शनिबार, ०८ बैशाख २०८१

विद्यालयमा तालाबन्दी

२३ श्रावण २०७६, बिहीबार १०:१५ मा प्रकाशित

जाजरकोट, २३ साउन यहाँको एक विद्यालयका शिक्षकहरूले एक वर्षदेखि तलब नपाएको भन्दै विद्यालयमा तालाबन्दी गरेका छन् । जिल्लाको नलगाड नगरपालिका–८ स्थित पञ्चभयार माध्यमिक विद्यालय जिकुवाका निजी स्रोतबाट राखिएका शिक्षकले तलब नपाएको भन्दै सोमबारदेखि तालाबन्दी गरेका हुन् । तालाबन्दीले तीन दिनदेखि विद्यालयमा पढाइ अवरुद्ध भएको छ । निजी स्रोतबाट राखिएका शिक्षक रवीन्द्र खत्री, मीना बुढा, इन्द्र खत्रीले एक वर्षदेखि तलब पाएका छैनन् । विद्यालयमा आम्दानीका स्रोत नभएपछि तलब उपलब्ध गराउन नसकेको प्रधानाध्यापक हुमप्रकाश सिंहले बताउनुभयो । वडा नं ८ मा परेका सबै योजनाहरुको रकम हल्चौरदेखि राम्रासम्मको घोडेटो बाटोमा बजेट हालेर स्थानीयवासीको श्रमदानसमेतमा निर्माण भएको बाटोको रकमबाट शिक्षकलाई तलब उपलब्ध गराउने विद्यालय व्यवस्थापन समितिले लिखित सहमति गरेको छ । योजनाको रु छ लाख २० हजार पूरै निकासा भए पनि उपभोक्ता समितिले रु पाँच लाख मात्र उपलब्ध गराएको बताइएको छ । सोही बाटो अहिलेसम्म तीन पटक निर्माण भइसकेको छ । विद्यालयमा शिक्षकको दरबन्दी नहुँदा निजी स्रोतबाट राखिएका शिक्षकले पढाएर विद्यालय सञ्चालन हुँदै आएको छ । वर्ष दिनसम्म विद्यालयमा पढाए पनि तलब नपाएको भन्दै शिक्षकहरु तलब उपलब्ध नगराएसम्म ताला नखोल्ने अडानमा छन् । विकास निर्माणका लागि आएको रकम विद्यालयमा हालेर काम राम्रो नगरेको आरोपसमेत लागेको छ । विद्यालयको समस्या समाधान गर्न अभिभावक भेला बोलाएको प्रअ सिंहले बताउनुभयो । यो भन्दा अगाडि वन उपभोक्ता समूहको रकम र अभिभावकले चन्दा उठाएर विद्यालय सञ्चालन गर्दै आएका थिए । –––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter