मङ्गलबार, ११ बैशाख २०८१

विद्यालय सञ्चालन गर्न महायज्ञ

१९ श्रावण २०७६, आईतवार ०९:४६ मा प्रकाशित

बनेपा, १९ साउन  पनौती नगरपालिका–५ धनेश्वरस्थित श्री धनेश्वर महादेव प्राथमिक विद्यालयले सञ्चालन गर्न स्रोत नभएको भन्दै स्रोत जुटाउनका लागि महायज्ञ गर्ने भएको छ । विद्यालयले शनिबार पत्रकार सम्मेलन गरी आगामी २० देखि २८ गतेसम्म विद्यालयको प्राङ्गणमा ‘स्वर्णिम श्रीमद्भागवत भक्ति सत्सङ्ग महायज्ञ’ सञ्चालन गर्न लागिएको जानकारी दिएको हो । विसं २०३८ मा स्थापना भएको सो विद्यालय २०७२ को भूकम्पपछि करीब बन्दजस्तै अवस्थामा पुगेको थियो । चार शिक्षक दरबन्दी रहेको सो विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएपछि विसं २०७४ साउनबाट पूर्णरूपमा बन्द नै भएको विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष कुमार थापाले बताउनुभयो । विद्यालय सञ्चालनमा ल्याएपछि आर्थिक स्रोत भरपर्दो नभएका कारण महायज्ञ सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । विद्यालय सञ्चालनमा ल्याउन गरेको पहललाई नगरपालिकाले पुनः स्वीकृत दिनुका साथै एक जना शिक्षक दरबन्दीको व्यवस्था गरेपछि अहिले पुनः कक्षा २ सम्म सञ्चालन भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिरुद्र थापाले बताउनुभयो । “विद्यालयमा पूर्णरूपमा अङ्ग्रेजी माध्यममा पठनपाठन भइरहेको छ”, थापाले भन्नुभयो, “एक दरबन्दी र तीन निजी स्रोतमा गरी सञ्चालन भइरहेको विद्यालयमा एसओएस बालग्रामको पाठ्यपुस्तक प्रयोग गरी कक्षा नर्सरीदेखि २ कक्षासम्म पठनपाठन भइरहेको छ । सो विद्यालयमा अहिले ४३ विद्यार्थी अध्ययन गरिरहेका छन् । स्वर्णिम श्रीमदभागवत भक्ति सत्सङ्ग महायज्ञमा कथा ब्यास राष्ट्रिय विभूषित नारीविदूषी सुश्री अनुराधा शास्त्रीजी र देशव्यापी १०८ श्रीमद्भागवत सत्सङ्कल्प अभियानकर्ता मुमुक्षु श्री उद्धव शर्माले कथावाचन गर्नुहुने यज्ञ मूल समारोह समितिले जनाएको छ । –––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter