बिहिबार, १५ चैत २०८०

सिन्दुरले रंगियो मध्यपुर थिमि

–रमेश गिरी

२ बैशाख २०७६, सोमबार १२:१३ मा प्रकाशित

बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले आज विहानैदेखि हर्षोल्लासका सिन्दुर खेलेर सुथः सिया जात्रा मनाएका छन् । विहानैदेखि मध्यपुरथिमिको टोल टोलबाट विभिन्न देवताहरुको मूर्तिलाई खटमा विराजमान गराई खट बोकेर सिन्दुर खेल्दै पूजाआजाका साथ यो जात्रा मनाईएको हो । थिमिमा मात्र मनाईने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमे लगायतका स्थानीय बाजामा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रुपमा मनाउने परम्परा छ ।

यो जात्रा आज विहानै बालकुमारी र कालिका अर्थात बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालेको थियो । हिजोदेखि विष्णुवीर र दक्षिण बाराहीको खट समेत मन्दिरमा राखिएको थियो । विहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरु सहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको थियो । जात्रा सुरु भएपछि पमाहरु हातहातमा चिराग अर्थात बत्ति लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोल स्थित देवता घर परिक्रमा गराइएको थियो । यसैगरि बिष्णुवीर, सिद्धिकाली लगायतका देवदेवीहरुको खट ल्याएर यो जात्रा मनाईएको छ । थिमिमा ३२ वटा खट सहभागी रथ बोकेर परम्परागत रुपमा मनाउदै आएको यो जात्रा अहिले थिमि क्षेत्रमा २३ वटा, नगदेशमा एक, बोडेमा ७ र टिगनीमा एक स्थानमा खटजात्राका साथ सिन्दुर जात्रा मनाइएको छ ।

यसमा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी, र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरि टोलटोलमा सिन्दुर खेल्दै जात्रा मनाइन्छ । मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराक बाली सुथः सिया जात्रा मनाईने परम्परा छ । जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ । जात्रामा काँया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालुहरु रमाईलो गर्ने भएकाले पनि यसलाई सिन्दुर जात्रा भनिएको हो ।

बालकुमारीबाट परम्परागत रुपमा सिद्धिगणेश, सिद्धिकाली र त्यसका गणहरु सहित क्वाछें द्यों, हिचो द्यों, अजिमा द्यों, विष्णुवीर र अन्य देवगणहरुको खट उचालेपछि बालकुमारीको जात्रा सुरु गरिन्छ । परम्परा अनुसार नै देवता लायकू दरबारभित्र पस्न नपाउन भनेर लायकू प्रवेशद्वारमा बाटो छेकेर पेंखा मुस्या, बालकुमारी, बालखुचा द्याें, सिद्धिकाली र अरु देवताका गणहरु बाटो छेकेर बस्ने परम्परा छ । अगाडि बढाउदै ल्याउने बालकुमारीलाई भैलः द्यों परिक्रमा गरिने क्रमैसंग सुगां द्यों, क्वाछे द्योंमा पनि सिन्दुर खेल्दै परिक्रमा गराईन्छ भने बालकुमारीलाई बिभिन्न क्षेत्रको परिक्रमा गराई भव्य एवं उमङ्ग र उत्साहका साथ थिमिका स्थानीयवासीले सिन्दुर खेल्दै यो जात्रा मनाइएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter