शुक्रबार, १६ चैत २०८०

एक विद्यालय एक नर्स कार्यक्रमले पूर्णता पाउँदै

१३ भाद्र २०७६, शुक्रबार १६:४७ मा प्रकाशित

मकवानपुर, १३ भदौ  प्रदेश नं ३ का केही विद्यालयमा परीक्षणको रूपमा सञ्चालन गरिएको एक विद्यालय एक नर्स कार्यक्रम प्रदेशका ११९ स्थानीय तहमा लागू गरिने भएको छ । प्रदेश नं ३ सरकारले निकै महत्वका साथ गत वर्ष ‘पाइलट प्रोजेक्ट’ को रूपमा परीक्षणस्वरुप शुरु गरेको कार्यक्रममा विभिन्न १८ विद्यालयमा सञ्चालन भइरहेको छ । प्रत्येक स्थानीय तहमा एक÷एक जनाको दरले १३ वटै जिल्लाका स्थानीय तहका लागि नर्स नियुक्ति गर्न प्रदेशको सामाजिक विकास मन्त्रालयले विज्ञापन आह्वान गरेको हो । यसअघि १८ जना नियुक्त भइसकेको अवस्थामा थप १०१ स्वास्थ्य परिचारिका नर्सका लागि मन्त्रालयले विज्ञापन अह्वान गरेको बताइएको छ । एक स्थानीय तह एक मात्र नभएर आगामी दिनमा मन्त्रालयले प्रत्येक सामुदायिक विद्यालयमा एक नर्स नियुक्त गर्ने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ । विद्यालयमा नियुक्तिपछि नर्सहरुले विद्यार्थीलाई स्वास्थ्य सेवा प्रदान गर्नुका साथै विद्यार्थीलाई स्वस्थ्य जीवनशैली तथा सरसफाइलगायत स्वच्छ वातावरण निर्माणका लागि उत्प्रेरित गर्नेछन् । साथै विद्यार्थीमार्फत समुदायमा स्वास्थ्यसम्बन्धी जनचेतनाको काम गराउने र बालिका, किशोरीमा देखिने विभिन्न समस्याको निगरानी गर्ने, उपचारमा सहयोग गर्ने तथा स्वास्थ्य शिक्षा प्रदान गर्ने प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका गोपाल बजगार्इँले जानकारी दिनुभयो । चेपाङ छात्राबास निर्माण हुने मकवानपुरको विकट चेपाङ बस्तीमा छात्राबास निर्माण हुने भएको छ । सिमान्तकृत जातिको रुपमा रहेको चेपाङ जातिको बाहुल्य मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा घण्टौँ धाएर विद्यालय आउने विद्यार्थीलाई लक्षित गरेर छात्राबास निर्माण गरिन लागेको हो । राक्सिराङ–६, सिलिङ्गेस्थित राष्ट्रिय माध्यामिक विद्यालयको छात्राबास निर्माणका लागि ३ कठ्ठा जग्गासमेत खरीद गरिसकेको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो । “खासगरी वडाध्यक्ष, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय जनसमुदायको अगुवाइमा काम भइरहेको छ”, उहाँले भन्नुभयो । छात्राबास निर्माणमा गाउँपालिकाले पूर्ण सहयोग गर्ने अध्यक्ष मल्लकोे भनाइ छ । छात्राबास निर्माणका लागि आवश्यक जग्गा खरीद गर्न राक्सिराङ वडा नं ६ का वडाध्यक्ष सिंहलाल चेपाङले आफ्नो छ महीना बराबरको वेतनसमेत हस्तान्तरण गर्नुभएको छ । राष्ट्रिय माध्यामिक विद्यालयको छात्राबास भवन निर्माणका लागि जग्गा खरीद गर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोतीराम चेपाङलाई रकम हस्तान्तरण गर्नुभएको स्थानीय युवा समाजसेवी प्रशान्त चेपाङले जानकारी दिनुभयो । छात्राबास निर्माणमा व्यक्तिगत लगानी गर्ने वडाध्यक्ष चेपाङले यसअघि सरकारले उपलब्ध गरेको मोटरसाइकल नलिएर स्वास्थ्यचौकी वा प्रहरी चौकीलाई हस्तान्तरण गर्न अनुरोध गर्नुभएको थियो । सरकारले आफूलाई उपलब्ध गराएको तलब तथा भत्ता कुनै न कुनै हिसाबले सामाजिक कार्यमा खर्चने बताउने वडाध्यक्ष चेपाङलाई सम्मानसमेत गरिएको छ । पूर्व संविधानसभा सदस्य गोविन्दराम चेपाङले फूलमाला र दोसल्ला ओढाएर सम्मान गर्दै वडाध्यक्षको सहयोगले घण्टौँ हिँडेर विद्यालय आउनुपर्ने बाध्यता रहेका विद्यार्थीलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले वडाध्यक्षको लगाव र जग्गा खरीदका लागि आर्थिक सहयोग समेतका लागि धन्यावाद ज्ञापन गर्नुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter