शुक्रबार, १६ चैत २०८०

अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला फागुनमा

२८ श्रावण २०७६, मंगलवार १०:२१ मा प्रकाशित

बागलुङ, २८ साउन गलकोट नगरपालिका–५ टेउवामा आउँदो फागुन ४ देखि २६ गतेसम्म अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला सञ्चालन हुने भएको छ । अन्तर्राष्ट्रियस्तरको खुला मूर्तिकला सङ्ग्रहालय तथा अनुसन्धान केन्द्र बनाउने लक्ष्यसहित कार्यशाला आयोजना गरिएको गलकोट कला प्रतिष्ठानले जनाएको छ । कार्यशालाका लागि पूर्वाधार निर्माण र कच्चा पदार्थ सङ्कलनको काम दुई वर्षअघिदेखि नै शुरु भएको थियो । कार्यशालामा १० विदेशी र पाँच नेपालीसहित १५ मूर्तिकार सहभागी हुने प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले बताउनुभयो । कार्यशालास्थलमा सडक, शौचालयलगायतका संरचना बनिसकेका छन् । सवारी राख्ने ठाउँ, वनभोजस्थल र घेराबारको काम अघि बढाइएको छ । “मूर्ति बनाउन योग्य ढुङ्गाको खोजी र सङ्कलन पनि भइसकेको छ”, अध्यक्ष रानाले भन्नुभयो, “मूर्ति प्रतिस्थापनका लागि चाहिने संरचना निर्माणलगायतका काम बाँकी छन् ।” कार्यशालाका लागि दुई टनभन्दा ठूला १५ वटा ढुङ्गा चाहिने जनाइएको छ । कार्यशालास्थलमा खानेपानी, विद्युत् सेवा पु¥याउने काम भइरहेको छ । पूर्वाधार तयारीका काममा हालसम्म रु एक करोडभन्दा बढी खर्च भइसकेको छ । कार्यशालाका लागि गत आवमा सङ्घीय सरकारबाट रु ५० लाख र गण्डकी प्रदेश सरकारबाट रु ४० लाख बजेट छुट्टिएको थियो । पर्यटन मन्त्रालयमार्फत बजेट आएपछि कार्यशालाको कामले गति लिएको हो । अघिल्लो वर्ष नै कार्यशाला सञ्चालन गर्ने भनिए पनि बजेट अभावमा ढिलाइ भएको थियो । गलकोट नगरपालिकाले पनि कार्यशालाका लागि गत आवमा रु तीन लाख बजेट छुट्याएको थियो । उक्त बजेटबाट विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाइएको प्रतिष्ठानले जनाएको छ । कार्यशाला सम्पन्न गर्न थप रु एक करोड २० लाख बजेट आवश्यक पर्ने प्रतिष्ठानका अध्यक्ष रानाको भनाइ छ । “कार्यशालाबारे जानकारी गराउन र थप बजेट मागका लागि प्रधानमन्त्री, परराष्ट्रमन्त्री, पर्यटनमन्त्रीलगायतसँग भेट्ने कार्यक्रम बनाएका छौँ”, उहाँले भन्न्ुभयो, “निर्धारित समयमै कार्यशाला हुन्छ, अब पछि सर्दैन ।” सरकारले घोषणा गरेको नेपाल भम्रण वर्ष–२०२० लाई पनि कार्यशालाले टेवा पु¥याउने विश्वास लिइएको छ । “देश–विदेशका मूर्तिकारका अमूल्य कलाकृति सङ्ग्रहित हुँदा यसले पर्यटकलाई पनि आकर्षित गर्छ”, अध्यक्षा रानाले भन्नुभयो । मूर्तिकला सङ्ग्रहालय कलाकार, अनसुन्धानकर्मी, विद्यार्थी, कलाप्रेमीलगायतलाई अध्ययन, अनुसन्धानको केन्द्रसमेत बन्नेछ । अन्तर्राष्ट्रियस्तरमा ख्यातिआर्जन गरेका मूर्तिकारले कार्यशालास्थलमै बसेर सिर्जना गरेका मूर्तिकलाका कृतिहरु सङ्ग्रहालयमा राखिनेछ । कलाप्रेमीसहित सर्वसाधारणले पनि मूर्तिकला कार्यशालाको प्रत्यक्ष अवलोकन गर्न पाउनेछन् । “कार्यशालामा सहभागिताका लागि अन्तर्राष्ट्रियस्तरमा आह्वान गर्छौँ”, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ एवं मूर्तिकार ओम खत्रीले भन्नुभयो, “दरखास्त हाल्नेमध्येबाट छनोटमा परेका मूर्तिकार कार्यशालामा सहभागी हुनेछन् ।” प्रतिष्ठानले पूर्वाधार र मूर्तिकला कार्यशालाको लागि रु तीन करोड खर्च लाग्ने अनुमान गरेको छ । रु एक करोड ५० लाख कार्यशालामा मात्र खर्च हुने जनाइएको छ । कलाकार ल्याउन, राख्न लाग्ने सबै खर्चको व्यवस्थापन प्रतिष्ठानले गर्नेछ । गलकोटमै जन्मनुभएका मूर्तिकार खत्रीकै सोच र योजनामा कार्यशाला हुनलागेको हो । कार्यशालाका लागि स्थानीयवासीले २५ रोपनी जग्गा निःशुल्क प्रतिष्ठानलाई उपलब्ध गराएका थिए । कार्यशालास्थल टेउवा पर्यटकीय लेक घुम्टेको तल पर्छ । सदरमुकाम बागलुङ बजारदेखि ५० किमी मोटरयात्रामा टेउवा पुग्न सकिन्छ । टेउवा पुग्ने पर्यटकले ऐतिहासिक गलकोट दरबार, गाईघाट झरनालगायतका पर्यटकीय गन्तव्य पनि घुम्न सक्छन् । विद्यार्थीलाई शैक्षिक सामग्री वितरण न्यून आय भएका परिवारका दश जेहेन्दार विद्यार्थीलाई नेपाल भाषा मंकाः खलः बागलुङले सोमबार शैक्षिक सामग्री र पोशाक वितरण गरेको छ । खलःमा स्थापित ‘कमल–सिर्जना श्रेष्ठ शैक्षिक कोष–२०७६’ बाट शैक्षिक सामग्री वितरण गरिएको हो । विद्यार्थीलाई झोला, कपी, पोशाक र जुत्ता प्रदान गरिएको खलःका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले जानकारी दिनुभयो । सदरमुकामस्थित विद्यामन्दिर माविका अनिश श्रेष्ठ, दिया शाक्य, लवचन बुढामगर, अमृत आदर्श माविका दिविशा मलेपती र ऋतु शाक्यलाई शैक्षिक सामग्री वितरण गरिएको हो । यस्तै शैक्षिक सामग्री पाउनेमा रुद्रेपिपल माविका आयुश शाक्य, कालीगण्डकी बोर्डिङ स्कूलका अविनाश राजभण्डारी, कालिका कन्या माविका सिलश, आयुष्मा श्रेष्ठ न्यू ओएसिस बोर्डिङ स्कूलका विद्या र दिक्षा श्रेष्ठ छन् । बालबालिकाको पढाइमा सघाउने उद्देश्यले शैक्षिक कोष स्थापना गरेको कोषका संस्थापक कमलप्रसाद श्रेष्ठले बताउनुभयो । व्यवसायीसमेत रहनुभएका श्रेष्ठ र उहाँकी श्रीमती सिर्जनाले यसै साता खलःमा रु दुई लाखको कोष खडा गर्नुभएको थियो । “न्यून आय भएका र विपन्न परिवारका विद्यार्थीले समस्या झेलिरहेको पाइएपछि कोष स्थापनाका लागि पहल गरेका हौँ” खलःका अध्यक्ष राजभण्डारीले भन्नुभयो । खलःले शिक्षासँगै कला, संस्कृतिलगायतका क्षेत्रमा पनि कोष स्थापनाका लागि पहल गरिरहेको छ । –––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter