शुक्रबार, १६ चैत २०८०

सामुदायिक विद्यालयमा फरक पहिचान बनाउँदै वरुणेश्वर मावि

२३ भाद्र २०७६, सोमबार ११:४६ मा प्रकाशित

पूर्णप्रसाद न्यौपाने ओखलढुङ्गा २३ भदौ  ः ओखलढुङ्गाको वरुणेश्वर माध्यमिक विद्यालय पाँचौँ पटक प्रदेश नं १ कै नमूना विद्यालय बनेको छ । जिल्लाको मोलुङ गाउँपालिका–२ रामपुरको ६८ वर्ष पुरानो विद्यालय पाँचौँ पटक लगातार प्रदेशकै उत्कृष्ट सामुदायिक विद्यालय घोषित भएको हो । विसं २०७१ देखि २०७५ सम्म प्रदेश नं १ का सबै सामुदायिक विद्यालयमध्ये वरुणेश्वर मावि नमूना विद्यालय घोषणा भएर बर्सेनि पुरस्कृत हुँदै आएको छ । आइतबार राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा प्रदेश सरकारले रु दुई लाख नगदसहित सम्मान गरेको छ । मुख्यमन्त्री शेरधन राईले वरुणेश्वर माविका प्रअ कुलप्रसाद खतिवडालाई नगदसहित प्रमाणपत्र दिएर सम्मान गर्नुभएको हो । सङ्घीयता कार्यान्वयन हुनुअघि पूर्वाञ्चलको उत्कृष्ट विद्यालय घोषित भएको र सङ्घीयता कार्यान्वयनपछि लगातार प्रदेशकै नमूना विद्यालय बनेको छ । विद्यालयको कार्यसम्पादन तथा एसइई नतिजा विश्लेषणका आधारमा उत्कृष्ट विद्यालय छनोट गर्ने प्रावधान छ । विगतमा शिक्षा मन्त्रालयले उत्कृष्ट विद्यालय छनोट गर्ने चलन थियो । अहिले राष्ट्रियस्तरका लागि सङ्घीय शिक्षा मन्त्रालय र अन्यलाई प्रदेशको सामाजिक विकास मन्त्रालयले उत्कृष्ट छनोट गरेर पुरस्कृत गर्न थालेको छ । एसइई नतिजा मूल्याङ्कनका आधारमा उत्कृष्ट विद्यालय छानिने भए पनि विद्यालयले सञ्चालन गर्ने विषयगत समूह, विद्यार्थीको सङ्ख्यालगायतका मापदण्ड तोकिएका हुन्छन् । एसइईमा अनिवार्य ४० विद्यार्थी सहभागी भएको हुनुपर्ने, विद्यालय व्यवस्थापन समिति र शिक्षक बैठक वर्षमा १२ पटक बसेको हुनुपर्ने, नियमानुसार सामाजिक परीक्षण गरेको, भौतिक संरचना सबै पक्की भएको हुनुपर्ने लगायतका प्रावधान छन् । विगतमा एसएलसीको चलन हुँदा प्रतिशतमा मापन गरिने नतिजा अहिले उत्कृष्ट जिपिएलाई आधार मानिन्छ । वरुणेश्वर माविले २०७१÷७२ को एसएलसीमा ९८ र २०७३÷७४ मा शत्प्रतिशत नतिजा ल्याएको थियो । अहिले प्रदेशमै सामुदायिक विद्यालयतर्फ एसइईमा उत्कृष्ट जिपिए ल्याएर उत्कृष्ट बन्ने लक्ष्यलाई निरन्तरता दिएको छ । यसअघि ओखलढुङ्गाका कुनै पनि विद्यालयले त्यो पुरस्कार पाएका थिएनन् । देशकै प्रमुख शैक्षिक गन्तव्य बनाउने लक्ष्य पाँचौँ पटक प्रदेशकै उत्कृष्ट सामुदायिक विद्यालय बनेपछि वरुणेश्वर माविका प्रधानाध्यापक खतिवडाले विद्यालयलाई देशकै नमूना बनाउने उद्घोष गर्नुभएको छ । प्रदेश सरकारबाट पुरस्कार ग्रहण गरेपछि खतिवडाले वरुणेश्वर माविलाई देशकै प्रमुख शैक्षिक गन्तव्य बनाउने लक्ष्य सार्वजनिक गर्नुभएको हो । “सामुदायिक विद्यालयको शिक्षा कमजोर छैन, प्रमाणित गरेर आज यो सफलता हासिल गरेका छौँ”, प्रअ खतिवडाले भन्नुभयो, “हाम्रो लक्ष्य यति मात्रै होइन, सबै ठाउँबाट पढ्न वरुणेश्वर मावि जानुपर्छ भन्ने बनाएर देशमै नमूना प्रदर्शन गर्ने लक्ष्य छ ।” कार्यरत शिक्षकको सक्रियता, विद्यालय व्यवस्थापन समितिको कुशल व्यवस्थापन र विद्यार्थीको अथक मिहिनेतले यो सफलता प्राप्त भएको प्रअ खतिवडाले बताउनुभयो । “हामी सबैको सक्रियताले ओखलढुङ्गा जस्तो दुर्गम पहाडी जिल्लाको एउटा सामुदायिक विद्यालयले यो पहिचान बनाउन सफल भएको छ । म सबै पक्षलाई धन्यवाद दिन चाहन्छु”, खतिवडाले भन्नुभयो, “अब यसको साख बचाउनेसँगै विद्यालयलाई थप व्यवस्थित र नमूना बनाउने चुनौती थपिएको छ ।” सामुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण बढाउन आफ्नो विद्यालयको उपलब्धिले हौसला मिल्ने उहाँको भनाइ छ । नमूना संरचना निर्माण धमाधम वरुणेश्वर मावि २०७२ को भूकम्पले क्षतिग्रस्त भयो । अहिले पूरै संरचना नयाँ बनाउने काम भइरहेको छ । एशियाली विकास बैंक (एडिबी) को सहयोगमा २४ कोठे दुई वटा पक्की भवन, छात्रा तथा बालमैत्री छकोठे शौचालय, ५० जनाको क्षमता भएको छकोठे छात्राबास र दुईकोठे चमेनागृह निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नमूना विद्यालयको संरचना अरू विद्यालयभन्दा फरक हुनुपर्ने भएकाले प्रशासकीय भवन, पुस्तकालय, प्रयोगशाला, व्यवस्थित बहुउद्देश्यीय हल, कला संस्कृतिको जगेर्ना गर्न सङ्ग्रहालय, बगैँचासहितको संरचना निर्माण भइरहेको छ । वरुणेश्वर माविको इतिहास र अवस्था वरुणेश्वर मावि २००८ सालमा अनौपचारिक शिक्षा प्रदान गर्नेगरी स्थापना भएको थियो । विसं २०१४ मा मिडिल स्कुल सञ्चालन शुरु भएको उक्त विद्यालयले २०२४ सालमा मावि तह सञ्चालन गरेर २०२५ सालमा एसएलसी दिने मान्यता पाएको थियो । विसं २०५० देखि कक्षा १२ सम्म अध्ययनको अनुमति लिएको वरुणेश्वर माविले २०७२ सालबाट प्राविधिक धारका कक्षाहरु सञ्चालन गर्दै आएको छ । अहिले साबिकको विद्यालय संरचनाअनुसार प्राविमा सात, निमाविमा सात र माविमा सात तथा उमाविमा चार शिक्षक कार्यरत छन् । त्यसबाहेक प्राविधिक धारका पाँच, बालविकास सहयोगी शिक्षक चार, विद्यालय कर्मचारी चार र निजी दुई शिक्षक कार्यरत छन् । वरुणेश्वर माविमा प्राविधिक समूहतर्फ कक्षा ९ देखि १२ सम्म पशु विज्ञान पढाइ हुन्छ । विद्यालयले कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी सङ्कायको शिक्षा दिइरहेको छ । आगामी वर्षदेखि नर्सिङ कक्षा सञ्चालन गर्ने योजना रहेको विद्यालयले जनाएको छ । सुस्त श्रवण कक्षासहितका विशेष कक्षा पनि सञ्चालनमा छन् । बालविकासदेखि कक्षा ५ सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराइँदै आएको छ । वरुणेश्वर माविमा अहिले आठ सयभन्दा बढी छात्रछात्रा अध्ययनरत छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter