बिहिबार, ०६ बैशाख २०८१

पुस्तकालयमा पाठक अभाव

१६ भाद्र २०७६, सोमबार १३:०८ मा प्रकाशित

धु्रवसागर शर्मा गलेश्वर, १६ भदौ  ः म्याग्दीको सदरमुकाम बेनीमा अवस्थित म्याग्दी पुस्तकालय चिटिक्क र सफा छ । विभिन्न विधाका करीब १२ हजारको हाराहारीमा पुस्तकहरु छन् । दु्रत गतिको इन्टरनेटसहित डिजिटल प्रविधि (ई–लाइब्रेरी)का लागि तीनवटा कम्प्युटरसमेत छन् । पाठकलाई शुद्ध खानेपानीसहित शान्त वातावरणमा अध्ययन गर्ने टेबुल, कुर्चीको व्यवस्था छ । ज्ञानको भण्डार एउटा पुस्तकालयभित्र आवश्यक पर्ने सम्पूर्ण सुविधा भए पनि पुस्तकालयमा पाठकको कमी छ । दैनिक मुस्किलले पाँच जनाले मात्र पुस्तक पढ्ने गरेको पुस्तकालयको अभिलेखमा उल्लेख छ । पुस्तकालयमा प्रवेश गर्दावित्तिकै पुस्तक राखेको ¥याकमा समेत नपुगी अधिकांशले वाइफाईको पासवर्ड मागेर घण्टौँसम्म सामाजिक सञ्जालमै व्यस्त हुने गरेको पुस्तकालयका कर्मचारी अतुल राजभण्डारीले बताउनुभयो । “पुस्तकालयमा आउने अधिकांश इन्टरनेटको प्रयोग गर्न आउछन्, केहीले पुस्तक घरमा लैजान्छन्”, राजभण्डारीले भन्नुभयो । उहाँका अनुसार निजी तथा सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थीले हाजिरीजवाफसहित अन्य विभिन्न प्रतियोगितालाई आवश्यक पुस्तक मात्र खोज्न आउने गर्दछन् । नयाँ पुस्ताका पाठक इन्टरनेटमै झुण्डिने गरेकाले पुस्तकालयको प्रयोग घट्दै गएको म्याग्दी पुस्तकालयका अध्यक्ष सन्तोष रावलको भनाइ छ । करीब एक दशक अगाडिसम्म दैनिक पुस्तकालयमा २५ जनाभन्दा धेरै पाठक प्रवेश गर्ने गरेको बताउँदै नयाँ पुस्तामा पढ्ने रुची ह्वात्तै घटेको उहाँले बताउनुभयो । अध्यक्ष रावलले पुस्तकालयमा बाल सामग्रीदेखि धार्मिक, साहित्यिक, अङ्ग्रेजी, हिन्दीसहित विभिन्न विधाका पुस्तक राखिएको कक्षबाहेक श्रव्य, दृश्य, सङ्गीत, खेलकूदका सामग्री पनि उपलब्ध रहेको जानकारी दिनुभयो । दोस्रो तलाको दुई वटा कोठा एनआईसी एशिया बैंकको विस्तारित काउन्टर र भुइँतला भाडामा दिइएको छ । घरभाडाबाटै प्राप्त आम्दानीले पुस्तकालय सञ्चालन, दुईजना कर्मचारीको तलब, बिजुली, इन्टरनेट शुल्क, नयाँ पुस्तक तथा मर्मत खर्च गरिने अध्यक्ष रावलले बताउनुभयो । विसं २०२७ मा स्थापना भएको म्याग्दी पुस्तकालय २०६० साल चैत्र ७ गते तत्कालीन माओवादीले बेनी आक्रमण गर्दा भवनसहित पुस्तक जलेर नष्ट भएको थियो । तत्कालीन समयमा १७ लाख बराबरका क्षति भएपछि पुस्तकालयलाई रुम टु रिड नेपालसहित विभिन्न निकायको सहयोगमा सञ्चालनमा ल्याइएको थियो । बाह्रौँ पुस्तकालय दिवसको अवसरमा समेत प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले पाठक घट्नु चिन्ताको विषय भएको बताउनुभयो । शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख दलबहादुर थापाले पठनबानीको विकासका लागि म्याग्दीमा रुम टु रिड नेपाल र ईएलआर परियोजनामार्फत सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गरिएको जानकारी दिनुभयो । उहाँले पुस्तकालयको प्रयोग गर्ने विद्यार्थीको शैक्षिक गुणस्तरमा समेत व्यापक सुधार आएको बताउँदै पुस्तकालयको नियमित प्रयोग गर्ने गरी निर्धारण गरिएको घण्टी तालिकाअनुसार प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो । जिल्लाको धवलागिरी गाउँपालिका¬–७ ताकममा रहेको जिल्लाकै पुरानो अन्नपूर्ण पुस्तकालयसमेत प्रयोगविहीन अवस्थामा छ । म्याग्दी कारागारमा ‘कर्नर लाइब्रेरी’ बेनी नगरपालिका¬–२ मा अवस्थित म्याग्दी कारागारमा कैदी बन्दीलाई लक्षित गरी स्थापना गरिएको कर्नर लाइबे्ररीको प्रयोग सामान्य छ । कैदीबन्दीको चाहनाअनुसार साप्ताहिक रुपमा फेरिने निबन्ध, संस्मरण, जीवनी, कथा, उपन्यासलगायतका विधाका पुस्तकलाई सजाएर राखिएको छ । जेललाई सुधारगृहको रुपमा रुपान्तरण गर्ने सरकारी अभियानअन्तर्गत जिल्ला प्रशासन कार्यालय र प्रहरीसँग समन्वय गरी म्याग्दी पुस्तकालयले उक्त व्यवस्था मिलाएको हो । फुर्सदको समयमा कैदीबन्दीले सीपमूलक रोजगारसँगै पुस्तक पढ्ने गरेको जेलर रामचन्द्र शर्माले बताउनुभयो । “पुस्तकालयले सकारात्मक सोचको विकास गरेको छ, आश्वयक पुस्तक उपलब्ध गराउन सकिन्छ”, शर्माले भन्नुभयो । कैदी बन्दीहरुलाई पुस्तक पढ्न प्रेरित गर्ने विभिन्न समयमा कार्यक्रमसमेत हुने गरेको छ । जेलभित्रको पठन विकासमा सहयोग गर्ने पुस्तकालयबाट कर्मचारीले पुस्तक परिवर्तन र माग अनुसारको पुस्तक बजारबाट उपलब्ध गराउने गरेको जनाइएको छ । केही कैदीबन्दीले आयआर्जनका पुस्तक माग गरेको म्याग्दी पुस्तकायले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter