शुक्रबार, १६ चैत २०८०

ऐतिहासिक पोखरीको प्रतिवेदन तयार

१८ चैत्र २०७५, सोमबार ११:५६ मा प्रकाशित

भादगाउँ, १८ चैत  ,,  भक्तपुर नगरपालिका–१ दूधपाटीस्थित ऐतिहासिक भाज्या पुखुः (पोखरी) उत्खननसम्बन्धी अध्ययन प्रतिवेदन भक्तपुर नगरपालिकालाई हस्तान्तरण गरिएको छ । ऐतिहासिक भाज्या पुखु जीर्णोद्धार समितिका संयोजक प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले आइतबार प्रतिवेदन नगरप्रमुख सुनिल प्रजापतिलाई हस्तान्तरण गर्नुभयो ।

प्रा डा श्रेष्ठले १२ औँ शताब्दीमा बनेको भाज्या पुखुको अन्तिम प्रतिवेदन इतिहासविद्, संरक्षणविद्, जनप्रतिनिधि, नपाका शाखा प्रमुख र विभिन्न क्षेत्रका सरोकारवालाको रचनात्मक सुझाव तथा टिप्पणीलाई समावेश गरी तयार गरेको जानकारी दिनुभयो ।

इतिहास विज्ञानसम्मत हुने र भाज्या पोखरी काठमाडौँको रानीपोखरीभन्दा करीब ५०० वर्ष पुरानो भएको र पोखरीको मध्य भागमा अवस्थित शिखरशैलीको मन्दिरमा जलेश्वरको मूर्ति रहेको अनुसन्धानले पुष्टि गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अध्ययनले भक्तपुरको इतिहासबारे महत्वपूर्ण पक्ष थाहा हुन आएको छ । भाज्या पोखरी विभिन्न कालखण्डमा संरक्षण र पुनःनिर्माणको कार्य हुँदै आएको पनि अनुसन्धानले देखाएको छ ।”

प्रतिवेदन बुझ्दै नगर प्रमुख प्रजापतिले इतिहाससँग जोडिएका सम्पदाको अध्ययन अनुसन्धान नयाँ पुस्ताका लागि ज्ञानको स्रोत हुने र सांस्कृतिक सम्पदाको ऐतिहासिक प्रमाण सङ्कलन आवश्यक भएको बताउनुभयो ।

सम्पदा संरक्षणमा अगाडि बढेको जिल्लाको रुपमा भक्तपुर नगरपालिकाले परिचय दिन सफल हुँदै गएको उल्लेख गर्नुहुँदै प्रमुख प्रजापतिले भाज्या पोखरीको उत्खननमा सहयोगी भूमिका खेल्ने सबै सरोकारवालाप्रति आभार प्रकट गर्नुभयो ।

भक्तपुर नगरपालिकाले गत साउन २९ गतेको बोर्ड बैठकले प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठको संयोजकत्वमा दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालयका प्रमुख मोहनसिंह लामा, राष्ट्रिय कला सङ्ग्रहालयका प्रमुख सरस्वती सिंह, इतिहासविद् प्रा विश्वमोहन जोशी, सम्पदा शाखाबाट सूर्यभक्त खर्बुजा र भनपा सम्पदा शाखा प्रमुख आ इ रामगोविन्द श्रेष्ठ सदस्य रहेको समिति गठन गरेको थियो ।

उक्त समितिले सात महीना लगाएर प्रतिवेदन तयार गरेको हो । प्रतिवेदनअनुसार भाज्या पुखु निर्माण कार्य अगाडि बढ्ने नगरपालिकाले जानकारी दिएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter