बिहिबार, ०६ बैशाख २०८१

दोधारमा देउवाः दलको नेता आफैं बन्ने कि शशांकलाई छाड्ने ?

शेरबहादुर, शशांक र प्रकाशमानवीच दलको नेतामा दाबी

१० फाल्गुन २०७४, बिहीबार ११:०२ मा प्रकाशित

१० फागुन, काठमाडौं । प्रतिनिधिसभाको बैठकको पूर्वसन्ध्यामा नेपाली कांग्रेसभित्र संसदीय दलको नेता खोजी सुरु भएको छ ।

दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा स्वभाविक दावेदार नै भए । पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि दलको नेतामा दाबी प्रस्तुत गरेका छन् । महामन्त्री शशांक कोइरालाले चुनाव नलड्ने तर, सर्वसम्मत भए दलको नेता बन्ने बताएका छन् ।पर्सि शनिबार बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको संयुक्त बैठकले दलको विधान संशोधन गर्नेछ । भोलिपल्ट बस्ने केन्द्रीय कार्यसमितिको बैठकले अनुमोदन गरेसँगै संसदीय दलको नेता छान्न निर्वाचन कमिटी गठन गर्ने सम्भावना छ ।

गणितका हिसावले देउवाको पक्षमा प्रष्ट बहुमत छ । त्यसैले उनी नै दलको नेता बन्ने आंकलन गरिएको छ ।

तर, देउवा समूहबाटै सर्वसम्मत रुपमा दलको नेतामा विकल्प खोज्ने प्रयास सुरु भएको छ । यो समूहको लबिङ छ, कि देउवाको प्रस्तावमा शशांक दलेका नेता बन्ने ।

तीन धार

कांग्रेसमा एउटा समूह छ, जो शेरबहादुर देउवाले कुनै हालतमा दलको नेता छाड्न हुन्न भन्ने पक्षमा छ । दलको नेता नहुने हो भने देउवाको राजनीतिक रुपमा अवसान सुरु हुने तर्क यो समूहको छ ।

स्वाभाविकै हो, देउवाले दलको नेता छाड्दा उनले छाडेको मात्र हुँदैन, अरु कोही उदाउँछ । त्यो व्यक्ति देउवा समूहभन्दा बाहिरबाटै हुन्छ र त्यसमा पनि महामन्त्री शशांक कोइरालाको सम्भावना अधीक छ । यसले कोइरालालाई आगामी प्रधानमन्त्री र पार्टी सभापति स्वाभाविक उम्मेदवार बन्ने मार्ग प्रशस्त गरिदिने छ । जसरी, गिरिजाप्रसाद कोइराला जिवित छँदै शेरबहादुर देउवा अगाडि आएका थिए ।

साथै देउवाले दलको नेता कुनै हालतमा अरुलाई छाड्न हुन्न भन्ने समूहको आफ्नो स्वार्थ पनि छ । उनीहरुले कांग्रेस वा देउवाका लागि मात्र यसो भनेका होइनन्, देउवा दलको नेता बन्दा प्राप्त हुने लाभका लागि पनि यसो भनिरहेका छन् ।

कांग्रेसमा अर्को समूह छ, जसले देउवाले सर्वसम्मत रुपमा कसैलाई पनि दलको नेता छाड्नुहुन्न । देउवाले जिते पनि जितुन् तर, चुनाव लड्नुपर्छ भन्ने लबिङ गरिरहेको छ । यसो हुँदा सम्भवतः देउवासँग पूर्वमहामन्त्री प्रकाशमान सिंह चुनाव लड्नेछन् ।

त्यसैगर तिेस्रो समूह छ, जुन समूहका नेताहरु देउवाले दलको नेता छाड्नुपर्छ र सर्वसम्मतरुपमा दलको नेता चुन्नुपर्छ भन्ने मत राख्छन् । उनीहरुले शशांक कोइरालालाई दलको नेता बनाउन लबिङ गरिरहेका छन् ।

यो त्यही समूह हो, जसले १३ औं महाधिवेशनताका देउवा-शशांकको एउटै टिम बनाउन भरपूर प्रयास गरेको थियो ।

दोधारमा देउवा

निकटवर्तीहरुका अनुसार शेरबहादुर देउवाले दलको नेताबारे अहिलेसम्म मुख खोलेका छैनन् ।

उनी दोधारमा रहेको कांग्रेसका एक नेता बताउँछन् । भन्छन्, ‘अहिलेसम्म त केही भन्नुभएको छैन । तर, के बुझ्न सकिन्छ भने पार्टी सभापतिलाई लोभ पनि छ तर, लिप्पता छैन ।’

लिप्पता यसअर्थमा छैन कि देउवा संसदीय दलको नेता बन्ने भनेको प्रधानमन्त्री बन्ने अवस्थामा हो । तर, केपी शर्मा ओलीको नेतृत्वमा वाम सरकार बनेको मात्र छैन, एमाले र माओवादी केन्द्रबीच पार्टी एकता नै गर्ने सहमति भइसकेको छ । साथै ओली र प्रचण्डबीच प्रधानमन्त्रीमा आलोपालोको भद्र सहमति भएको छ ।

अब यदि पार्टी एकता र भद्र सहमति दुबै लागू नभए मात्र माओवादी एमालेलाई छाडेर कांग्रेसतिर आउन सक्छ । तर, त्यो परिस्थितिमा पनि देउवा होइन, प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना हुन्छ । यसअर्थ अबको ५ वर्षसम्म देउवा फेरि प्रधानमन्त्री बन्ने क्षण छ, त्यसैले दलको नेता नभई हुन्न भन्नुपर्ने अवस्था छैन ।

तर, आफू कमजोर बन्न नचाहने मनोविज्ञानले काम मात्र काम गरेको छैन, दलको नेता छाड्दा भोलिको पार्टी सभापतिको उम्मेदवारबाट अहिलै रिङआउट हुनुपर्ने डर छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter