बिहिबार, १३ बैशाख २०८१

बलात्कारको घटना मिलाउन बसेको पञ्चायतमै झडप

२० भाद्र २०७६, शुक्रबार ११:३६ मा प्रकाशित

जलेश्वर, २० भदौ  बलात्कारको प्रयासको घटना मिलाउन महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा बसेको पञ्चायतमै दुई समूहबीच झडप भएको छ । सोनमा गाउँपालिका–६ मगरथाना गाउँमा गत सोमबार एक महिलाको घरमा दुई पुरुष पसेर सामूहिक बलात्कार गर्न खोज्दा सो महिलाले गुहार माग्दै चिच्याउन थालेपछि ती दुवै पुरुष भागेका थिए । तर, ती महिलाले दुवै पुरुषलाई चिनेकी थिइन् भने उनले राति स्थानीय विभिन्न व्यक्तिलाई घटनाबारे जानकारी गराउँदै भोलिपल्ट आफूलाई सामूहिक बलात्कारको प्रयास गर्न खोजेका स्थानीयवासी जासिम नदाफ र नसिर नदाफमाथि प्रहरी चौकी मगरथानामा निवेदन दिएकी थिइन् । पीडित महिलाको निवेदनपश्चात स्थानीय राजनीतिकर्मी, भद्रभलाद्मीलगायतकाले गाउँको कुरो गाउँमै मिलाउनुपर्छ भन्दै बिहीबार प्रहरी चौकी मगरथानामा पञ्चायत बसेका थिए । छलफलका क्रममा पीडित र पीडकका पक्षधरबीच झडप भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको थियो । झडपमा दुवै पक्षका व्यक्तिमाथि सामान्य हातपात भएको थियो । प्रहरी कार्यालयमै निःशुल्क जाहेरी सेवाग्राहीलाई सुविधा पुग्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय महोत्तरीले आजदेखि प्रहरी कार्यालयमै निःशुल्क जाहेरी लेख्ने व्यवस्था मिलाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले पीडितलाई यसअघि सामान्य घटनामा निवेदन लेखिदिएर आवश्यक सहयोग गर्दै आएकामा बिहीबारदेखि निःशुल्क जाहेरीसमेत लेख्न शुरु गरेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो । प्रहरी कार्यालय बाहिर निवेदन र जाहेरी लेख्नेहरुले चर्को रकम असुल्ने गरेको जानकारी आएपछि जिल्ला प्रहरी कार्यालयमा निःशुल्क निवेदन र जाहेरी लेख्ने व्यवस्था मिलाइएको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । जिल्लाको १० नगरपालिका र पाँच गाउँपालिकाबाट न्यायका लागि जिल्ला प्रहरीसम्म आउने पीडित अधिकांश गरीब, विपन्न नै हुने गरेको र उनीहरु निवेदन र जाहेरी लेखाउनमै पनि चर्को मूल्य तिरेर ठगिनुपरेको थाहा पाएर अबदेखि प्रहरी कार्यालयमै जाहेरी लेखिदिने व्यवस्था मिलाएको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । प्रहरी कार्यालयको यो व्यवस्थाबाट अब बाहिर चर्को र मनोमानी ढङ्गले निवेदन र जाहेरी लेखेवापत पैसा लिने गरेको समस्याबाट पीडितहरुले मुक्ति पाउने उहाँको दाबी छ । डुबेर बालिकाको मृत्यु महोत्तरी जिल्लाको सम्सी गाउँपालिका–१ पर्साटोलमा खाल्डोको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाउँपालिका–१ पर्साटोल बस्ने प्रमोद महतोकी छ वर्षीया छोरी चाँदनीकुमारी महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताउनुभयो । घर नजिकै रहेको मरहाखोलाको डिलमा खेलिरहेकी ती बालिकाको सोही खोलाले किनारमै बनाएको खाल्डोमा रहेको पानीमा डुबेर बिहीबार मृत्यु भएको उहाँले बताउनुभयो । मृतक बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter