बुधबार, १२ बैशाख २०८१

ललितपुरमा निःशुल्क सङ्गीत प्रशिक्षण

१० भाद्र २०७६, मंगलवार १६:०८ मा प्रकाशित

ललितपुर, १० भदौ   पाटन दरबार परिसरमा रहेको मङ्गलटोल सुधार सङ्घले निःशुल्क सङ्गीत तालीम प्रदान गरिरहेको छ । समाजमा बढ्दै गएको विकृति तथा धूमपान र मद्यपानको कुलत हटाउन सो तालीमको व्यवस्था गरिएको हो । मोबाइल प्रयोगका कारण पारिवारिक धन्दा र मोहभन्दा पनि सामाजिक सञ्जालमा ध्यानाकर्षण बढ्दै गएसँगै माया र स्नेह कमी हुँदै गएको महसुस गरी सङ्गीत प्रशिक्षण कार्यक्रम अघि बढाइएको सङ्घका सङ्गीत व्यवस्थापक रुपेन्द्र पुरीले जानकारी दिनुभयो । “सो प्रशिक्षणले समाजमा सूर्ती र मदिराजन्य लत घटाई बौद्धिकता विकासमा जोड दिने विश्वास लिएका छौँ”, पुरीले भन्नुभयो, “१५ दिनअघिदेखि शुरु गरिएको सो सङ्गीत प्रशिक्षणमा सबै उमेर समूहका २५ जना व्यक्तिले प्रारम्भिक चरणको सुरताल सिकिरहनुभएको छ ।” उक्त सङ्गीत प्रशिक्षण ती व्यक्तिले चाहेका अवधिसम्म सञ्चालन गरिने बताइएको छ । सङ्गीत प्रशिक्षणमा पाँच ताल सिकाउने गरिएको सांस्कृतिक संस्थानका सङ्गीत प्रशिक्षक तथा सो सङ्घका कार्यसमितिका सदस्य नरसिंहलाल श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले भन्नुभयो, “प्रशिक्षणमा करुवा, दादरा, रुपक, झपताल र श्रीतालजस्ता सबै सिकाउने योजना बनाएको छु । साँझ ५ बजेदेखि ७ बजेसम्म पाटन दरबार परिसरमा सङ्गीतको गुञ्जयमान हुने गरेको छ ।” करीब दुईघण्टे सो तालीममा नौदेखि ५६ वर्ष उमेर समूहका व्यक्तिले सहभागिता जनाइरहेको सो सङ्घका संयोजक ज्ञानराजा श्रेष्ठले बताउनुभयो । “सङ्गीत प्रशिक्षणमा बढीजसो विद्यार्थी र थोरै मात्रामा सेवाबाट अवकाशप्राप्त व्यक्तिले पनि भाग लिइरहनुभएको छ”, श्रेष्ठले भन्नुभयो, “सङ्घले पहिलो पटक आयोजना गरेको सो प्रशिक्षण राम्रो हुँदै गयो भने पछि अरुलाई पनि सिकाउने योजना बनाएका छाँै ।” हालसम्म सङ्घले सङ्गीत प्रशिक्षणमा केवल हार्मोनियम बजाउन सिकाइरहेको छ । सङ्घ कार्यसमितिका सदस्य श्रेष्ठले पाटन दरबार परिसरका अलावा न्ह कहेद्या गुठीअन्तर्गत ललितपुरका प्रसिद्ध स्थान हरिसिद्धि र लूभूमा पनि शाही भजन सिकाउने गरेको बताउनुभयो । उहाँले थप्नुभयो, “मङ्गलबजारको भिन्द्यो लाछीमा ४० जना व्यक्तिलाई महीनावारी पारिश्रमिक लिएर प्रारम्भिक सङ्गीत प्रशिक्षणका अलावा लोक तथा आधुनिक पनि सिकाइरहेको छु ।”

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter