शुक्रबार, १६ चैत २०८०

अर्थ उपार्जनको माध्यम बन्यो कबुलियती वन

१५ श्रावण २०७६, बुधबार १२:०३ मा प्रकाशित

बनेपा, १५ साउन  ,,   पाँचखाल नगरपालिका–९ आँपचौरमा रहेको ‘सिरिसघारी कबुलियती वन उपभोक्ता समूह’ त्यहाँ आबद्ध रहेका सदस्यहरुको अर्थ उपार्जनको माध्यम बनेको छ । डिभिजन वन कार्यालयको सहयोगमा स्थानीय बासिन्दाको सक्रियतामा २०५१ सालमा दर्ता भएर सबैको सामूहिक प्रयासमा काम अगाडि बढाएपछि अहिले त्यहाँका बासिन्दाको जीवनमा नै सुधार आएको उहाँहरु बताउनुहुन्छ । स्थानीय बासिन्दा मिलेर बिरुवा रोप्नुका साथै फलफूलको बिरुवा रोपेर त्यसबाट भएको उत्पादन समूहमा आबद्ध सदस्यहरुका लागि प्रयोग गरिएको सिरिसघारी कबुलियती वन उपभोक्ता समूह नं २० का सचिव पूर्णलाल उदासले बताउनुभयो । “अहिले पनि डिभिजन वन कार्यालयको सहयोगमा हामीले ६०० वटा बिरुवा र फलफूलमा आँप, कटहर र लिचीको बिरुवा लगाएका छौँ”, उहाँले भन्नुभयो, “त्यससँगै जङ्गलमा लगाएको अन्य घाँस र डाले घाँसले वस्तुभाउ पाल्नलाई राम्रो भएको छ ।” कबुलियती वन समूह निर्माण भएपछि घाँस, दाउरा र फलफूल उत्पादन गरी आम्दानीमा वृद्धि भएको स्थानीयवासी तारामाया उदासले भन्नुभयो । “यसपालि मात्रै आठ÷नौ हजारको फलफूल बेचियो”, उहाँले भन्नुभयो, “जग्गा थोरै छ, वन आएपछि वस्तु भाउ पाल्न र आम्दानी गर्न सहयोग मिलेको छ ।” पहिला पहिला सालको बोट र बुट्यान मात्रै भएको रातोमाटोको डाँडामा समूह गठन गरी बिरुवा रोप्ने र अन्य घाँस, डाले घाँस र फलफूलको बिरुवा रोप्न थालेपछि सिङ्गो डाँडा नै हरियाली देखिएको उदासले भन्नुभयो । वन समूहबाट वस्तुभाउ पालन, फलफूल र अन्य माध्यमबाट गरी वार्षिक रु ७०÷७५ हजारदेखि एक लाखसम्मको आम्दानी गर्न सफल भएको अर्का सदस्य मञ्जु दवाडीले बताउनुभयो । २१ नं समूहमा आबद्ध दवाडीले भन्नुभयो, “यही वन समूहमा आबद्ध भएर घरको काम गरी थप आम्दानीको स्रोत पहिल्याउन सकेकी छु ।” अहिले खसी र बोका गरी ६ वटा र माउ बाख्रा तीन वटा पालेको उहाँको भनाइ छ । महादेवस्थान सब डिभिजन वन कार्यालयअन्तर्गत पर्ने सो कबुलियती वन उपभोक्ता समूहमा सात समूह गठन गरी स्थानीय बासिन्दालाई आम्दानीको स्रोत बनाएको छ । समूह नं १८, १९, २०, २१, २२ २३ र २४ गरी सात वटा समूह गठन गरेको स्थानीय बासिन्दाले आ–आफ्नो समूहभित्र परेको वनजङ्गलको संरक्षण, सवंद्र्धन र रेखदेख गर्दै आएका छन् । डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०७५÷७६ को जीविकोपार्जन कार्यक्रमअन्तर्गत सात वटा समूहमध्ये तीन वटा समूहमा आबद्ध सदस्यहरुलाई बाख्रापालन र फलफूलको बिरुवा वितरण गरी थप सहयोग पु¥याएको डिभिजन वन अधिकृत बद्रीकुमार कार्कीले बताउनुभयो । सो समूहमा आबद्ध सदस्यहरुका लागि रु एक लाख ५० हजारमा २५ वटा बाख्रा वितरण गरेको कार्यालयले जनाएको छ । वन समूहमा र निजी जग्गामा लगाउने गरी वितरण गरिएको फलफूलको बिरुवामा आँप, कटहर र लिची वितरण गरिएको कार्यालयले जनाएको छ । समूहका वनमा बाहेक व्यक्तिको जग्गामा समेत एक घरपरिवारलाई ३० वटाका दरले फलफूलको बिरुवा वितरण गरिएको समूहका सचिव पूर्णलाल उदासले बताउनुभयो । वन संरक्षण र संवद्र्धनका लागि बनाएको नियमले गर्दा आम्दानी र संरक्षण दुवै भएको उहाँको भनाइ छ । वन समूह गठन गरेपछि अहिले बरु व्यक्तिको जग्गामा घाँस चोरेर लान सक्छ तर समूहको वनमा लगाएको घाँस कसैले छुनसमेत नसक्ने भएको उहाँको भनाइ छ । “कसैले एक डोको घाँस चोरेको देखेमा पाँच हजार रुपैयाँ जरिवाना तिर्नुपर्छ, समूहको निर्णयभन्दा बाहिर रहेर घाँस काट्नै पाइँदैन”, उदासले भन्नुभयो । समुदाय आफैँ मिलेर वन संरक्षण गरेकाले वनपालेको आवश्यकतासमेत नरहेको उहाँको भनाइ छ । सो वन समूहबाहेक त्यसैको उपयोगबाट शुरु भएको आम्दानीकै कारण अहिले गाउँमा नै बचत सहकारी संस्था स्थापना गरी बचतसमेत गर्दैै आएको छ । जसले स्थानीय जनताको जीविकोपार्जनमा उत्थान गर्नका लागि कृषि, पशुपालनदेखि जङ्गलमा घाँस उत्पादन गरी थप आम्दानीको स्रोत बनाउन सफल भएको छ । अहिले सात वटा नै समूहको प्रतिसमूह रु एक लाख ५० हजार बचत रहेको जनाएको छ । त्यति बचतले पनि केही गर्न नसक्ने भएकाले अहिले २०६६ सालबाट सिरिघारी कृषि सहकारी संस्था गठन गरी बचत गर्दै आएको उदासले बताउनुभयो । सो संस्थामा अहिले रु १६ लाख पूँजीसमेत रहेको उहाँले बताउनुभयो । रु १० देखि जम्मा गर्दै गरेको पैसा अहिले न्यूनतम हुनेको १५ हजारदेखि अधिकतम ३० हजारसम्म प्रतिसदस्यको बचत रहेको उदासले बताउनुभयो । सात वटा समूहमा विभाजन गरी रेखदेख र आम्दानीको स्रोत बनाउँदै आएको उक्त समूहमा आँपचौरका ६३ घरधुरी आबद्ध रहेका छन् । –

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter