बिहिबार, १३ बैशाख २०८१

ऐतिहासिक मन्दिरको पुनर्निर्माण अन्तिम चरणमा

२२ भाद्र २०७६, आईतवार १२:२३ मा प्रकाशित

दमौली, २२ भदौ  तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित निकै पुरानो ऐतिहासिक एवं धार्मिकस्थल अकलादेवी मन्दिरको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । समितिको आन्तरिक कोषको रकमबाट गत जेठ १८ गतेदेखि शुरु भएको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको हो । आगामी महीनाको फूलपातीको दिन उद्घाटन गर्ने गरी मन्दिरको काम तीव्र रुपमा भइरहेको मन्दिर निर्माण समितिका संयोजक रामभक्त घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनुसार छ तल्लाको मन्दिरमध्ये चार तल्लाको ढलानको काम सम्पन्न भएको छ । “अहिलेसम्म भइरहेको कामको गति हेर्दा दशैँको फूलपातीसम्म मन्दिर पुनर्निर्माण सम्पन्न हुने अनुमान गरेका छौँ,” घिमिरेले भन्नुभयो । घिमिरेका अनुसार अकलादेवी मन्दिरको स्वरुप ललितपुरस्थित सन्तानेश्वर मन्दिरको जस्तै आकारमा निर्माण गरिएको छ । पुनर्निर्माण शुरु गर्दा रु ६३ लाख लागत अनुमान गरिए पनि मन्दिरको आकार थोरै परिवर्तन भएकाले लागत बढ्ने घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनुसार मन्दिर पुनर्निर्माणका लागि म्याग्दे गाउँपालिकाले रु ४० लाख सहयोग गर्ने वचन दिएको छ । पुनर्निर्माण सम्पन्न भएलगत्तै मन्दिरमा तामाको छानो छाउने र ढोका÷झ्यालहरुमा टुँडाल राखिनेछ । “३२ फिट उचाइ हुने मन्दिर पुनर्निर्माण सम्पन्न भएपछि निकै आकर्षक देखिनेछ,” घिमिरेले भन्नुभयो । मन्दिर पुनर्निर्माणका लागि भनेर समितिले केही समय अगाडि महायज्ञको आयोजना गरेको थियो । उक्त महायज्ञमा करीब रु एक करोड दान सङ्कलन भएको थियो । मन्दिर व्यवस्थापन समितिले मन्दिरको डिपिआर तयार गरी भजनकीर्तन भवन, पाटीहरु गोलाकार शैलीमा निर्माण गर्ने योजना बनाएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मीनबहादुर बराई मगरले जानकारी दिनुभयो । मन्दिर क्षेत्रमा वनभोजस्थल पनि निर्माण गर्ने योजना छ । “मन्दिरको विकासका लागि गुरुयोजना निर्माण गरेर अगाडि बढेका छौँ, मन्दिरको सर्वाङ्गीण विकासका लागि डिपिआरसमेत तयार भएको छ । डिपिआरबमोजिम मन्दिर क्षेत्रमा पूर्वाधार निर्माणका लागि रु चार करोड बजेट आवश्यक पर्ने देखिएको छ,” उहाँले भन्नुभयो । अकलादेवी खुशी भएको बेला मन्दिरभित्र रहेको घण्ट आफैँ हल्लिने र बज्ने गरेको स्थानीयवासीको भनाइ छ । देवी प्रसन्न भएको अवस्थामा रातिको समयमा घण्ट बज्ने गरेको स्थानीयवासी बालहरि घिमिरेले बताउनुभयो । विसं २०४२ देखि मन्दिरमा शङ्ख र घण्ट बजेको सुनिन थालेको स्थानीयवासी बताउँछन् । मन्दिरमा नौ वर्षदेखि पुजारीका रुपमा कार्यरत टोपबहादुर सारुले देवीको शक्तिका कारण मन्दिरमा रहेको घण्ट आफँै हल्लिने गरेको बताउनुभयो । उहाँका अनुसार मन्दिरमा दैनिक ५०÷६० जना भक्तजन पूजाआजाका लागि आउने गर्दछन् । विसं २०५५ मा मन्दिरमा योगी नरहरिनाथले ८५औँ कोटी होम लगाउनुभएको थियो । यस क्षेत्रमा धार्मिक शक्ति भएको कारणले नरहरिनाथले यहाँ कोटी होम लगाएको स्थानीयवासी बताउँछन् । अकला मन्दिरको बाहिर पुरानो आदिकालदेखिको सिंह र नन्दिनी अर्थात् साँढेको स्तम्भ छ । मन्दिर नजीकै पञ्चबलि दिने स्थान र हवन कुण्ड पनि छ । अकलादेवी मन्दिरको दक्षिण पश्चिममा रुद्रदेवीको मन्दिर छ । अकलादेवी र रुद्रदेवीको महिमाका लागि वर्षमा चार वटा रुद्री लगाउने गरिन्छ । यस ठाउँमा हरेक वर्ष वैशाख, साउन, कात्तिक र माघमा रुद्री लगाउने प्रचलन रहिआएको छ । (तस्वीर उपलब्ध छ)

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter