शनिबार, ०८ बैशाख २०८१

नागरिकता माग गर्दै प्रशासनमा ज्ञापन

१३ बैशाख २०७५, बिहीबार १८:३८ मा प्रकाशित

लुम्बिनी, १३ वैशाख (रासस) ः जन्मका आधारमा र आमाका नामबाट अङ्गीकृत नागरिकता पाउनुपर्ने माग गर्दै रुपन्देहीवासीले जिल्ला प्रशासन कार्यालयमा आज ज्ञापनपत्र बुझाएका छन् ।

आमाबाबुको नागरिकता भएर पनि नेपाली नागरिकता पाउनबाट वञ्चित रहेको गुनासो गर्दै संघीय समाजवादी फोरम नेपाल रुपन्देहीको नेतृत्वमा नागरिकता पीडितले बुझाएको ज्ञापनपत्रमा नेपालको संविधानको कार्यान्वयन तथा अदालतले दिएको आदेशको पालन गर्नु राज्यको दायित्व र कर्तव्य भएको जनाउँदै संविधानबमोजिम सबै नेपालीले नेपाली नागरिकता पाउनुपर्ने पीडितको माग छ ।

फोरमका तर्फबाट रुपन्देहीका प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेले सरकारले २०६३ सालमा वितरण गरेका नागरिकता पाउनेका सन्तानलाई नागरिकता नदिएर विभेद गरेको आरोप लगाउनुभयो ।

उहाँका अनुसार यस्ता नागरिक रुपन्देहीमा मात्रै एक लाख बढी छन् । उहाँले आमाका नामबाट समेत नागरिकता दिने संविधानमा प्रावधान रहे पनि अहिलेसम्म त्यो कार्यान्वयन हुन नसक्दा नागरिकले सास्ती खेप्नुपरेको बताउनुभयो ।

सिद्धार्थनगर नगरपालिका–७ का मनोज ढाडीले आफ्नो नागरिकता प्रमाणपत्र नहुँदा आफू वर्षौँदेखि राज्यविहीन भएको आभास भएको बताउनुभयो ।

नेपालमै २०६३ सालमा नागरिकता प्राप्त अभिभावकका सन्तानलाई नागरिकता प्रदान गर्नू भनी विभिन्न जिल्ला अदालतले गरेको परमादेशको आदेशलाई नजीर बनाउँदै रुपन्देहीमा पनि नागरिकता प्रदान गर्नुपर्ने पीडितको माग रहेको छ । प्रजिअ हरिप्रसाद मैनालीले अहिले स्पष्ट कार्यविधिका अभावमा नागरिकता प्रदान गर्न नसकिएको जानकारी दिनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter