आइतबार, ०८ भदौ २०७६

लाखे नाच्ने मान्छे छैनन्

२८ श्रावण २०७६, मंगलवार १४:५५ मा प्रकाशित

बागलुङ, २८ साउन जेनतेन सोमबार बागलुङ बजारमा लाखे नचाइयो । लाखे नाच्नेमा हुनुहुन्थ्यो, २२ वर्षीय आशिष शाक्य । अहिले पोखरामा बसेर अध्ययनरत उहाँलाई घर आएको बेला लाखे नाच्न जु¥यो । सोमबार पनि दिनभर नाचेर उहाँ सोही साँझ पोखरा फर्कंदै हुनुहुन्थ्यो ।जिल्लास्थित शाक्य कल्याण समाजले आशिष घर आएको मौका छोपेर लाखे निकालेको हो । उहाँ नभएको भए लाखे नाच अझै पछि धकेलिन्थ्यो । परम्पराअनुसार साउन कृष्ण पक्षको चतुर्दशीका दिन पर्ने गठेमङ्गलदेखि लाखे नचाउने चलन थियो । अन्यत्र लाखेको रौनक शुरु भइसक्दा पनि बागलुङमा भने नाच्ने मान्छे नै नहुँदा अन्यौल थियो । शाक्य पोखरा फर्केपछि लाखे नाच फेरि के हुने हो ? भन्ने चिन्ता छ । उक्त नाचको कला र शिल्प पुस्तान्तरण नहुँदा यस्तो समस्या भएको हो ।“मेरो उमेरका मबाहेक लाखे नाच्ने अरू कोही पनि छैनन्”, आशिषले भन्नुभयो, “मैले सानैदेखि अरूले नाचेको हेरेर सिकेको हुँ ।” लाखेको मुकुट गह्रुँगो हुने हुँदा नाच्न कठिन हुने र त्यसैमाथि पनि गर्मीले खप्नै गाह्रो हुने उहाँको भनाइ थियो । केही वर्षअघि नयाँ पुस्तालाई लाखे नाचको तालीम दिनेबारे कुरा चले पनि त्यो त्यत्तिकै हराएको आशिषको गुनासो थियो । लाखे नाच्ने अघिल्लो पुस्ताका बाबुलाल शाक्य, राजकुमार शाक्यलगायत बसाइँसराइ र अन्य कारणले जिल्ला बाहिर छन् ।उक्त नाचमा ढोलक, झ्याली, बाँसुरीलगायत बाजा बजाउने थोरै मात्र कलाकार जिल्लामा छन् । पुस्तान्तरणको अभावमा ३०० वर्ष पुरानो लाखे नाचको अस्तित्व नै लोपहुने सम्भाबना बढेको छ । नेपाल भाषा मंका ः खलःका जिल्ला अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले नेवार समुदायमा हुने बसाइँसराइ, युवाहरु पढ्न बाहिर जाने प्रवृत्तिले पुराना कला र संस्कृति सङ्कटमा पर्न थालेको बताउनुभयो । “पहिले कृषिमा आधारित जीवनशैली थियो, सबै एकै ठाउँ बस्थे”, उहाँले भन्नुभयो, “अहिले सानैदेखि पढ्न बाहिर जाने चलनले गर्दा युवामा पुरानो भाषा, कला हस्तान्तरण हुन सकेन ।”लाखे नाच जस्तै अन्य परम्परागत नेवारी गीत, नाच र संस्कृतिको संरक्षणमा नेपाल भाषा मंकाः खलः र शाक्य कल्याण समाजले अगुवाइ गरिरहेका छन् । समाजका अध्यक्ष गगनलाल शाक्यले उक्त नाच पुस्तान्तरणका लागि प्रशिक्षणको आवश्यकता रहेको बताउनुभयो । “स्थानीय तहसँग समन्वय गरेर तालीम सञ्चालन गर्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “नयाँ पुस्ताले पनि आफ्नो कला, संस्कृतिप्रति चासो दिन जरुरी छ ।”तीन सय वर्षअघि भक्तपुरबाट बागलुङ आएका नेवारसँगै लाखे नाचको संस्कृति भित्रिएको संस्कृतिकर्मी मुकुन्द शाक्यले बताउनुभयो । इतिहास बोकेको लाखे नाच हराउने हो कि भन्ने चिन्ता उहाँमा पनि छ । “लाखे नाच्ने मान्छे नै छैनन्, बाजा बजाउने पनि एकाध मात्र छन्”, उहाँले भन्नुभयो । लाखे नाच गठेमङ्गलमा शुरु गरी तीजमा अन्त्य गर्ने चलन छ । प्राचिन कालमा राजाका सिपाहीले घण्टाकर्ण नाम गरेका राक्षसलाई मारेपछि पति वियोगमा ह्विहल बनेकी उनकी श्रीमती लाखे बनेर नाचेको किंवदन्ती छ ।त्यसको प्रतीकस्वरुप नेवार समुदायले बर्सेनी लाखे नाच प्रदर्शन गर्दै आएको संस्कृतिकर्मी शाक्यको भनाइ छ । नेवारको जात र स्थानअनुसार फरक–फरक तरिकाले लाखे नाच नचाउने गरिन्छ । बागलुङमा भने वर्षे नाचसँगसँगै लाखे नाच निकाल्ने गरिन्छ । लाखे नाचमा हिँडाउने, पड्ताल, भोटेसेलो र झ्यारी गरी चार ताल हुन्छन् । राक्षसको स्वरुप झल्कने मुकुट र देवी वस्त्रसहित कलाकारलाई सिँगारेर लाखे नचाउने गरिन्छ । जिल्लाका नेवार समुदायले वर्षे नाचका रुपमा लाखे, होबा, कटुवाल, रोपाइँ, जोगीलगायत नाच संरक्षण गर्दै आएका छन् । –––

तपाईंको प्रतिकृयाहरू

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter