शुक्रबार, ०७ बैशाख २०८१

खसी बोका खरीद बिक्री केन्द्र स्थापना

२२ भाद्र २०७६, आईतवार ११:०७ मा प्रकाशित

मुग्लिन, २२ भदौ  चितवनको इच्छाकामना गाउँपालिकामा खसी बोका खरीद बिक्री केन्द्र स्थापना गरिएको छ । वडा नं ६ मा रहेको चण्डिभञ्ज्याङ महिला उद्यमी सहकारी संस्था लिमिटेडले किसानहरुको सहजताका लागि मुग्लिन नजिकै कालिखोलामा पहिलोपटक खसीबोका खरीद बिक्री केन्द्रको स्थापना गरेको हो । केन्द्रको शनिबार इच्छाकामना गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । उहाँले गुणस्तरीय उत्पादन गर्न सकेमा बजारीकरणको समस्या नहुने र किसानले पनि आफ्नो उत्पादनको मूल्य राम्रो लिन सक्ने भएकाले व्यावसायिक बाख्रापालन गर्ने किसानका लागि गाउँपालिकाले अनुदान उपलब्ध गराउँदै आएको बताउनुभयो । विभिन्न संस्थासँगको साझेदारीमा रु पाँच लाख ५० हजार खर्च गरी खसी बोका खरीद बिक्री केन्द्र निर्माण गरिएको महिला उद्यमी सहकारी संस्था लिमिटेडका अध्यक्ष रश्मी गुरुङले जानकारी दिनुभयो । गुरुङका अनुसार खसी बोका बिक्री केन्द्र निर्माणका लागि इच्छाकामना गाउँपालिकाको रु दुई लाख ५० हजार, हेफर इन्टरनेशनलको रु दुई लाख र सहकारीको रु एक लाख लगानी परेको छ । खसी बोका खरीद बिक्री केन्द्रको सञ्चालनसँगै किसानको उत्पादनलाई बजारीकरणमा सहजता हुने र किसानले पनि राम्रो मूल्य पाउने अपेक्षा गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । यसैबीच सहकारीले निर्माण गरेको खसीबोका खरीद बिक्री केन्द्रको उद्घाटनको पहिलो दिन शनिबार करीब ६१ खसी बोका बिक्री भएको र सोबाट करीब रु नौ लाख कारोबार भएको छ । केन्द्रमा ४० किलोभन्दा माथिको खसी बोकाको रु ५०० प्रतिकिलो, ३० देखि ४० किलोसम्मको रु ४७० र २० देखि ३० किलोसम्मको रु ४५० प्रतिकिलो बिक्री मूल्य निर्धारण गरिएको छ । यहाँका अधिकांश किसानले खेतीपातीसँगै आर्थिक आम्दानीका लागि बाख्रापालन पनि गर्दै आएका छन् । खसी बोका खरीद बिक्री सङ्कलन केन्द्र निर्माण भएपछि किसानलाई सहजता भएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter