शनिबार, ०८ बैशाख २०८१

पर्यटक लोभ्याउँदै ‘रिमिघा लेक’

१ श्रावण २०७६, बुधबार १२:१३ मा प्रकाशित

बेझाड, १ साउन ,,  प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको ‘रिमिघा लेक’मा पुगेपछि प्रकृतिसँग नरमाउने सायद कमै होलान् । यसको सुन्दरताले यहाँ पुग्ने जोकोहीको पनि मन लोभ्याइरहेको हुन्छ । हिमाल र पहाडको मनोरम दृश्य अवलोकन गर्न पाइने र प्राकृतिक सुन्दरताले भरिपूर्ण रिमिघा लेक पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलका रुपमा चिनिन थालेको छ । लेकको फेदीसम्म पुग्ने सडक स्तरोन्नति गरेपछि अहिले यहाँ रमाउन आउने पर्यटकको सङ्ख्या बढ्दो छ । रम्भा गाउँपालिका–२ फोक्सिङकोट र ३ पीपलडाँडाको माथिल्लो भागमा अवस्थित रिमिघा लेक समुद्री सतहदेखि एक हजार ७९४ मिटर उचाइमा रहेको छ । नेपालकै एक सय पर्यटकीय गन्तव्य सूचीका रुपमा रहेको प्रसिद्ध रम्भादेवी मन्दिरदेखि दक्षिणतिर लगभग दुईदेखि साढे दुई किलोमिटरको दूरीमा रिमिघा लेक पर्छ । पूर्वपट्टि फोक्सिङ्गकोटको झोकेदी, पश्चिपट्टि पीपलडाँडाको माथिल्लो घोङ्गसिङ्ग, उत्तरतर्फ फोक्सिङ्गकोटको बोरोङ्गसे, नम्टाहा, दक्षिणपट्टि फोक्सिङ्गकोटकै झोकेदी भाग रिमिघा लेकसँग जोडिएको छ । धार्मिक, ऐतिहासिक, प्राकृतिक र वातावरणीय सौन्दर्य, जैविक विविधताका साथै पर्यटकीय महत्व बोकेको रिमिघा लेक सुन्दर र रमणीय छ । यहाँ जोगी गुफा, देश हेर्ने ढुङ्गा, विशाल चौर, टुँडिखेल, इनार, भुरे राजाले बनाएको घरका भग्नावशेष, तीनकन्या मन्दिर, कालिकादेवी मन्दिरलगायतका धार्मिक तथा ऐतिहासिक स्थल छन् । यहाँबाट उत्तरतर्फ रहेका अग्लाअग्ला अन्नपूर्ण तथा धवलागिरि हिमशृङ्खलाका दृश्य अवलोकन गर्न पाइन्छ । तलतिर नागबेली आकारमा बगेको कालीगण्डकीको मनमोहक दृश्यले पर्यटकलाई लोभ्याइरहेको हुन्छ । रिमिघा लेकमा करीब ३४ मिटरको क्षेत्रफलमा सुरुङ्ग जस्तो आकारमा रहेको गुफा, परापूर्वकालमा ऋषिमुनिहरुले तपस्या गरेको घरको आकार, नौतुनामा हिँडेको रेल, पोखरा बजारको दृश्य दूरबिनमार्फत देख्न सकिने वडा नं २ का सदस्य चेतबहादुर सुनारीले बताउनुभयो । “नयाँ वर्षका अवसरमा वनभोज र घुम्न आउनेको ठूलो सहभागिता रहन्छ यहाँ, यसको भौतिक पूर्वाधार विकास गर्दै गएको खण्डमा यस क्षेत्रका स्थानीयवासीको जनजीवन माथि उकासिनेछ”, उहाँले भन्नुभयो । रिमिघा लेकमा पाल्पा, स्याङ्जा लगायतका विभिन्न स्थानका आन्तरिक पर्यटकहरु घुमफिर गर्न, वनभोज कार्यक्रमका निम्ति पुग्ने गरेका छन् । पछिल्लो समय रिमिघा लेक आन्तरिक पर्यटकको गन्तव्यस्थल बनिरहेको छ । अत्यन्त सुन्दर र समथर भूमिमा अवस्थित यस रिमिघा लेकमा पौराणिक समयमा राजा तथा ऋषिमुनिहरुले तपस्या गरेको धार्मिक मान्यता छ । रिमिघा लेकलाई प्राथमिकता दिएर यस क्षेत्रमा सडक निर्माण, भौतिक पूर्वाधारका कामलाई अगाडि बढाउँदै गएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । “यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरेर गाउँपालिकाले यसबाट आम्दानीको स्रोत जुटाउने र गाउँपालिकाको विकास निर्माणमा खर्च गर्ने, आन्तरिक पर्यटक मात्र नभई सदरमुकाम तानसेन आएका बाह्य पर्यटक पनि यहाँ भित्र्याउने लक्ष्य राखेको छ”, उहाँले भन्नुभयो । रिमिघा लेक आसपासको क्षेत्रमा मगर समुदायको बाक्लो बस्ती रहेकाले यहाँ होमस्टे, प्याराग्लाइडिङ उडान र तल बगेकोे कालीगण्डकीमा ¥याफ्टिङ सञ्चालन गरेको खण्डमा पर्यटन विकास मात्र नभई आयस्रोतमा वृद्धि हुने साना हुँगी मावि फोक्सिङकोटका सहायक प्रधानाध्यापक एवत सारु बताउनुहुन्छ । रिमिघाको पर्यटन विकास, प्रचारप्रसार गर्न र यसको धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्व पछिल्लो समय बढ्दै गएपछि गएको वैशाखमा यहाँ रिमिघा लेक महोत्सव पनि आयोजना गरियो । महोत्सवले गाउँपालिकाको पर्यटन विकासमा टेवा पुगेको बताइएको छ । आन्तरिक पर्यटकको सहभागिता बढ्दो रहेको अवस्थामा बाह्य पर्यटक भित्र्याउनका लागि सहयोग पुगोस् भनेर यहाँ महोत्सव गरिएको हो । महोत्सवमा रम्भा गाउँपालिकामा उत्पादित कृषिजन्य तथा हस्तकलाका सामग्री, महिला समन्वय समितिले उत्पादन गरेका ढाका कपडा, शृङ्गारका सामग्री, साबुनलगायतका वस्तुहरु प्रदर्शन गरिएको थियो । पर्यटन प्रवद्र्धनका लागि गरिएको सो महोत्सव आयोजना गर्न गाउँपालिकाले रु तीन लाख बजेट विनियोजन गरेको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter