शनिबार, ०८ बैशाख २०८१

१८ महिनापछि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान

१७ चैत्र २०७४, शनिबार १५:४९ मा प्रकाशित

हरेक नयाँ पर्यटन मन्त्रीले गर्ने एउटा प्रतिवद्धता हो–वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल बनाइनेछ।  अन्तर्राष्ट्रिय उडान हुने एउटामात्र विमानस्थल हुँदा नयाँ पर्यटन मन्त्रीको यो साझा प्रतिवद्धता बनेको छ।

त्रिभुवन विमानस्थलबाहेक अहिले थप दुई अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको काम भइरहेको छ, पोखरा र भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल।

यी दुईमध्ये १८ महिनापछि गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुने छन्।

विवाद र निर्माण सामग्रीको अभाव देखाउँदै अपेक्षित गति लिन नसकेको विमानस्थलको काम पछिल्लो समय तीव्र गतिमा भइरहेको छ।

‘पछिल्लो दुई महिनादेखिको कामको रफ्तार कायम रहे सन् २०१९ भित्र उडान गर्न सक्छौं’ आयोजना प्रमुख ओम शर्माले सेतोपाटीसँग भने।

विमानस्थल सञ्चालनमा आउन आवश्यक धावन मार्ग, टर्मिनल, एटिसी, प्रशासकीय भवन, सञ्चार उपकरण जडानका लागि अहिले धमाधम काम भइरेको छ।

धावन मार्ग पिच गर्नुभन्दा पहिला विभिन्न प्रकारका लेयरहरु हुन्छन्। त्यसमध्ये सपग्रेड लेयरको कम्प्रेसनको काम सकिएको शर्माले जानकारी दिए।

अहिले सव–वेस लेयर कम्प्रेसनको काम भइरहेको छ। यसपछि वेसकोर्स लेयर राख्ने काम हुन्छ। शर्माका अनुसार वेसकोर्स लेयरको काम २ महिनामा सकिनेछ। वेसकोर्सको काम सकिएसँगै धावनमार्ग पिच गर्न तयार हुनेछ।

 

विमानस्थलको प्रशासकीय, सुरक्षा र विद्युतीय नियन्त्रण भवन बनिसकेका छन्। एटिसी भवनको काम पनि अन्तिम चरणमा छ।

टर्मिनल भवन (यात्रु सेवा कक्ष)को भूइँ तला सकिएको छ भने माथिल्ला दुई तलाको ढलान मिति तोकिएको छ। आयोजना प्रमुख शर्माले चैत २२ गते पहिलो र आउँदो वैशाख २ भित्र अर्को तलाको ढलान सकिने जानकारी दिए।

टर्मिनल भवनको माथि राखिन फ्याव्रिकेटको खरिद प्रक्रिया पनि सुरू भइसकेको छ।

‘वर्षापछि धावनमार्गको पिच सुरु हुन्छ, टर्मिनल भवनको छाना राख्ने र प्रशासकीय भवनको फिनिसिङ पनि हुन्छ,’ शर्माले भने,‘पिचका लागि आवश्यक सामग्री स्टक गर्ने काम सुरु भइसकेको छ भने कंक्रिट एस्पायल गर्ने प्लान्ट (मेसिन) पनि जडान भइसकेको छ। सन् २०१८ भित्र सबै भौतिक संरचना तयार हुन्छन्।’

२०१९ को मध्यसम्म विमानस्थल तयार भएर परीक्षण उडान सुरु हुने शर्माको दाबी छ।

 

भैरहवामा रहेको हालको विमानस्थलाई स्तरोन्नति गरेर अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सन् २०१५ देखि सुरु भएको थियो।

तोकिएकै मितिमा सम्पन्न भएको भए अहिलेसम्म विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु भइसक्थ्यो। २०१७ को डिसेम्बरमा निर्माण सम्पन्न भइसक्नुपर्ने उक्त आयोजनाको काम अहिलेसम्म जम्मा ३६ प्रतिशत भएको छ।

स्थानीय साझेदार र चिनियाँ ठेकेदारबीचको विवाद र मधेस आन्दोलनका कारण ढिला भएको भन्दै ६ महिना म्याद थपेर २०१८ को जुनसम्म उक्त आयोजनालाई समयसीमा दिइएको थियो।

पछिल्लो समय थप गरिएको समय सकिन २ महिनामात्र बाँकी छ। आयोजना, नागरिक उड्डयन प्राधिकरण ठेकेदारको म्याद थप गर्ने निष्कर्षमा पुगिसकेका छन्।

ठेकेदारको कामको गति सन्तोषजनक नभए पनि विस्तारै गति बढाउँदै गएकोले आशा गर्ने ठाउँ रहेको अधिकारीहरुको भनाइ छ।

सम्झौता रद्ध गर्दा एकातिर लागत बढ्ने र समय पनि लामो लाग्ने भएकोले तुलनात्मक रूपमा यही ठेकेदारले यही गतिमा काम गरे निरन्तरता दिने निष्कर्षमा पुगिएको शर्माको भनाइ छ।

‘यसैलाई निरन्तरता दिने कि सम्झौता तोड्ने भन्ने विषयमा पर्याप्त छलफल भएका थिए तर सम्झौता तोड्दा लागत र समय बढ्ने र तुलनात्मक हिसाबले छिटो पनि हुने अवस्था आउँछ,’ उनले भने,‘त्यसैले अहिले हामी यसैलाई निरन्तरता दिने निष्कर्षमा पुगेका छौं।’

चिनियाँ कम्पनी नर्थवेष्ट सिभिल एभिएसन ग्रुपले निर्माणको जिम्मा पाएको छ। उसले कामको गति बढाउन चीनबाट २५० कामदार ल्याउनलाई भिसा आवेदन दिएको छ।

 

नर्थवेस्टले काममा ढिला गरे सम्झौता तोडिनसक्ने सम्भावना सधैँ रहने शर्माको भनाइ छ।

‘भोलि यसले फेरि काममा तीव्रता दिएन भने सम्झौता भंग गर्न पनि सक्छौं, अहिले ऋणदाता एसियाली विकास बैंकले पनि सहमति जनाइसकेको छ’ उनले भने।

ऋणदाता एसियाली विकास बैंकले निर्माणको काम सन्तोषजनक नभएको भन्दै ठेकेदार कम्पनीसँग सम्झौता रद्ध गर्नुपर्ने, आयोजना प्रमुख परिवर्तन गनुर््पर्ने भन्दै नागरिक उड्डयन प्राधिकरणलाई दबाब दिएको थियो। उसले गएको डिसेम्बरदेखि भुक्तानी पनि रोकेको थियो।

गत साता एडीबीको टोली स्थलगत अवालेकन गर्दै काम सन्तोषजनक भएको भन्दै सहकार्य जारी राख्ने भन्दै फर्किएको छ।

एसियाली विकास बैंकको ऋण र अनुदान र नेपाल सकारको सयुक्त रूपमा ६ अर्ब ६६ करोड रुपैयाँ लगानी लाग्न विमानस्थल त्रिभुवन विमानस्थलकै स्तरको हुनेछ।

३ हजार मिटरको धावनमार्ग हुने विमानस्थल सञ्चालनमा आएपछि यसले प्रतिघण्टा ४ सय यात्रुलाई सेवा दिने छ। दुबैतिरबाट उडान अवतरण (टु वे अप्रोच) भएको विमानस्थलमा ५ वटा विमान पार्किङ गर्न मिल्छ।

दोस्रो चरणमा विस्तार गर्नलाई हालको टर्मिनल भवनलाई आन्तरिक बनाएर १ हजार किलोमिटर जग्गामा १० एरोब्रिजसहितको टर्मिनल भवन बनाउने योजना छ।

साभार : सेतो पाटी

 

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter