बुधबार, १२ बैशाख २०८१

तीनै राप्रपाले त्यागे राजतन्त्र

कुनै पनि प्रकारको राजसंस्थाको औचित्य नरहेको निचोड, पूर्वराजा ज्ञानेन्द्रमाथि सरकारी निगरानी हुनुपर्ने ठहर

२२ चैत्र २०७४, बिहीबार ०९:४० मा प्रकाशित

काठमाडौं । संवैधानिक राजतन्त्रको वकालत गर्दै आएका तीन वटै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजतन्त्रको अडान त्यागेको छ । अबको नेपालमा कुनै पनि प्रकारको राजसंस्थाको औचित्य नरहेको निचोडमा तीन वटै राप्रपा पुगेका हुन् ।

पार्टी एकताको लागि गृहकार्यमा जुटेका पशुपतिशमशेर जबरा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वका राप्रपाले एकताको प्रारम्भिक मस्यौदामै अब नेपालमा राजसंस्था आवश्यक नरहेको निष्कर्ष निकालेका हुन् । पार्टी एकताका लागि गठित उच्चस्तरीय कार्यसम्पादन समितिले बुधबार राती मस्यौदा प्रस्ताव तय गर्दै ‘राजतन्त्रको औचित्य सकिएको’ उल्लेख गरेको एक नेताले जनाए ।

‘नेपालमा अब कुनै पनि प्रकारको राजतन्त्रको औचित्य छैन, बहस मात्र चलाउने हो भने स्व. राजा वीरेन्द्रकी छोरी श्रुतिकी जेठी छोरी गृवानी राणालाई रास्ट्रप्रमुख होइन, सामाजिक मर्यादाका लागि मात्र सांस्कृतिक राजाको रूपमा अगाडि सार्न सकिनेछ,’ तीन नेताको सहमतिमा तयार पारिएको मस्यौदामा भनिएको छ ।

तीन वटै राप्रपाले पूर्वराजा ज्ञानेन्द्रले नै राप्रपालाई तहसनहस पारेको निष्कर्षसमेत निकालेका छन् । ‘ज्ञानेन्द्रको भूमिका अत्यन्तै आपत्तिजनक छ, राप्रपा सकाउने मात्रै होइन, गणतन्त्रविरुद्ध पनि आपत्तिजनक चलखेल गरिरहेका छन्, उनको गतिविधिमाथि सरकारले निगरानी राख्नुपर्छ,’ राणा, थापा र लोहनीको निष्कर्ष सुनाउँदै समितिका एक सदस्यले भने ।

तीनै वटै दलले गणतन्त्रविरुद्ध अनावश्यक चलखेल गरे ज्ञानेन्द्रको अवस्था अत्यन्त दुर्भाग्यपूर्ण हुने विश्लेषणसमेत गरेका छन् । यसअघि, तीन वटै राप्रपा संवैधानिक राजतन्त्र अनिवार्य रहेको अडानमा थिए । ‘पूर्वराजा ज्ञानेन्द्रका पछिल्ला गतिविधि संविधान र गणतन्त्रविरुद्ध रहेकाले सरकारले उनीमाथि कडा निगारानी राख्नुपर्छ भन्ने मस्यौदाको निष्कर्ष रहेको छ,’ बैठकलगत्तै एक नेताले भने । तीन वटै दलका नेताले सो प्रस्ताव बाहिर नलाने सहमतिसमेत गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रले एकता रोक्न चलखेल गरेपछि तीनै दलले राजसंस्थाको अडान नै त्यागेका हुन् । राप्रपाले ज्ञानेन्द्रलाई काउन्टर दिँदै राजा वीरेन्द्रकी नातिनीलाई मात्रै सम्मान दिन सकिने प्रस्तावसमेत गरेको छ । विगत दुई महिनादेखि राणा, थापा र लोहनी पार्टी एकताको आन्तरिक गृहकार्यमा रहेका छन् । तीनै नेताले केही सीमित नेताबाहेक अरूलाई जानकारी दिएका छैनन् । ‘पार्टीभित्रै पनि पूर्वराजा ज्ञानेन्द्रको सिआइडी हुन सक्छन् भन्ने बुझेरै नेताहरूले अतिगोप्य रूपमा एकता मस्यौदालाई लगभग अन्तिम रूप दिन लागेका छन्, राजतन्त्रको मुद्दा सकिएकाले अब कुनै समस्या छैन,’ मस्यौदाकार मध्येका एक नेताले भने ।

sabhar: sourya daily

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter