बिहिबार, १५ चैत २०८०

पाँचथरमा शुरु भयो ‘म अघि बढ्छु’ कार्यक्रम

रवीन्द्र काफ्ले

१२ भाद्र २०७६, बिहीबार १०:३४ मा प्रकाशित

फिदिम, १२ भदौ    किशोर–किशोरीलाई सचेत तुल्याई सबल नागरिक बनाउने लक्ष्यका साथ प्रदेश नं १ मा शुरु भएको ‘म अघि बढ्छु’ कार्यक्रम पाँचथरमा समेत शुरु भएको छ । लागुऔषध दुव्र्यसनबाट युवा जमातलाई मुक्त राख्ने, उनीहरुलाई सामाजिक विकृति विसङ्गतिविरुद्ध अभियान चलाउन अभिप्रेरित गर्ने र विपद् व्यवस्थापनका लागि सबल जनशक्ति उत्पादन गर्ने मुख्य उद्देश्यका साथ कार्यक्रम शुरु भएको हो । पाँचथरमा बुधबार जिल्लाका ९४ सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरुलाई कार्यक्रम सञ्चालनबारे अभिमुखीकरण गर्दै कार्यक्रम शुरुआत गरिएको कार्यक्रमका पाँचथर संयोजक श्रीप्रसाद माङयुङले जानकारी दिनुभयो । प्रदेश नं १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले शुरु गरेको यो कार्यक्रमले जिल्लाका ९४ माध्यमिक विद्यालयका सामाजिक विषयमा शिक्षकहरुलाई ‘शिक्षक नायक’को रूपमा छनोट गरेर अभिमुखीकरण सम्पन्न गरेको छ । जिल्लाका ८२ सामुदायिक र ११ संस्थागत माध्यमिक विद्यालयका शिक्षक नायकहरुलाई भेला गरी कार्यक्रम सञ्चालनबारे जानकारी गराइएको हो । अब विद्यालयमा शिक्षक नायकको पहलमा ‘सगरमाथा टिन्स क्लब’ गठन गरी उद्देश्यअनुरूप काम अघि बढ्ने भएको कार्यक्रमका प्रदेश संयोजक नवराज राईले जानकारी दिनुभयो । तेह्र वर्षदेखि १९ वर्षसम्मका विद्यार्थीलाई लक्षित गरी कार्यक्रम सञ्चालनमा ल्याइएको हो । प्रदेश नं १ का १४ वटै जिल्लामा सञ्चालन हुने कार्यक्रमले करीब दुई हजार विद्यालयका दुई लाख बढी विद्यार्थीलाई समेट्ने लक्ष्य लिइएको कार्यक्रम संयोजक राईले बताउनुभयो । कक्षा ९ देखि १२ सम्म अध्ययनरत करीब दुई लाख विद्यार्थीलाई जिम्मेवार, चरित्रवान, सभ्य, सिर्जनशील बनाउँदै सामाजिक उत्तरदायी र समतामूलक समाज निर्माणमा सहयोगी बनाउन मद्दत पुग्ने विश्वास लिइएको राईको भनाइ छ । सञ्चालन हुने गतिविधिहरु कार्यक्रमअन्तर्गत लागुऔषधका विषयमा सचेतनामूलक कक्षा सञ्चालन गर्ने, किशोर–किशोरीलाई सार्वजनिक क्षेत्र, मठमन्दिर एवं देवालय, प्राचीन क्षेत्रलगायतमा सरसफाइ, ट्राफिक सचेतनाजस्ता कार्यक्रममा संलग्न गराइनेछ । यस्तै पेशाकर्मीहरुको रोस्टर बनाई किशोर–किशोरीलाई उज्ज्वल भविष्य निर्माणसम्बन्धी उत्प्रेरणा कक्षामा सहभागी गराइनेछ । विपद्का बेला अपनाउनुपर्ने पूर्वतयारी एवं विपद्पछिको अवस्थाका विषयमा सैद्धान्तिक एवं व्यवहारिक ज्ञानसमेत प्रदान गरिने कार्यक्रम संयोजक राईले जानकारी दिनुभयो । यस्तै राष्ट्रलाई जुनसुकै बेला सहयोग गर्न तत्पर स्वयंसेवी भावना जागृत गराउने सामाजिक क्रियाकलाप सञ्चालन गर्ने, चेतनामूलक कार्यक्रम उत्पादन गरी सञ्चारमाध्यमबाट प्रकाशन÷प्रसारण गरिने कार्यक्रम संयोजक राईले जानकारी दिनुभयो । कार्यक्रम कार्यान्वयनको संरचना कार्यक्रमलाई प्रभावकारी एवं वृहत् बनाउन प्रदेशमा आन्तरिक मामिला तथा कानूनमन्त्रीको संयोजकत्वमा निर्देशक समिति, जिल्लामा सांसद, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख सम्मिलित सल्लाहकार समिति, जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा १४ सदस्यीय जिल्लास्तरीय अनुगमन समिति गठन भएको छ । यस्तै स्थानीय तहमा स्थानीय तहका प्रमुखको संयोजकत्वमा १८ सदस्यीय समन्वय समिति, प्रत्येक विद्यालयमा प्रधानाध्यापकको संयोजकत्वमा कार्यक्रम कार्यान्वयन समिति र ती विद्यालयमा कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीमध्येबाट १५ सदस्यीय सगरमाथा टिन्स क्लब गठन गरिनेछ । यो क्लबले कार्यक्रम कार्यान्वयन समितिको मार्गनिर्देशनअनुसार काम गर्नेछ । सरोकारवालाहरुद्वारा कार्यक्रमको स्वागत पाँचथरमा आपराधिक घटना बढिरहेको र लागुपदार्थको दुव्र्यसनमा फस्नेको सङ्ख्या बढिरहेको अवस्थामा यो कार्यक्रम सञ्चालन हुनलागेको भन्दै सरोकारवालाले कार्यक्रमको स्वागत गरेका छन् । “सामाजिक समस्या क्रमशः बढिरहेका छन, अपराध, दुव्र्यसन र इन्टरनेटको दुरुपयोगले समस्या निम्तिने क्रम बढ्दो छ”, जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाले भन्नुभयो, “आजसम्म यी समस्या सरकारले समाधान गरिदेला भनेर सबै आनन्द बसेका थियौँ, अब यो कार्यक्रमले सबैलाई जिम्मेवार बनाएको छ ।” समस्या समाधानका लागि कार्यक्रम अत्यावश्यक रहेको बताउँदै सापकाटोले स्वागत गर्नुभयो । वैदेशिक रोजगारीका कारण विभिन्न समस्या सिर्जना भइरहेको र स्थानीय तह शिक्षा क्षेत्रको सुधार एवं सामाजिक समस्या समाधानमा सवल बन्न नसकेको अवस्थामा यो कार्यक्रमले ठूलो महत्व रहेको सापकोटाको भनाइ छ । जिसस प्रमुख सापकोटाले समाजलाई सकारात्मक मार्गमा अघि बढाउन कार्यक्रम सफल हुने विश्वास व्यक्त गर्नुभयो । प्रमुख जिल्ला अधिकारी एवं कार्यक्रमको जिल्लास्तरीय अनुगमन समितिका संयोजक मुरारी वस्तीले पाँचथरमा अपराधका घटना हेर्दा मानवीय मूल्य र मान्यतामै ह्रास आएको अनुभूति भएको अवस्थामा यो कार्यक्रम सञ्चालन हुनु सुखद् रहेको बताउनुभयो । प्रजिअ वस्तीले जिल्लामा दुव्र्यसनीका अतिरिक्त अत्यधिक मदिराको सेवनले हत्या, हिंसा र जबर्जस्ती करणी मुख्य अपराधको रूपमा विकास भएकाले यसलाई न्यून गर्न विद्यार्थीमार्फत समाजमा सकारात्मक सन्देश पुग्ने विश्वास व्यक्त गर्नुभयो । हरेक कुरामा नकारात्मक दृष्टिकोण राख्ने बानीको विकास भइरहेको बताउँदै प्रजिअ वस्तीले सकारात्मक चिन्तन, सामाजिक भावना, राष्ट्रप्रतिको प्रेम विकासमा विद्यार्थीलाई अभिप्रेरित गर्न भरमग्दूर प्रयत्न गर्न शिक्षकहरुलाई आग्रह गर्नुभयो । परिवारमै विश्वासको सङ्कट पैदा भइरहेको सन्दर्भमा प्रेम र स्नेह वृद्धिको सन्देश समाजसम्म पु¥याउन शिक्षकहरुले ‘नायक’को भूमिका खेल्नुपर्ने प्रजिअ वस्तीको धारणा छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter