बिहिबार, १३ बैशाख २०८१

धर्मगुरु श्रीनिवासाचार्य पक्राउ, आफैँले गोली हान्न लगाएको खुलासा

२५ बैशाख २०७५, मंगलवार ००:१८ मा प्रकाशित

बिराटनगर: हिन्दु धर्मगुरु श्रीनिवासाचार्यमाथि गोली प्रहार भएको घटना उनकै योजनामा बनाइएको रहस्य खुलेको छ। देशमा हिन्दु धर्म कायम गर्ने वातावारण बनाउन भन्दै श्रीनिवासाचार्य आफैँले आफूलाई गोली हान्न योजना बनाएको कुरा प्रहरी अनुसन्धानबाट खुलेको हो ।

गत चैत २५ गते राति मोरङको बिराटनगरमा भएको गोली प्रहारको घटना अनुसन्धानका क्रममा प्रहरीले श्रीनिवासाचार्यलाई काठमाडौँको विमानस्थल आसपासको क्षेत्रबाट पक्राउ गरेको हो ।

उनकै योजनामा गोली हान्ने र पेस्तोल उपलब्ध गराउने दुई युवालाई पनि प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङमा सोमबार सार्वजनिक गरेको छ ।

मोरङको विराटनगर महानगरपालिका–१४ स्थित जतुवामा रहेको श्री रामजानकी मन्दिर परिसरमा लाग्ने श्रीमदभागवत सप्ताह पुराणका लागि मूख्य बाचकका रुपमा आएका बाराको सिमरा उपमहानगरपालिका–३ घर भई हाल सुनसरीको बराह नगरपालिका–६ स्थित चक्रघट्टीस्थित लक्ष्मी बैंकटेसको आश्रममा बस्ने २४ वर्षीय श्रीनिवासाचार्यमाथि गत चैत २५ गते बिहानको राति १ बजेर ४५ मिनेटमा गोली प्रहार भएको थियो ।

श्रीनिवासाचार्यमाथि उनकै योजनामा चितवनको भरतपुर महानगरपालिका–४ बेलचोक बस्ने २९ वर्षीय माधव चौधरीले करिब पाँच मिटरको दुरीबाट पाखुरामा लाग्ने गरी गोली हानेका थिए । यो कुरा चौधरीले मोरङ प्रहरीसँगको बयान र सोमबार भएको पत्रकार सम्मेलनमा पनि स्विकारेका छन् ।

त्यसैगरी गोली हान्न प्रयोग गरिएको पेस्तोल भने श्रीनिवासाचार्यका विश्वासपात्र नवलपरासीको गैँडाकोट–५ बस्ने ३२ वर्षीय खान र सन्तोष भनिने लक्ष्मीराज अधिकारीले उपलब्ध गराएको पनि खुलेको छ ।

‘मलाई गुरु श्रीनिवासाचार्यले गोली हान्न सिकाइ धर्म र देशका लागि केही गर्नुपर्छ भनी उनले नै उक्साई गोलीसहितको पेस्तोल दिई हातैमा हान्न लगाएका हुन्’, प्रहरीलाई दिएको बयानमा चौधरीले भनेका छन् ।

त्यसैगरी अधिकारीले पनि प्रहरीसँगको बयानमा आफैँले पेस्तोल उपलब्ध गराएको बताएका छन् । उनले पत्रकार सम्मेलनमा पनि सोही कुरा दोहोर्‍याए । ‘मैले नै घरमा राखिएको गोलीसहितको पेस्तोल गुरु श्रीनिवासाचार्यले भनेपछि पठाएको हुँ’, उनले प्रहरीसँगको बयान र पत्रकार सम्मेलनमा भनेका छन् ।

केही उपाय गर्दा पनि देशलाई हिन्दुराज्य बनाउन नसकिएपछि यस्तो विधि अपनाउनुपरेको बयान गुरु श्रीनिवासाचार्यले प्रहरीलाई दिएको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार विसीले बताए । ‘धर्म र देशको रक्षाका लागि यस्तो गर्नुपरेको हो, केही गर्दा पनि हिन्दु राज्य बनाउन नसकिएपछि जनता र हिन्दु धर्मगुरुहरुलाई उक्साउन मेरै योजनामा आफैँलाई गोली हान्न लगाएको हुँ’, श्रीनिवासाचार्यको बयानबारे एसपी बिसीले पत्रकार सम्मेलनमा भने ।

प्रहरीले अधिकारी र चौधरीलाई वैशाख २० गतेबाट लागू हुने गरी मोरङ जिल्ला अदालतबाट ज्यान मार्ने मुद्दा चलाउन सात दिनको म्याद थपिसकेको छ ।

‘हिन्दुराज्य कायम गर्नका लागि विभिन्न चरणमा भएका आन्दोलनले सार्थक रुप नलिएपछि जनता र धर्मगुरुहरुलाई उक्साउनका लागि गुरु श्रीनिवासचार्यले आफ्ना विश्वासपात्र लक्ष्मीराज अधिकारीलाई हतियारको व्यवस्थापन गर्न लगाई गोली समेत हान्ने माधव चौधरीलाई खोजी प्रशिक्षण दिएर घटना गराएको पाइयो’, मोरङ प्रहरी प्रमुख एसपी बिसीले पत्रकार सम्मेलनमा भने ।

धर्मसँग जोडिएकाले यो घटनालाई प्रहरीले गम्भीररुपमा अनुसन्धान अघि बढाएको थियो । यो घटनाको छानबिन र अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धानन व्यूरो, एक नम्बर प्रदेश प्रहरी कार्यालय अनुसन्धान समूह (आरआईटी), संघीय प्रहरी इकाइ कार्यालय धरान र जिप्रका मोरङको टोली संयुक्तरुपमा परिचालित भएको थियो ।

तीनैजनालाई सार्वजनिक गरिएको पत्रकार सम्मेलनमा गुरु निवासाचार्यले भने केही बोलेनन् । उनले घाइते भएपछि बिराटनगरस्थित न्यूरो अस्पतालमा उपचार गराइरहँदा ठुला दलका नेतालाई गाली गर्दै आएका थिए ।

गोली लागेपछि २१ दिनसम्म बिराटनगरको न्यूरो अस्पतालमा उपचार गराएपछि श्रीनिवासाचार्य केही दिनअघि काठमाडौँ आएका थिए । गोली लागेको घाउ निको भएपछि उनी काठमाडौँ आएका थिए ।

काठमाडौं आएपछि उनको स्वास्थ्य अवस्था बुझ्न सानादेखि ठुला नेतासम्म पुगेका थिए । उनलाई भेट्न कांग्रेस नेता शेखर कोइराला, राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीसहितका नेता पुगेका थिए । उनीहरुले भेटका क्रममा अपराधी पत्ता लगाउन नसक्नुले सरकारको सुरक्षामा क्षमतामा प्रश्न उठेको बताएका थिए ।

काठमाडौं आएका श्रीनिवासाचार्य थप उपचारको लागि भन्दै सोमबारै भारतको राजधानी नयाँदिल्ली जाने तयारीमा थिए । तर उनलाई प्रहरीले विमानस्थलक्षेत्रबाटै पक्राउ गरेर बिराटनगर लगेको हो । साभार  अन्नपूर्णा पोस्ट

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter