शुक्रबार, ०७ बैशाख २०८१

निर्वाचन आयोगका कार्य पारदर्शी नभएको : युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसन

अन्तिम प्रतिवेदन सार्वजनिक गर्दै निर्वाचन आयोगमाथि गम्भीर प्रश्न

७ चैत्र २०७४, बुधबार १४:१४ मा प्रकाशित

काठमाडौं । युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनले निर्वाचन आयोगका कार्य पारदर्शी नभएको ठहर गरेको छ । निर्वाचन गराउन निष्पक्ष भूमिका खेले पनि स्वयं आयोगका कार्य चित्तबुझ्दो नभएको इयु मिसनले निष्कर्ष निकालेको हो । नेपालमा गत मंसिरमा भएको प्रतिनिधि र प्रदेशसभा चुनावमा साढे ३० लाख पाउन्ड खर्च गरेर अनुगमन गरेको इयुले मंगलबार अन्तिम प्रतिवेदन सार्वजनिक गर्दै आयोगमाथि गम्भीर प्रश्न उठाएको हो । निर्वाचन आयोगले मतदान केन्द्रका मतदाता र बदर मत आँकडा सार्वजनिक नगरेको आरोप पनि इयुले लगाएको छ ।

‘निर्वाचनसम्बन्धी सरोकारवालाहरूसँग नियमित रूपमा परामर्श गर्ने कुनै संयन्त्र थिएन भने मतदान केन्द्रमा मतदाताको सहभागिता र बदरमतहरूसम्बन्धी महत्वपूर्ण सूचना प्रकाशन गर्न आयोग विफल भयो,’ इयुको प्रतिवेदनमा अगाडि भनिएको छ, ‘मतदाता शिक्षा अपर्याप्त थियो र केही क्षेत्रमा त छँदै थिएन ।’  निर्वाचनका वेला आयोगले मतदाता शिक्षाका लागि ठूलो रकम खर्च गरे पनि निक्कै ठूलो मात्रामा मतसंख्या बदर भएको थियो । जसको सर्वत्र आलोचना भएपछि आयोगले त्यतिवेला पनि दलहरूले सहयोग नगरेको भन्दै आफ्नो बचाउ गर्दै आएको थियो ।

मतपत्रमा देखिएको कार्यविधिगत कमजोरी र मतदाता शिक्षा अपर्याप्त हुनु निर्वाचनको कमजोर पक्ष रहेको इयुको निष्कर्ष छ ।  मिसनकी प्रमुख पर्यवेक्षक जेल्याना जोभ्कोले भनिन्, ‘निर्वाचन आयोगले आफ्नो कर्तव्य निष्पक्ष ढंगले गरेर जनविश्वास आर्जन गरेको भए पनि आयोगका कामहरू पारदर्शी हुन सकेनन् ।’ नेपालको आगामी निर्वाचन प्रक्रियामा सुधारका लागि २९ बुँदे सुझाव सहितको प्रतिवेदन प्रस्तुत गर्दै इयुले सरोकारवालासँगको नियमित परामर्शका लागि आयोगको कुनै पनि संयन्त्र नरहेको समेत औँल्याएको छ ।

युरोपेली पर्यवेक्षण मिसनले पहिलो हुने निर्वाचित हुने प्रणालीका निर्वाचन क्षेत्र पुनरावलोकन गर्न, मत किनबेचलाई रोक्न, कानुनको कार्यान्वयन एवं निर्वाचन आयोगको पारदर्शिता हुनुपर्ने लगायतका सुझाव दिएको छ । इयुले निर्वाचन आचारसहिंताको उल्लंघन भएको पाइए जरिवाना गर्ने र अयोग्य घोषित गर्ने व्यापक अधिकार भए पनि आयोगले त्यसको औपचारिक कार्यान्वयन नगरेको प्रतिवेदनमा उल्लेख छ ।

‘निर्वाचन आचारसंहिताको उल्लघंन भएमा जरिवाना गर्ने र अयोग्य घोषित गर्नेलगायतका व्यापक अधिकार आयोगसँग भए पनि उल्लघंन गर्नेहरूलाई त्यस्ता कार्य नगर्न अनुरोध गर्दै उजुरीहरूलाई प्रायः अनौपचारिक रूपमा सम्बोधन ग¥यो ।’ मतदाता नामावली दर्ता अभियान, उम्मेदवार मनोनयन प्रक्रिया र प्रचारप्रसारमा आमसञ्चारको वातावरण सकारात्मक रहेको मिसनले जनाएको छ । इयुले दिएका सुझावको कार्यान्वयन पक्षको समेत अध्ययन गरिने प्रमुख पर्यवेक्षक जोभ्कोको भनाइ छ । युरोपेली निर्वाचन पर्यवेक्षण मिसनले गत ८ कात्तिकदेखि १९ पुससम्म नेपालमा काम गरेको जनाएको छ ।

मिसनमा नर्वे र स्विजरल्यान्डसहित इयुका २८ सदस्य राष्ट्रका करिब सय जना पर्यवेक्षक खटिएका थिए । ६३ जिल्लामा पर्यवेक्षण गरेको इयु मिसनले पर्यवेक्षणका वेला अधिकारक्षेत्र बाहिर गएर कञ्चनपुर जिल्ला अदालतमा अनधिकृत सूचना मागेको आरोप खेपेको थियो ।इयुले सो प्रतिवेदन आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवलाई मंगलबार अपराह्न आयोगकै कार्यालय कान्तिपथ पुगेर बुझाएको छ । आयोगले इयुको सुझावलाई कार्यान्वयन गरिने र अगामी दिनमा यस्ता सुझावलाई व्यवहारमा कसरी लागू गर्ने भन्नेबारेमा छलफल हुने जानकारी गराएका थिए ।

Sabhar: Saurya Dainik

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter