बिहिबार, १५ चैत २०८०

जापान रोजगारीः कात्तिकमा परीक्षा

१७ भाद्र २०७६, मंगलवार १४:२७ मा प्रकाशित

काठमाडौँ, १७ भदौ  जापान सरकारले औपचारिक रुपमा आप्रवासी कामदार भित्र्याउने प्रक्रिया शुरु गरेको छ । जापान सरकारले यसअघि नै विभिन्न १४ क्षेत्रमा नेपाललगायत नौ देशबाट विदेशी कामदार भित्र्याउने घोषणा गरेको थियो । पहिलो चरणमा जापानले केयर गिभरमा कामदार लैजाने तयारी गरेको हो । जापानमा रोजगारीका लागि योग्य हुन जापानी भाषा तथा सीप परीक्षा उतीर्ण गर्नुपर्ने छ । ‘स्पेसिफाइड स्किल्ड वर्कश’ अन्तर्गत जापानमा नर्सि¬ङ केयर गिभरमा जान चाहनेले नर्सिङ केयर र जापानी भाषा परीक्षा उतीर्ण गर्नुपर्ने जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ । नर्सिङ केयर गिभरमा जापान जान चाहनेले ‘नर्सिङ केयर स्किल इभ्यालुएसन टेस्ट’ अन्तर्गत ६० मिनेटमा ४५ वटा प्रश्नको लिखित उत्तर दिनुपर्नेछ । जसमा ‘फन्डामेल्टल अफ केयर’को १०, ‘मेकानिज्म अफ द माइन्ड एण्ड बडी’ को ६, ‘कम्युनिकेशन स्किल’ को ४, ‘फिजिकल केयर’ को २० र प्रयोगात्मक अभ्यास अन्तर्गत पाँच वटा प्रश्नको उत्तर दिनुपर्नेछ । प्रयोगात्मक परीक्षा कम्प्युटर प्रणाली (सिबिटी) माध्यमबाट दिनुपर्नेछ । यसैगरी परीक्षार्थीले ‘नर्सिङ केयर जापानीज ल्याङ्ग्वेज इभ्यालुएसन टेस्ट’ अन्तर्गत ३० मिनेटमा १५ वटा प्रश्नको उत्तर दिनुपर्नेछ । जसमा ‘टेक्निकल टम्र्स अफ केयर’ ५, ‘कम्युनिकेशन अफ केयर’ ५ र ‘डकुमेन्ट अफ केयर’को ५ गरी १५ अङ्कको भाषा परीक्षा दिनुपर्नेछ । भाषा र सीप परीक्षाका लागि एक हजार जापानी येन दस्तुर बुझाउनुपर्ने उल्लेख गरिएको छ । परीक्षा सम्पन्न भएको एक महीनापछि नतिजा सार्वजनिक हुनेछ । कम्तीमा ६० प्रतिशत अङ्क प्राप्त गर्ने परीक्षामा उतीर्ण हुने जापानी श्रम मन्त्रालयले जनाएको छ । कात्तिक १० देखि १२, १९ देखि २१ र २६ देखि २८ गतेसम्म परीक्षा सञ्चालन हुनेछ । परीक्षाका लागि कसरी आवेदन गर्ने भन्ने बारेमा आगामी असोज १५ गतेभित्र जानकारी दिइने बताइएको छ । नेपाल सरकार र जापान सरकारबीच गत चैत ११ गते नेपाली श्रमिक पठाउने सम्बन्धी ‘सहयोग समझदारी’ (एमओसी)मा हस्ताक्षर भएको थियो । जापानले १४ वटा कार्यक्षेत्रमा विदेशी श्रमिक भित्र्याउने नीति अख्तियार गरेको छ । जापानले कृषि, नर्सिङ केयर, सवारी सधान मर्मतसम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ र पेय पदार्थको उत्पादन, आवास उद्योग, मेशिनरी पार्ट उद्योग, माछा मार्ने र माछापालन उद्योग, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योग, बिल्डिङ सरसफाइ व्यवस्थापन, जहाज र जहाज पाटपूर्जा उद्योग एवं हवाई उद्योगमा श्रमिक लिने जनाएको छ । नेपाली श्रमिकलाई १४ वटै कार्यक्षेत्रमा खुला गरिएको भए तापनि कुन कुन क्षेत्रमा के कति सङ्ख्यामा नेपाली श्रमिकको माग हुने हो भन्ने विषय निश्चत हुनु बाँकी रहेको श्रम मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter