बिहिबार, ०६ बैशाख २०८१

धान बालीमा रोग

१८ भाद्र २०७६, बुधबार १४:०४ मा प्रकाशित

लमही, १८ भदौ  जिल्लामा किसानले लगाएको धान बालीमा विभिन्न खाले रोग देखापरेको छ । धानमा गबारो, ब्लास्ट, खैरारोग देखापरेपछि किसान चिन्तित भएका छन् । धानमा रोग देखा परेपछि किसान उत्पादन घट्ने चिन्तामा छन् । “गबारो रोगले धान बाली सखाप पार्न थाल्यो”, तुलसीपुर उपमहानगरपालिका–१७ मानपुरका कमला वलीले भन्नुभयो । धान बालीमा रोग देखिएपछि किसान तुलसीपुरका विभिन्न एग्रोभेटमा र कृषि विकास शाखामा समस्या लिएर आउने गरेका छन् । दैनिक ८÷१० जना कृषक धानको बोट बोकेर आउन गरेको तुलसीपुरस्थित एग्रो नेपाल प्रालिका प्राविधिक माधव केसीले जानकारी दिनुभयो । त्यस्तै तुलसीपुर उपमहानगरपालिका कृषि विकास शाखामा पनि किसान दैनिक यस्तै समस्या लिएर आउने गरेको कृषि प्राविधिक कुलराज चौधरीले जानकारी दिनुभयो । “धेरैजसो किसानको धानमा गबारो, ब्लाष्ट रोग देखा परेको छ”, प्राविधिक चौधरीले भन्नुभयो । जिल्लाका बबई, शान्तिनगर, दङ्गीशरण गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाका विभिन्न ठाउँमा धान बालीमा विभिन्न रोग रोग देखिएको छ । त्यस्तै रोगको प्रकृति हेरेर औषधि प्रयोग गर्न सुझाव दिएको प्राविधिक बताउँछन् । धेरैजसो हाइब्रिड जातको धानमा सो रोग देखापरेको छ । प्राविधिक चौधरीले भन्नुभयो, “यस वर्ष प्राप्त मात्रामा वर्षात् हुन सकेको छैन त्यस कारणले पनि रोगको समस्या देखिएको छ ।” धान बालीमा लागेको रोग समयमै उपचार गरे हट्ने बताइएको छ । धान बालीमा ब्लास्ट रोगका लागि ‘हेक्जाकोनाजोल’ र गबारोका लागि ‘कोलेरो पाइरिफस्ट’ वा ‘साइपरमेथ्रिन’ साँझ वा बिहान प्रयोग गर्न सल्लाह दिएको प्राविधिक चौधरीले जानकारी दिनुभयो । त्यस्तै मकै बालीमा डाँठ कुहिने रोग देखापरेको छ । धेरैजसो रातो माटो भएको स्थानमा यस्तो समस्या देखिएको बताइएको छ । समाधानका लागि बाली लगाउनुपूर्व माटोको उपचार गर्नुपर्ने प्राविधिकले सुझाव दिएका छन् । जिल्लामा करीब २३ हजार हेक्टरमा मकै बाली र ३६ हजार हेक्टरमा धान खेती गरिएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter