँग भन्दा पनि नेता कार्यकर्तासम्म पुग्ने वातावरण निर्माण नगरेसम्म काङ्ग्रेस बलियो हुन सक्दैन”, उहाँले भन्नुभयो । पार्टीको तर्फबाट जागरण अभियानमा खटिनुभएका केन्द्रीय प्रतिनिधि दयाराम पाण्डेले वडा र गाउँमा काङ्ग्रेस बलियो नभइकन केन्द्रमा बलियो हुन नसक्ने बताउनुभयो । काङ्ग्रेसको सिङ्गो सङ्गठनलाई बलियो बनाउन जागरण अभियानले सहयोग पुग्ने उहाँको भनाइ थियो । काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले विपी कोइराला महान् राजनीतिक व्यक्तित्व भएकाले विपी कोइरालालाई सिङ्गो देशले सम्झनुपर्ने बताउनुभयो । नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क) का सभापति ख्यामराज तिवारी, काङ्ग्रेस काठमाडौँ महानगरपालिका–२६ का सचिव गणेश रिजाललगायतले विपी कोइरालालाई एक दिनमात्र सम्झना गरेर नपुग्ने बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter