बिहिबार, १३ बैशाख २०८१

जग्गामा महिलाको स्वामित्व बढ्दै

२० भाद्र २०७६, शुक्रबार १२:०७ मा प्रकाशित

सल्यान, २० भदौ  सल्यानमा घर जग्गामा महिलाको स्वामित्व क्रमशः बढ्दै गएको छ । सरकारले महिला, दलित र ज्येष्ठ नागरिकका नाममा घरजग्गा पास गर्दा राजश्वमा छुट दिन थालेपछि उनीहरुको स्वामित्व बढ्दै गएको हो । महिला, दलितलाई घरजग्गा रजिष्ट्रेशन पास गर्दा २५ देखि ३० प्रतिशतसम्म छुट दिने व्यवस्था छ । महिलाका नाममा घरजग्गाको स्वामित्व बढाउने उद्देश्यले सरकारले महिलाको नाममा स्वामित्व दर्ता गर्दा लाग्ने राजश्वमा ३० प्रतिशतसम्म छुट दिँदै आइरहेको छ । जिल्लामा महिलाका नाममा रजिष्ट्रेशन पास गर्नेको सङ्ख्यामा वृद्धि हँुदै गएको मालपोत कार्यालय सल्यानले जनाएको छ । राजश्व छुट पाउने भएपछि वर्षेनी २० देखि ३० प्रतिशतसम्मले महिलाको नाममा घरजग्गाको स्वामित्व दर्तामा वृद्धि भएको कार्यालयका खरिदार दीपक बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्ष २०७५÷७६ मा एक हजार ४०० महिलाका नाममा घरजग्गा दर्ता भएको छ । ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रका महिलाको नाममा घरजग्गा दर्ता हुने क्रम बढी देखिएको छ । गत आर्थिक वर्षमा शहरी क्षेत्रका ८०० र ग्रामीण क्षेत्रका ६०० गरी कूल एक हजार ४०० महिलाको नाममा घरजग्गा दर्ता हुँदा रु २७ लाख २७ हजार ८६८ छुट दिइएको बुढाथोकीले जानकारी दिनुभयो । घरजग्गाको स्वामित्व लिने दलित महिलामा पनि शहरी क्षेत्रमा बढी छन् । शहरी क्षेत्रमा ३३२ र ग्रामीण क्षेत्रमा १६९ दलित महिलाले घरजग्गाको स्वामित्व लिएका छन् । सल्यानमा महिला, दलित, अपाङ्ग गरी एक हजार ९०२ ले घरजग्गा रजिष्ट्रेशन पास गराएका छन् । जसबाट रु ३२ लाख ३० हजार ४२९ छुट पाएकोे मालपोत कार्यालय सल्यानले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter