मङ्गलबार, ११ बैशाख २०८१

‘मैले बुझेको छु, यो मेरो करिअरको अन्तिम समय हो’

११ फाल्गुन २०७४, शुक्रबार ०५:०२ मा प्रकाशित

कर अनिल केशरी शाह पछिल्लो समय राष्ट्र बैंकले लगाएको ‘कुलिङ पिरियड’को फन्दामा परेका छन् । ‘कुलिङ पिरियड’ समाप्त नहुँदै उनी निमित्तकै रुपमा भए पनि आठ वर्षपछि नबिल बैंक फर्किएका छन् । यसअघि नयाँ चुनौति लिने बताउँदै नबिलबाट बाहिरिई मेगा बैंकमा दुई कार्यकाल बिताएका शाहसँग अनलाइनखबरकर्मी विजयराज खनालले गरेको कुराकानीः 

आठ वर्षअघि नयाँ चुनौती लिने बताउँदै नबिलबाट बाहिरिनु भएको थियो । नयाँ बैंकमा हुने चुनौती के रहेछन् ?

आठ वर्षअघि स्थापित संस्था छाडेर नयाँमा जाँदै थिएँ, जसको सञ्चालन अनुमतिसमेत आइसकेको थिएन । नयाँ सोचसहित जाऔं भनेर अगाडि बढ्यौं । हामीले ‘हलोदेखि हाइड्रोसम्म’ नाराका साथ सबै नेपालीको बैंक बन्ने उद्देश्यले अगाडि बढ्यौं ।

हाम्रो टिम पनि राम्रो थियो, लक्ष्य बोकेर अगाडि बढ्दा राम्रै परिणाम आयो । यसबीचमा राष्ट्र बैंकको नियम आयो, दुई कार्यकालभन्दा बढी एकै व्यक्ति प्रमुख कार्यकारी अधिकृत हुन नमिल्ने । मेगा बैंकमा दुई कार्यकालका आठ वर्ष बिताएँ । हुन त, त्यो नियम लागू भएको समयदेखि मात्रै कार्यकालको अवधि गणना हुने प्रावधान छ ।

मेगा बैंकका संस्थापकहरुले मलाई निरन्तरता दिन यस विषयमा राष्ट्र बैंकसँग पनि छलफल गर्ने प्रयास गर्नुभएको थियो । तर, केही द्विविधा बाँकी थियो, म बैंकर्स संघको अध्यक्ष पनि थिएँ ।

त्यहीं मेरो संक्रमणकाल पनि शुरु भयो । मैले राष्ट्र बैंकको नियममा द्विविधा बाँकी रहँदा बैंकमा निरन्तरता नदिने मनशाय राखें । हामी सुरक्षित रुपमै बसौं भन्ने सल्लाह दिएँ । त्यहाँ राम्रो समूह निर्माण भएको छ, आन्तरिक रुपमै नेतृत्व लिन सक्ने अवस्था बनेको छ । नभए अन्य राम्रो कुनै प्रमुख ल्याउनु ठीक होला भनें र त्यो अध्याय त्यहीं बन्द गरियो ।

मैले बुझेको छु, अब यो मेरो करिअरको अन्तिम समय हो । अब आउने २/४ वर्षमा जे गर्छु, त्यसले नै अनिल शाहलाई परिभाषित गर्नेछ । म नबिल फर्किनुमा त्यो पनि एउटा कारण हो । यहाको टिम राम्रो छ, जसले ३३ वर्षदेखि बैंकिङ क्षेत्रको नेतृत्व लिँदै आएको छ ।

त्यहाँ लिएका अधिकांश लक्ष्य पूरा भएका थिए । मेगा बैंकसँगै आएका समकक्षी बैंकहरुमा हामी नै पहिलो थियौं । मध्यम तहका बैंकहरुसँग मेगाले प्रतिस्पर्धा गर्न सक्ने गरेर अगाडि बढेको छ । राजनीतिक स्थिरता भइदिएको भए हाम्रो पदचाप अझै धेरै फैलिएको हुन्थ्यो भन्ने लाग्छ ।

प्रणाली सुदृढ भएको छ, प्रतिफल राम्रो दिइरहेको छ । आठ वर्षअघि नबिल बैंकलाई जस्तो अवस्थामा छाडेको थिएँ, मेगामा पनि त्यस्तै अवस्था बनाएको छु । मैले छाडेपछि नबिलले अझै राम्रो गर्दै गयो । बाहिरबाट हेर्दा पनि राम्रो लाग्थ्यो । म अहिले फर्किंदा यो अझै धेरै ठूलो भएको छ, मेगाले पनि त्यही गर्न सक्छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter